मध्यपहाडी लोकमार्गको कालोपत्रे ६ महीनामै उप्कियो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङको घोडाबाँधे-गलकोट खण्डको कालोपत्र ६ महीना नबित्दै उप्किएको छ।
एक दशकअघि कालोपत्रे भएको घोडाबाँधे-गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। गत असोजमा कालोपत्रे गरिएको लोकमार्गको बीच भागमा ठूला ठूला खाल्डा परेका छन्। कालोपत्रे उप्किएपछि सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे बन्ने गरेको छ। गुणस्तरहीन कामका कारण कालोपत्रे उप्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले मर्मतको काम थालेको थियो।
लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटी लगायत दर्जनौं ठाउँमा कालोपत्रे उप्किएको छ। कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले सुनाए। “ठेकेदारले शुरूमा राम्रो काम गरिरहेको थियो तर कालोपत्रे गर्ने वेलामा कमसल सामान प्रयोग गरेछ। अहिले गाडी कुदाउने खालको सडक छैन। जताततै खाल्डाखुल्डी र हिलो-धूलो छ,” चालक सुनारले भने।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्ग अन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए। नरेठाँटीदेखि भ्यूटावरसम्मको सडक कतै कालोपत्रे उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’ नै नमिलेको भण्डारीको भनाइ छ।
लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाख रुपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो। मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनीयर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्विकारे। इन्जिनीयर सुवेदीले कालोपत्रे भएको एक महीना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरिएको बताए।
“निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्रे उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण कम्पनी नै हो,” सुवेदीले भने, “काम गरिरहेकै वेला पनि कालोपत्रे उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौं। अहिले फेरि धेरै ठाउँमा उप्किएछ। त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ।”
मध्यपहाडी लोकमार्ग बाग्लुङ जिल्लाभित्र करीब १४२ किलोमिटर पर्छ। त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटर बाहेक अधिकांश सडक कालोपत्रे भइसकेको छ। -रासस