कुस्माबाट खुलेको अमेरिका लैजाने चोरबाटो
कोलम्बियाको सानो गाउँ ‘पुएन्ते अमेरिका’ स्थित स्कूलको भग्नावशेषमा लेखिएको नाम पछ्याउँदै कुस्मा पुग्दा एकै गाउँका ३० जनासम्म चोरबाटो अमेरिका हिंडेको खुल्यो।
आप्रवासीप्रति कट्टर नीति अपनाएका डोनल्ड ट्रम्पको राष्ट्रपतित्वमा अमेरिकाले २०७६ सालमा चोरबाटो छिरेका करीब ३०० भारतीयलाई देशनिकाला गर्यो। ती सबै पन्जाब राज्यका थिए। अर्गनाइज क्राइम एन्ड करप्शन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)का सम्पादक नाथन जाकर्डले मलाई सोधे, ‘भारत गएर ती व्यक्तिहरूसँग कुराकानी गर्न सक्छौ?’
यस्तै खोज स्टोरी गर्ने अवसर पर्खिरहेको मैले नाइँ भन्ने कुरै थिएन।
यसैबीच जाकर्डले एउटा तस्वीर पनि पठाए। तस्वीरमा पानामा र कोलम्बियाको सीमामा पर्ने एउटा पुरानो स्कूलको भित्तो देखिन्थ्यो। कोलम्बियाको सानो गाउँ ‘पुएन्ते अमेरिका’ का बालबालिका पढ्ने स्कूल भग्नावशेष मात्र रहेछ। त्यही गाउँलाई बाटो पारेर अमेरिका जानेहरूले यात्राका क्रममा मरिहालिए त्यहाँसम्म पुगेको जनाउ होस् भनेर स्कूलको भित्तामा आफ्नो नाम, ठेगाना र सन्देश लेख्ने गरेका रहेछन्।
मैले पाएको तस्वीरमा पनि यस्ता धेरै नाम थिए। एउटा नाम थियो- अशोक प्रधान, कुस्मा, पर्वत। सम्पादकलाई त्यो नाम र ठेगाना नेपाली रहेको सुनाएँ। तब उनले योजना बदले, यही पात्र खोज्न भने। सुझाए, ‘यो पात्र भेट्न परालको कुन्युभित्र हराएको सियो खोज्न जत्तिकै गाह्रो छ। परिवारसँग कुरा मात्र गर्न सक्यौ भने पनि राम्रो स्टोरी हुन्छ।’
मैले चुनौती स्विकारें। संयोग- पात्रसम्म पुग्न उनले अनुमान गरे जति मुश्किल परेन।
कुस्माकै चिनजानका एउटा भाइलाई सोध्दा अशोक आफ्नै छिमेकी रहेको बताए। साथै उनले अरू नाममा खोलेका इन्स्टाग्राम र फेसबूक खाता पनि चिनाइदिए। यो रिपोर्टिङका लागि मैले २०० डलरको ‘फेलोशिप’ पाएको थिएँ।
अशोक अमेरिका पुगिसकेका रहेछन्। मैले कुस्मामा उनकी आमा, काकाका छोरा र साथीहरूसँग कुरा गरें। उनी गाउँकै कुनै छिमेकी मार्फत गएको संकेत पाएँ। त्यहाँबाट ३० जना जति अमेरिका गएका रहेछन्। देशनिकाला भएर फर्किएका दुई-तीन जना मान्छे समेत भेटें। तीन-चार दिन बसेपछि त्यहाँ मानव तस्करको सञ्जाल रहेको थाहा भयो। दलाल हुन सक्ने केही व्यक्तिका नाम पनि पाएँ। पुष्टि गर्ने प्रमाण भने जुटेन।
