आज दोस्रो टी-२० मा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्स आज दोस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १ बजे नेपाल र आयरल्यान्डको खेल हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २०१ रन बनाएको थियो। नेपालका लागि लोकेश बमले शतक प्रहार गरेका थिए। यो उनको पहिलो शतक हो।
बिहीबारदेखि शुरू हुने तय गरिएको शृंखला वर्षाका कारण अवरुद्ध भएको थियो। त्यसपछि नेपाल क्रिकेटले खेलतालिका परिमार्जन गर्दै शुक्रबारदेखि शुरू गरेको हो।
कप्तान विनोद भण्डारीको नेतृत्वमा नेपाली टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली टोलीमा लोकश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी विकास आग्री छन्।