भारत विचारमाथि विमर्श
भारतीय विचारमाथि लेखिएको लेफ्ट, राइट एन्ड सेन्टर : द आइडिया अफ इन्डियाले समकालीन भारतलाई बुझ्न सघाउँछ।
प्रसिद्ध लेखक एवं चिन्तक सलमान रुश्दीले भारतलाई ईश्वर र पैसा जस्तै रहस्यमय भनेका थिए। भारतीय मूलका लेखक रुश्दीले भने झैं प्राचीन आर्य सभ्यताले बनेको मुलुकको आधुनिक यात्रा पनि रहस्यमय नै लाग्छ। सन् १९४७ मा स्वतन्त्र भएपछि नै हो, भारतको आधुनिकतातर्फको यात्रा शुरू भएकोे।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतमा प्रजातन्त्र र समाजवादी मोडलको अर्थतन्त्र लागू गरे। सन् १९९० मा आइपुग्दा अर्का प्रधानमन्त्री नरसिंह रावका अर्थमन्त्री डा. मनमोहन सिंह उदारीकरणतर्फ लगे।
यो उदारीकरणसँगै भारतमा दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा)को उदय भयो। धर्मनिरपेक्ष भारत अहिले दक्षिणपन्थी हिन्दू राष्ट्रवादीबाट शासित छ। बहुभाषा, बहुधर्म, बहुजाति र बहुसांस्कृतिक मुलुक अनुदार हुँदै गएको विश्लेषकहरू टिप्पणी गर्छन्।
भारत स्वतन्त्र भएको ७५औं वर्षमा लेखक निधि राजदानले एउटा पुस्तक सम्पादन गरेकी छन्, लेफ्ट, राइट एन्ड सेन्टर : द आइडिया अफ इन्डिया। पुस्तकमा आधुनिक भारतका विविध आयाम, कश्मीरको द्वन्द्व, नीतिवाद, वातावरणवाद र भारतको आधुनिक इतिहासलाई केलाइएको छ। जसमा कूटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूरदेखि प्राज्ञ प्रताप भानु मेहताका धारणा समेटिएका छन्।
पत्रकार चन्दन मित्रले भारतको दक्षिणपन्थी हिन्दूवादको उदयको कथा भनेका छन्। सन् १९९० सम्म सामान्य रूपमा रहेको हिन्दू राष्ट्रवाद कसरी सशक्त बनेर आयो? भारतमा राम मन्दिरको राजनीति कसरी मूलधारमा आयो? त्यसको कथा भनेका छन्। भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित रामायण कथाले राम मन्दिरको राजनीतिलाई प्रभाव पारेको पाइन्छ।
आज भारत हिन्दू राष्ट्रवादमय हुँदा त्यसको उत्पत्तिमा हिन्दू राजनीति बुझ्नुपर्छ। स्वतन्त्रता संग्रामकै वेला भीडी सवारकर, एमएस गोलवाकर, दीनदयाल उपाध्याय र श्यामप्रसाद मुखर्जीले हिन्दूत्वको राजनीति अपनाए। यही वेला हिन्दूत्वका हिमायती नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरे। त्यस वेला भारतमा प्रजातन्त्र, धर्मनिरपेक्षता, समाजवादी अर्थव्यवस्था र समावेशिता थियो। अझ संविधान निर्माण गर्ने डा. भीमराव अम्बेडकरले जातिप्रथाको उन्मूलनका लागि आवाज उठाएका थिए।
सँगसँगै पुस्तकमा अभिनेत्री एवं लेखक सवाना आजमीले मुस्लिम पहिचानको विषय उठाएकी छन्। अरुणा रोयले ७० वर्षको भारतीय नारीवादमाथि बहस गरेकी छन्। हिन्दूत्व राजनीतिका आलोचक शशि थरूरले आधुनिक भारतको राजनीति लगायत अवयवमाथि विमर्श गरेका छन्। भारतलाई विविध विचारको पुञ्ज मान्ने थरूर बहुमतवादले मात्र देशको भलो नगर्ने तर्क गर्छन्।
पूर्व अमेरिकी राजदूत जोन केनेथ गालब्रेथले भारतलाई क्रियाशील अराजकता भनेका थिए। तर आजको भारतमा अनेकौं समस्या भए पनि निकट भविष्यमा तेस्रो शक्तिशाली अर्थतन्त्र बन्ने आकलन भइरहेको छ। अहिले भारत संसारको सबैभन्दा बढी जनसंख्या भएको देश हो। पाँच ट्रिलियन डलरको शक्ति बनेको भारतले पूर्वाधार निर्माणमा गति लिइरहेको छ।
अन्तरिक्ष प्रविधिमा पाइला चालिरहेको भारतले चन्द्रयानलाई चन्द्रमा पुर्याएर प्रगतिको संकेत दिएको छ। तीव्र गतिमा परिवर्तन भइरहेको विश्व भूराजनीतिमा भारत महत्त्वपूर्ण खेलाडी त हो नै, जति जति आन्तरिक मामिलामा व्यवस्थित र सफल हुन्छ, त्यति नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सक्छ। विश्वको प्रमुख बजार रहेको भारत सबैभन्दा बढी युवा जनसंख्या भएको मुलुक पनि हो।
यही परिवेशमा पूर्व अर्थमन्त्री यशवन्त सिन्हाले भारतमा मौलाइरहेको भ्रष्टाचारमाथि विमर्श गरेका छन्, पुस्तकमा। महात्मा गान्धीले भारतको रूपलाई बुझेको स्मरण गर्दै सिन्हाले राजनीतिको अपराधीकरण भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।
१२ वटा निबन्ध रहेको पुस्तकले समकालीन भारतलाई बुझ्न मद्दत गर्छ। विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भारतको उदय र सम्भावनालाई पुस्तकले बोल्छ।
बाँकी विश्वलाई भारतको विचार बुझाउने गरी पहिले पनि थुप्रै पुस्तक लेखिएका थिए। जस्तो- जोन हकिन्स विश्वविद्यालयमा प्राध्यापन गर्ने विद्वान् सुनील खिलनानीले सन् १९९७ मै द आइडिया अफ इन्डिया किताब लेखेका थिए। अत्यन्त सफल यो पुस्तक चर्चित पनि भयो।
एक्काइसौं शताब्दी लागेपछि न्यू लेफ्ट रिभ्यूका पेरी एन्डरशनले द इन्डियन आइडियोलोजी पुस्तक लेखे। नोबल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले लेखेको द आर्गुमेन्टेटिभ इन्डियन पुस्तक निकै चर्चित बन्यो।
भारतको समकालीन यात्राबारे पनि संसारमा धेरै मानिसलाई चासो छ। त्यसैले भारतीय विचारमाथि धेरै साहित्य लेखिंदै छ। त्यही क्रममा आएको लेफ्ट, राइट एन्ड सेन्टर : द आइडिया अफ इन्डियाले समकालीन भारतलाई बुझ्न सघाउँछ।
पुस्तक : लेफ्ट, राइट एन्ड सेन्टर : द आइडिया अफ इन्डिया, सम्पादन : निधि राजदान
प्रकाशक : पेन्गुइन बुक्स, मूल्य : ३९९ भारु, पृष्ठ : २६७