पछि अशोकसँग पनि सम्पर्क भयो तर उनी बोल्न चाहेनन्। त्यसैले आफन्त, साथीभाइ र छिमेकीसँगको कुराकानीका आधारमा पहिचान नखुलाई लेख्ने निर्णय गरियो। सम्पादकले स्टोरी लेख्दा मुख्य तीन ठाउँमा केन्द्रित हुन सल्लाह दिए। पहिलो- कुस्मा जहाँबाट अशोकले यात्रा थाले। दोस्रो- पुएन्तेको स्कूलको भित्तो जहाँ उनले नाम लेखेका थिए। तेस्रो- अमेरिकाको न्यू जर्सीे जहाँका तस्वीर उनले पछिल्ला दिन आफ्नो इन्स्टाग्राममा राखेका थिए।
सोही आधारमा रिपोर्ट तयार पारें। सम्पादनका चरणमा थप सूचनाहरू जुटाइयो। यो रिपोर्ट ओसीसीआरपी सहित अरू पनि सञ्चार माध्यममा एकसाथ प्रकाशन भयो। ओसीसीआरपीमा ‘फ्रम द हिल्स अफ नेपाल टु द कोलम्बियन जंगल : अ माइग्रन्ट्स स्टोरी’ शीर्षकमा प्रकाशित भयो। सौभाग्यवश, यसले स्वीजरल्यान्डबाट ‘कन्ट्रिब्युशन टू सिभिल राइट’ विधामा ‘फेटिसोभ जर्नालिज्म अवार्ड’ पायो।
ओसीसीआरपीसँगको सम्पर्क
म २०७६ सालतिर जर्मन प्रेस एजेन्सी (डीपीए) मा संवाददाता थिएँ। खोज पत्रकारिता केन्द्र नेपाल (सीआईजे)को ‘नेपाल लिक्स’ प्रोजेक्टमा पनि कपी एडिटिङ र अनुवादको काम गर्थें। यस क्रममा खोजमूलक रिपोर्टिङ गर्न रुचि जाग्यो। पहिला नेपाल म्यागजिनमा यस्ता केही रिपोर्टिङ गरे पनि पछिल्लो समय मेसो मिलिरहेको थिएन।
त्यही वेला इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) र ओसीसीआरपीले खास गरी प्रविधिका माध्यमबाट भइरहेका सीमापार आर्थिक अपराधमा रिपोर्टिङ गरिरहेका थिए। ओसीसीआरपीका सम्पादकमध्येका एक अउब्रे बेलफोर्ड पहिले एएफपीमा काम गर्थें। मैले पनि पहिले एएफपीमा काम गरेकाले उनीसँग सम्पर्क बढाएँ। उनलाई नेपालमा पक्राउ परेका विदेशी बाल यौन दुराचारीहरूको स्टोरी गर्ने मनसाय सुनाएँ। इमेलमा ‘स्टोरी आइडिया’ पनि पठाएँ। उनले रुचाएनन्।
संयोगवश, त्यही वेला ओसीसीआरपी सम्बद्ध ल्याटिन अमेरिकी पत्रकारहरूको संगठन (क्लिप) ले एशिया र अफ्रिकाबाट ल्याटिन अमेरिका हुँदै अमेरिका छिर्ने आप्रवासीबारे रिपोर्टिङ गरिरहेको रहेछ। बेलफोर्डले मलाई सोही प्रोजेक्टका अर्का सम्पादक नाथन ज्याकर्डसँग सम्पर्क गराइदिए। मैले उनलाई मानव तस्करीका दुई-तीन वटा स्टोरी प्रस्ताव गरें। एउटा थियो- सगरमाथा आरोही सुदर्शन गौतमबारे।
अपांगता भएका गौतम मानिसहरूलाई अवैध रूपमा अमेरिका लैजाने दलाल रहेको भनी प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। यो ‘स्टोरी आइडिया’ पनि उनीहरूले रुचाएनन्। यही पृष्ठभूमिमा अमेरिकाबाट निकालिएका भारतीयको प्रसंगमा जोडिएको थिएँ। पुगेको थिएँ, कुस्माका अशोक प्रधानसम्म।
