काठमाडौंबाट गएको ट्याक्सी त्रिशूलीमा खस्यो, पाँच जनाको मृत्यु
काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
दुर्घटनामा गोर्खा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका र नौ वर्षीय आगमन नगरकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख भावेश रिमालले बताए।
ट्याक्सी त्रिशूलीमा खस्दा १८ वर्षीय दिवस रोका हराइरहेका छन्। उनको खोजी भइरहेको रिमालले बताए।
प्रहरीका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो। अन्य दुई गाडी मुग्लिन पुगिसकेका थिए। धेरै बेर कुर्दा पनि ट्याक्सी नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखिएको थियो। त्यसपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको रिमालले बताए।
आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको हो।