त्यो फेरीवालाको चटपटे, यो ड्रोनको बर्गर
फेरीवालाले कराउँदै झापाको दैलोदैलोमा चटपटे ल्याएको देखेको मान्छे टेक्सासमा ड्रोनले आँगनमा अनेक थरी परिकार पुर्याइरहेको देख्दा तीनछक्क परेको छु।
चटपटे, बदाम, दालमोठ, भुजिया। टुटेफुटेका प्लास्टिक, भाँडाकुँडा र फलामका सामग्रीसँग साट्नुहोस्।
हरेक दिन चर्काे स्वरले कराउँदै चटपटे, बदाम, भाँडाकुँडा बेच्न वा टुटेफुटेका प्लास्टिक र फलामका सामग्रीसँग दालमोठ, भुजिया साट्न कैयौं व्यक्ति साइकल गुडाउँदै आउने गर्थे। उनीहरूले घाँटीका नसा फुल्ने गरी पसिना काढ्दै कराएरै व्यवसाय चलाएका थिए, अझै पनि चलाइरहेका छन्।
यसरी आउनेहरूलाई फेरीवाला भनिन्थ्यो, भनिन्छ। म जन्मेहुर्केको पश्चिम झापाको दमक नगरपालिकाको चियाबगान आसपासको क्षेत्रमा फेरीवाला अझै आउने गरेका छन्।
आँखामा फेरीवालाको अनुहार र कानमा आवाज सुरक्षित रहेकै वेला अमेरिकामा भने भर्खरै बेग्लै नयाँ अभ्याससँग साक्षात्कार हुन पाएँ। अहिले टेक्सास राज्यको डलास नजिकैको बसाइ छ। टेक्सासको आकाशमा अनेक थरीका विमान उडिरहेका हुन्छन्। अचेल त ड्रोन पनि उडेका देखिन्छन्।
गत साता स्थानीयले सुनाए- हिजोआज अमेरिकामा खाना, कपडा, भाँडाकुँडा आदिको ढुवानी ड्रोनबाट हुन थालेको छ। शुरूआतमा त विश्वासै लागेन। यस्तो पनि होला र भन्ने सोचें। आफ्नै आँखाले देखेपछि भने पत्याउनै पर्यो।
विशेषगरी पछिल्लो एक वर्षयता घरआँगनसम्म सामान पुर्याउने काम मोटरवालाको हातबाट फुत्किंदै गएको छ। ससानो सामान ढुवानीको काम ड्रोनले गरिरहेको छ।
वालमार्ट डिपार्टमेन्ट स्टोरले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार डालस आसपासका १८ लाख घर ड्रोनबाट सामान ढुवानी गर्न सकिने दायरामा छन्। विशेषगरी तयारी खाना, फलफूल, लत्ताकपडा, औषधि लगायत घरेलु प्रयोजनका सामग्री मगाउने गरिएको छ। कतिपयले त बच्चाका डाइपरदेखि जन्मदिनका केक र मैनबत्ती समेत ड्रोनबाट मगाउने गर्छन्।
ग्राहकले अर्डर गरेका सरसामान उड्न तयार ड्रोनमा झुन्ड्याउने गरिन्छ। त्यसपछि इन्टरनेटको माध्यमबाट ड्रोनलाई तोकिएको घरठेगानामा सरसामग्री पुर्याउने दिशा देखाइन्छ र आदेश दिइन्छ। सामग्री बोकेर पुग्नुपर्ने ठेगाना ठम्याउँदै क्षणभरमै उडेको ड्रोनले वायुमण्डलमा आफ्नो बाटो समात्छ। तोकिएको घरको आँगनमा सामान राखेर ड्रोन आफ्नै ठेगानामा फर्किने गर्छ।
हाल डालसमा बस्दै आएका नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी ड्रोनबाट हुने ढुवानी अचम्मलाग्दो देखिने बताउँछन्। “सुन्दा वा देख्दा यो एक किसिमको जादू जस्तै लाग्छ,” भण्डारी भन्छन्, “आउँदा केही वर्षमा ड्रोनबाट गरिने ढुवानीले उत्पात भिन्नता ल्याउने देखिन्छ।”
वनभोजमा कुनै खान्की सकिएमा ड्रोन आइपुग्छ। घरमा खानाको परिमाण र परिकार थप्नुपरेमा पनि तुरुन्त ड्रोन मार्फत मगाउन सकिन्छ। यो छिटोछरितो पनि छ। ड्रोनलाई सामग्री लिएर जाँदा सडकमा सवारीसाधनलाई जस्तो ट्राफिक जामको पिरलो पनि हुँदैन।
एक लाख २० हजार किसिमका सामग्री बिक्री गरिरहेको वालमार्टले ७५ प्रतिशत अर्थात् करीब ९० हजार किसिमका सामग्री डालस आसपासमा ३० मिनेटभित्र ड्रोनबाट ढुवानी गर्न सक्छ। टेक्सासको फ्रिस्को शहरमा रहेको वालमार्टले ६ माइल अर्धव्यास क्षेत्रभित्रका लागि ड्रोन डेलिभरी शुरू गरेको छ।
वालमार्टका अनुसार गत दुई वर्षमा ड्रोनको माध्यमबाट २० हजार ढुवानी गरिएको छ। त्यसमा ग्राहक पनि सन्तुष्ट देखिएका छन्।
पूर्वी नेपालको झापामा साइकल गुडाउँदै ल्याउने फेरीवालासँग सामान किनबेच गरेको देखेको मलाई आजभोलि साँझबिहान घरको धुरी मास्तिरबाट उड्ने ड्रोनहरू जादू वा कल्पनाका पात्र झैं लाग्छन्। म बसेको ठाउँको आकाशमा सानो आवाजमा उड्ने यानहरूले तात्तातै खाना बोकेर आउँछन्। ओखती लगायत अत्यावश्यक अन्य सामग्री बोकेर ड्रोनहरू ग्राहकका घर पहिल्याउँदै हानिएको देख्दा प्रविधिले मान्छेलाई हरक्षण नयाँपनसँग अभ्यस्त हुन बाध्य पारेको अनुभूति गराउँछ।
अझ ड्रोनले त मलाई झापाका गाउँघरको झझल्को आउँछ। कहाँ चटपटे, बदाम, दालमोठ, भुजिया बोकेर आउने फेरीवाला, कहाँ पिजा, बर्गर, स्यान्डविच बोकेर आउने ड्रोन। डालस बसाइमा ड्रोनको ढुवानीले तीनछक्क परेको छु।