अशोकका आफन्तसँग कुराकानी गरेपछि मनमा प्रश्न उठेको थियो- ज्यान जोखिममा पारी ५० लाख रुपैयाँभन्दा बढी खर्चेर अनिश्चित यात्रामा निस्कन मानिसहरूलाई केले आकृष्ट गर्छ? त्यही यात्रा जस्तै अनिश्चित छन्, कारण र तर्क पनि। अशोकका हकमा उनी दक्षिण कोरिया बसेर फर्किएका थिए। भर्खरै गरेको बिहे सम्बन्धविच्छेदमा परिणत भएको थियो। फुर्मासे बानीले खर्च पुर्याउन मुश्किल परिरहेथ्यो। धेरै दौंतरी अमेरिका पुगेर सामाजिक सञ्जालमा विलासी तस्वीर हालिरहन्थे। उनीहरूले कुस्मामा पक्की घर बनाएका थिए। परिवारलाई गाडी किनिदिएका थिए। अशोकलाई तिनै कुराले लोभ्याएको बुझिन्छ।
अवैध बाटो अमेरिका हिंडेका कैयौं मानिस सकुशल पुग्दैनन्। कसैको बाटोमै मृत्यु हुन्छ, कोही अपांग हुन्छन्। देशनिकालामा पर्नेहरू जाँदा लागेको ऋणले आत्महत्या गर्न बाध्य हुन्छन्। तर मानिसको स्वभाव कस्तो हुन्छ भने अगाडि जोखिम रहेको जान्दाजान्दै पनि त्यसमा आफैं परिन्छ र मरिन्छ भन्ने ठान्दै ठान्दैन। दलालले पनि खतराहरू लुकाएर केवल प्रलोभन बाँडेको हुन्छ। बिचल्ली पर्नेको होइन, सफल हुनेहरूका कथा मात्र सुनाएको हुन्छ।
मैले गरेको स्टोरी पनि अमेरिका पुग्न सफल व्यक्तिमा केन्द्रित छ। यद्यपि त्यसको सन्देश अवैध बाटो जान हुँदैन र त्यसरी जाने सबै सफल हुँदैनन् भन्ने नै हो। असफल हुनेहरूकै दृष्टिकोणबाट भन्दा यो सन्देश अझ बलियो हुन सक्थ्यो। तर त्यति वेला त्यो किन सम्भव भएन भने विवरण जुटाउनै मुश्किल थियो। अहिले नै पनि हाम्रो प्रहरी प्रशासन, कूटनीतिक नियोगसँग देशनिकाला भएर आएका, बाटैमा मृत्यु भएकाहरूको यकीन तथ्यांक हुँदैन।
हिंडेर जानेले भोग्ने विषमताका कुरा बाहिर आउँदै आउँदैनथे। किनकि त्यो काम तस्करको संगठित अन्तर्राष्ट्रिय सञ्जालले गरेको हुन्थ्यो। पत्रकारको पनि त्यही स्तरको सञ्जाल हुन्थ्यो त आधिकारिक दस्तावेज र तथ्यांक जुटाउन सकिन्थ्यो होला। यही कारणले हो, अहिले पनि यस विषयमा समग्रता देखाउने स्टोरी आउन सकिरहेका छैनन्।
मानव तस्करी गराउने दलाल गाउँ गाउँमा रहेको त अहिले पनि तिनलाई पछ्याउनेको लर्कोले देखाउँछ। स्टोरी लेख्न पत्रकारसँग पर्याप्त तथ्य नभए जस्तै तिनलाई पक्राउ गर्न प्रहरीसँग पनि पुग्दो प्रमाण हुन्न। देशनिकाला भएर फर्किएकाहरू समेत पैसा फिर्ता पाउने आशमा उजुरी हाल्दैनन्।
नेपालबाट अमेरिकामा भएको मानव तस्करीबारे यसअघि पनि समाचार नआएको होइन। तर त्यसमा देशनिकालामा परेर फर्केका व्यक्तिको अनुभव मात्र थियो। मेरो समाचार चाहिं धेरै स्रोतसँग कुरा गरेर तयार पारिएको थियो। कठिन यात्रा पार गरेर अमेरिका पुगेपछिको स्थिति पनि खुलाइएको थियो।
