अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा २०१ रन बनाएको हो। नेपालका लागि लोकेश बमले विस्फोटक शतक प्रहार गरेका थिए। उनले ५६ बलमा १०६ रन बनाए।
नेपालको शुरूआत राम्रो रहेन। विनोद भण्डारी १६ रनमा आउट भए भने त्यसपछि आएका देव खनाल एक बलमै आउट भए। त्यसपछि आएका अर्जुन घर्ती पनि तीन रन बनाएर आउट भए।
त्यसपछि आएका आरिफ शेखले प्रारम्भिक ब्याटर बमसँग १२१ रनको साझेदारी गरे। बमले शतक प्रहार गर्दा शेखले ४९ रन बनाए।
बलियो स्थितिमा रहेको नेपाल १५औं ओभरको अन्तिम बलमा बम आउट भएपछि सम्हालिन सकेन। त्यसपछि लगातार आरिफ शेख, किरण ठगुन्ना, रसिद खान, कमल ऐरी, बसिर अहमद र हेमन्त धामी आउट भए। बम आउट भएपछि नेपालले १२ रन मात्रै जोड्न सक्यो भने पाँच विकेट गुमायो।
आयरल्यान्डका लागि फिन ह्यान्ड र म्याथ्यु हम्फेयर्सले तीन-तीन तथा म्याथ्यु फोस्टरले दुई, थोमस मायस र गभिन होएले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको थियो। आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र केड कार्निचलले ३८-३८ तथा स्टेफन डोहेनीले ३४, गेरेथ डेलानीले ३० र गभिन होएले १८ रन बनाए।
नेपालका लागि कमलसिंह ऐरीले तीन, सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए।
नेपाल र आयरल्यान्डको दोस्रो खेल शनिबार दिउँसो १ बजे हुनेछ।