काजकिरिया गर्न काठमाडौंबाट घर फर्किएको परिवार त्रिशूलीमा बिलायो, गाउँ नै शोकमा
क्यान्सरबाट ज्यान गुमाएका शंकर रोकाको पशुपति आर्यघाटमा दाहसंस्कार गरेर काजकिरिया गर्न गाउँ फर्किएको परिवार त्रिशूलीमा बिलाएपछि पौवाखेत गाउँ नै शोकमा डुबेको छ।
गोरखाको गोरखा नगरपालिका-७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको चैत १६ मा क्यान्सरबाट मृत्यु भएपछि आमा ७० वर्षीया जुनकिरी रोका सहित सिंगो परिवार शोकमा परेको थियो। उपचारका क्रममा मृत्यु भएका शंकरको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न आमा जुनकिरी गाउँबाट काठमाडौं पुगेकी थिइन्।
छोराको निधनले मर्माहत जुनकिरी शंकरको दाहसंस्कार सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर गोरखा फर्कंदै थिइन्। घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकिए। दुई छोरी, ज्वाइँ र दुई नातिसँगै जुनकिरी फर्कंदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन।
निकै बेरको प्रतीक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो। मुग्लिन पुगेका आफन्तले प्रहरीलाई जानकारी गराए।
तत्कालै चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात भयो।
घटना लगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे। प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो। घटनामा परेका एक जना अझै भेटिएका छैनन्।
दुर्घटनामा जुनकिरी सहित उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल र नौ वर्षीय नाति आगमन उपरकोटी मृत्यु भएको वडाध्यक्ष विष्णु श्रेष्ठले बताए।
अर्जुन ट्याक्सी चालक हुन्। दुर्घटनामा परी १८ वर्षीया दिवस रोका हराइरहेका छन्। उनी क्यान्सरबाट मृत्यु भएका शंकरका छोरा हुन्।
मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक जना हराएको घटनाले अहिले सिंगो पौवाखेत गाउँ नै शोकमा डुबेको छ।
अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरू समेत बोल्न र सम्झाउन सक्ने अवस्थामा नरहेको वडाध्यक्ष श्रेष्ठले सुनाए।