एकसाथ धेरै सञ्चारमाध्यममा त्यो समाचार छापिंदा अन्तर्राष्ट्रिय समुदायले नेपालमा मानव तस्करको सञ्जाल र उनीहरूको कारोबार थाहा पायो। नेपालबाट मान्छे अमेरिका लैजान प्रयोग हुँदै आएको रूटको खुलासा भयो। समाचारको ‘स्टोरी टेलिङ’ बारे पनि राम्रो चर्चा भएको थियो।
समाचारले देशभित्र मौलाइरहेको अवैध धन्दा अन्तर्राष्ट्रिय तहमै उजागर गर्दा पनि सरकारले त्यसलाई रोक्न चासो देखाएन। त्यसैले त त्यसपछि पनि यो विषय लगातार समाचार बनिरहेकै छ। मानिसहरू जोखिम मोलेर गएको गयै छन्। दलालसम्मै पुगेर तस्करीको सञ्जाल तोड्ने गरी अनुसन्धान नै हुन सकेको छैन।
सिक्नु धेरै छ
ओसीसीआरपीको सहकार्यबाट मैले स्टोरीमा सामान्य जानकारी पनि कति महत्त्वपूर्ण हुन्छ, तस्वीरले कस्तो अर्थ राख्छ, तथ्य जाँच किन गर्नुपर्छ भन्ने सिकें। जस्तो- अशोकको स्टोरीमा बेरोजगारी र राजनीतिक अस्थिरताका कारणले पर्वतबाट मानिसहरू विदेशिने क्रम बढेको पुष्टि गर्न त्यहाँबाट वैदेशिक यात्राको अनुमति लिनेहरूको तथ्यांक संकलन गरेको थिएँ। सम्बद्ध अध्ययन प्रतिवेदनहरू पढेर तिनको निचोड समेत समावेश गरेको थिएँ।
विदेशी सञ्चारमाध्यमहरू खोजमूलक रिपोर्टिङका निम्ति विभिन्न देशका पत्रकारसँग सहकार्य गरिरहेका हुन्छन्। सहकार्य विना यस्तो रिपोर्ट पूर्ण हुँदैन पनि। हरेक मान्छेसँग फरक फरक सीप र क्षमता हुन्छन्। एकले अर्काको काम हेरेर सिक्दै-सिकाउँदै जाँदा नै राम्रो स्टोरी तयार हुने हो।
नेपाली र विदेशी पत्रकारको काम गर्ने शैलीमा केही फरक छ। हाम्रा समाचार पढ्दै जाँदा सन्दर्भ लेख्न छुटाए जस्तो लाग्छ। जस्तो- अहिले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा, फलानो मन्त्रीको पालामा जस्ता कुरा लेखिन्छन्। जुन कुरा धेरै पाठकलाई थाहै हुन्न। त्यस्तै, राजनीतिक समाचारमा फलानो छलफलमा यस्ता कुरा भए, यस्तो निर्णय भयो लेखिन्छ। तर त्यो छलफल केका निम्ति गरिएको थियो भन्ने खुलाइँदैन। यसरी हेर्दा नेपाली सञ्चारमाध्यममा कच्चा सूचना आउँछ, समाचार आउँदैन।
अर्को कुरा, नेपालमा खोज पत्रकारितामा सूचना र तथ्यहरू मात्र पस्किइन्छ, पठन रुचिकर बनाउनतिर ध्यान दिइँदैन। जस्तोसुकै नयाँ कुरा खुलासा गरे पनि धेरैभन्दा धेरै मानिसले पढेनन् भने के अर्थ? यसका निम्ति कथा भन्ने शैलीमा पनि मिहिनेत गर्नुपर्छ। आफैंलाई प्रश्न गर्नुपर्छ- हामीले दिइराखेको समाचार पाठककेन्द्रित छ त? हाम्रो समाचारको विषय आमसरोकारको हो त? भाषा, शैली र समाचार पस्किने तरीका ठीक छ कि छैन? सबैभन्दा ठूलो कुरा त हामीले जनताका समस्या कत्तिको उठाएका छौं?
