यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ
वैदेशिक रोजगारीका लागि यूरोपेली मुलुक तथा जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड रुपैयाँ ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूपेशकुमार ठाकुर र कृष्णबहादुर राई, बाजुराका पर्वराज पाण्डे र ललितपुरका जीवन तामाङलाई वैदेशिक रोजगारी ठगीमा पक्राउ गरेको हो। उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ। पक्राउ परेकामध्ये राई काठमाडौंस्थित टप चोइस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन्।
यो गिरोहले क्यानडा, पोल्यान्ड, स्पेन, माल्टा, जापान र न्यूजिल्यान्ड पठाउने भन्दै २२ जनालाई दिल्ली पुर्याएर अलपत्र पारेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले बताए। दिल्ली पुर्याएर उनीहरू सम्पर्कविहीन बनेका थिए।
वैदेशिक रोजगारीमा जान चाहेकाहरू अलपत्र परेपछि प्रहरीलाई सूचना आएको थियो। ६ महीना लगाएर उनीहरूलाई पक्राउ गरिएको पन्थीले बताए। पीडितहरू अधिकांश मधेश प्रदेशका रहेको समेत प्रहरीले जनाएको छ। कामदार भिसामा विदेश पठाउने भन्दै गिरोहले ठूलो रकम ठगी गरेको पाइएको छ।
चैत १३ गते पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ। पक्राउ परेकाहरूमध्ये ठाकुर र राईले जनही ८० लाख रुपैयाँ ठगेको प्रहरीको भनाइ छ। त्यस्तै, पाण्डेले ६ लाख र तामाङले एक लाख ६० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
पछिल्लो समय एजुकेशन कन्सल्टेन्सीहरूले नै कामदार, भ्रमण भिसामा विभिन्न मुलुक पठाउने भन्दै ठगी गर्ने क्रम बढिरहेको डीएसपी पन्थीले बताए।