नेपाली अनलाइनमा काम गर्नेहरू धेरैजसो राजनीतिक विषयका समाचार मात्र पढिने ठान्छन्। यसो गर्दा मूलधारकै सञ्चारमाध्यममा अरू कैयौं महत्त्वपूर्ण विषय छुटिरहेका छन्। राजनीतिकर्मीलाई प्रश्न गर्नु र जवाफदेही बनाउनु पनि महत्त्वपूर्ण छ। तर पत्रकारिताको धर्म त्यति मात्रै चाहिं होइन। आममानिसको जीवनसँग प्रत्यक्ष जोडिएका विषय पाठकले अझ चाख मानेर पढ्छन्। यति हो, समाचारको प्रस्तुति रोचक चाहिं बनाउन सक्नुपर्यो। विषयवस्तु, आकस्मिकता र परिस्थितिको गाम्भीर्यले प्रस्तुति रोचक बनाउन सकिएन भने पनि कुन समाचार कसरी लेख्ने भन्ने त थाहा हुनैपर्छ। छिटो लेख्नुपर्ने समाचारमा पनि सम्पूर्ण सूचना र सन्दर्भ त आउनैपर्छ।
विषय छनोट, प्रस्तुति र भुइँमान्छेका सरोकारप्रतिको संवेदनशीलताले सञ्चारमाध्यमको स्तर समेत निर्धारण गरिरहेको हुन्छ। मिहिनेत नपुर्याई गरिएको सतही कामले नै अहिले सञ्चारमाध्यमप्रति अविश्वास बढिरहेछ। अर्कातिर फेरिएको प्रविधिले कामको ढाँचा पनि फेर्नुपर्ने चुनौती थपिएको छ। सञ्चारमाध्यमका विज्ञापन, पाठक तथा दर्शक सामाजिक सञ्जालतिर लागेका छन्। अब हामीले समाचार भन्न यही प्रविधि उपयोग गर्नुपर्ने देखिएको छ। तब त्यो चुनौती नभएर सहयोगी बन्नेछ।
अहिले संसारका ठूला सञ्चारमाध्यममा पत्रकारभन्दा बढी सूचनाप्रविधिज्ञ तथा तथ्यांक विश्लेषक छन्। तिनले ठूल्ठूला ‘डकुमेन्ट’ बाट सूचना र तथ्यांक खोज्दै तिनलाई आकर्षक ढंगले प्रस्तुत गर्न सघाउँछन्। तर नेपाली सञ्चारमाध्यममा यस्ता जनशक्ति छैनन्। रिपोर्ट राम्रो हुँदा पनि त्यसलाई प्रभावकारी बनाउन डेटा भिजुअलाइजेशन, ग्राफिक्स, इलुस्ट्रेशन तथा मल्टिमिडियामा काम भएको छैन।
सञ्चारमाध्यमप्रतिको विश्वास खस्कँदै जानुको अर्को कारण गल्ती गर्ने तर सच्याउन गाह्रो मान्ने प्रवृत्ति हो। सूचना पाउनासाथ पुष्टि गर्नुभन्दा ‘शेयर’ वा ‘ब्रेक’ गर्न हौसिने प्रवृत्तिले गल्ती बढाइरहेछ। त्यसैले प्रकाशन गर्नुअघि टक्क अडिएर पुष्टि गर्नतिर लाग्नुपर्छ। गल्ती भइहालेछ भने पनि ‘भूलसुधार’ लेखिनुपर्छ। तर हामीकहाँ यसो गर्दा विश्वसनीयता घट्ने भ्रम छ। त्यो त्याग्नुपर्छ।
अहिले सञ्चारजगत्मा एआईको पनि व्यापक चर्चा हुन्छ। यसले पत्रकारको जागीर खोस्छ भन्ने हाउगुजी फैलिरहेछ। तर एआईले हरेक सूचनाको तथ्य जाँच र विश्लेषण गरेर लेख्न सक्दैन। त्यसैले पत्रकारको जागीर पनि खोस्दैन। बरु हामी स्टोरी तयार पार्न एआईको सहयोग लिन सक्छौं। विदेशी सञ्चारमाध्यमले त्यसै गरिरहेछन्।
साहित्य जस्तै पत्रकारिता
पत्रकारिता एक किसिमको साहित्य नै हो। यसले पनि साहित्यले जस्तै ज्ञान उत्पादनकै काम गर्छ। फरक यत्ति हो- साहित्यमा कल्पनाशीलता हावी होला, पत्रकारितामा तथ्य। तथ्यको प्रस्तुति र भाषा रूखो नै हुनुपर्छ भन्ने कहीं छैन। जटिल र प्राविधिक विषयलाई पनि पाठकले रुचाउने गरी आकर्षक भाषामा प्रस्तुत गर्न सकिन्छ। यसका लागि रिपोर्टरसँग लेखन, अध्ययनसँगै भाषाशैलीको ज्ञान चाहिं कम्तीमा हुनैपर्छ।
अहिले धेरैजसो नयाँ रिपोर्टर लेख्न खोजेको विषय कसरी प्रस्तुत गर्ने भन्नेमै अलमल पर्छन्। यसलाई जित्न लेख्नुअघि धेरैभन्दा धेरै घोत्लिनुपर्छ। घोत्ल्याइँबाटै हो, विषयवस्तुलाई सही ‘फ्रेम’ दिन सकिने। स्टोरी लामो छ भने शुरूआत नै पाठकलाई रुचि जगाउने किसिमले गर्नुपर्छ। दोस्रो अनुच्छेदमा विषयलाई अलिकति विस्तार गर्नुपर्छ। तेस्रो-चौथो अनुच्छेदमा स्टोरी लेखिनुको प्रयोजन खुल्नुपर्छ। यस्तो सिलसिलालाई अंग्रेजीमा ‘नटग्राफ’ भनिन्छ। पहिलो ‘नटग्राफ’ ले समाजका धेरै घटना र विषयमध्ये हामीले समाचारमा किन निश्चित मात्र टिप्यौं भन्ने पनि पुष्टि गर्न सक्नुपर्छ।
दोस्रोमा ती पात्र र घटना मार्फत देखाउन खोजेको समस्या कति ठूलो हो भन्ने चित्रण गरिनुपर्छ। तेस्रोले स्टोरीमा थप के के आउनेवाला छ भन्ने संकेत गर्नुपर्छ। नत्र पाठकले त्यो स्टोरी अन्तिमसम्म किन पढ्ने? ‘नटग्राफ’ सँगै पाठकलाई विषयको जानकारी बढीभन्दा बढी दिने गरी तथ्य, तथ्यांक, घटना र पात्रहरू उधिन्दै स्टोरी अघि बढाउनुपर्छ। बिट मार्ने वेला जहाँबाट शुरू गरेको हो, त्यहीं पुग्नुपर्छ। तब पाठकले पनि गन्तव्यमा पुगेको महसूस गर्छ।
नेपाली सञ्चारमाध्यममा आएका कतिपय लामा रिपोर्ट पढ्दा बीचैमा अलपत्र छाडे जस्तो लाग्छ। तिनमा तार्किक निष्कर्ष सहितको अन्त्य हुँदैन। यद्यपि राम्रो काम हुँदै नभएको होइन, जति गर्न सक्नुपर्ने हो त्यति भइरहेको चाहिं छैन। राम्रो सीप भएका पत्रकार छन् तर तिनलाई राम्रो समाचार तयार पार्न जति समय चाहिन्छ, दिइएको छैन। राम्रो समाचार तयार पार्न औसतमा महीनादिन लाग्छ। खोजमूलक समाचार लेख्न त अझ बढी।
मैले एक व्यक्तिको ‘प्रोफाइल’ लेख्न तीन-चार महीना पनि लगाएको छु। राम्रो ‘कन्टेन्ट’ का लागि सञ्चारगृहले स्रोतसाधन र जनशक्तिसँगै रिपोर्टरलाई पर्याप्त समय दिनुपर्छ। रिपोर्टरले लेख्नुभन्दा अगाडि सोच्नमा लगाएको समय पनि काम नै हो भन्ने बुझ्नुपर्छ। राम्रो समाचार आजको भोलि त तयार हुँदैन।
स्थलगत रिपोर्टिङमा जान गाडी, सहयोगी चाहिन सक्छ। पैसा पनि आवश्यक हुन्छ नै। सम्बद्ध ठाउँमै पुगेर धेरैभन्दा धेरै मानिससँग कुरा गरी तिनका दृष्टिकोण नखोतलीकन राम्रो रिपोर्ट लेख्न सकिन्न। तर हाम्रा धेरैजसो सञ्चारमाध्यम स्थलगत रिपोर्टिङमा पैसा खर्चन चाहँदैनन्।
अर्कातिर रिपोर्टरलाई प्रशिक्षण र मार्गदर्शनकै अभाव छ। कुनै सञ्चारमाध्यमले पत्रकारलाई लेखन कला सिकाएको देखिन्न। कतिपय रिपोर्टरमै पनि समस्या छ। ‘डेडलाइन’ सकिन लागेपछि मात्र रिपोर्टिङ थाल्छन्। कतिमा चाहिं पत्रकारितालाई अरू फाइदामा उपयोग गर्ने प्रवृत्ति छ। कोही कार्यक्रममा जान पाइने र ठूला मान्छे भेट्न पाइने लोभले पत्रकारितामा लागेको देख्छु। तर पत्रकारितामा छिर्न लाइसेन्स चाहिने होइन। को कस्तो पत्रकार हो भन्ने त ‘बाइलाइन’ ले नै देखाइहाल्छ। गुणस्तरभन्दा संख्यामा ध्यान दिएर लेख्नेहरू छानिंदै जान्छन्।
लेखनमै जस्तो समस्या सम्पादनमा पनि छ। सम्पादन भनेको भाषा मात्रै मिलाउने होइन। एउटै सामग्री पटक पटक सम्पादन गर्नुपर्ने हुन सक्छ। रिपोर्टरलाई थप सूचना खोज्न र पुनःसंरचना गर्न लगाउनुपर्ने हुन सक्छ। तब बल्ल पढ्नलायक सामग्री तयार हुने हो।
विदेशी सञ्चारमाध्यममा सम्पादक र रिपोर्टर एउटा इस्यूमा सँगै काम गर्छन्। त्यसलाई चरण चरणमा सम्पादन गर्छन्। ‘कन्टेन्ट’ मा रिपोर्टर र सम्पादकबीच विवाद निम्तिए पनि एउटा बिन्दुमा पुगेर सहमति हुन्छ नै।
हाम्रा सञ्चारमाध्यममा चाहिं के भइरहेको छ भने रिपोर्टरले समाचार पठाउँछ अनि सम्पादकले त्यसैलाई अलि अलि भाषा मिलाएर छापिहाल्छन्। सम्पादक र रिपोर्टरको सहकार्य निकै कम देखिन्छ।
(पत्रकार अधिकारीसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित। सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :