प्यालेस्टिनी स्वास्थ्य संरचनामाथिको हमलाको विरोधमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनीको नरसंहारको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
गाजामाथि भइरहेको अपराध रोक्न माग गर्दै शुक्रबार नेपाली स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्। नेपाल सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरू संस्थाको अगुवाइमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले विरोध जनाएका छन्।
गाजामा इजरायली नरसंहारको एउटा पाटो उसको गाजाका स्वास्थ्य पूर्वाधारमाथिको हमला हो। गाजामाथिको आक्रमण शुरू गरेदेखि नै इजरायली सेनाले अस्पतालहरूमा बम्बारी गर्नका साथै एम्बुलेन्स, स्वास्थ्य सहयोगका टोलीहरू र अस्पताल पुग्ने बाटोहरूलाई निशाना बनाएको छ।
यसका साथै गाजामा हालसम्म कम्तिमा ६८५ स्वास्थ्यकर्मी मारिएको चिकित्सकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनीहरूमध्ये केहीलाई इजरायली सेनाले निशाना बनाएरै हत्या गरेको छ। आक्रमण शुरू भएदेखि इजरायलले नाकाबन्दी गरेर खाद्यान्नका साथै अत्यावश्यक स्वास्थ्य सामग्री र जेनेरेटर चलाउन चाहिने तेल गाजामा छिर्न दिएको छैन।
अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमण यसै पनि अमानवीय हो, त्यसमाथि यसलाई अन्तर्राष्ट्रिय कानून र युद्ध सम्बन्धी कानूनले बर्जित गर्छ। यसलाई जेनेभा महासन्धिको दफा २४ ले युद्ध अपराध भनेको छ।
प्रदर्शनमा सहभागी त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक डा. अरुण उप्रेती भन्छन्, “स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको विपरीत हो। अस्पताल भनेको युद्धमा पनि जोगाउनै पर्ने पवित्रस्थल हो।”
प्रदर्शनमा उत्रिएका चिकित्सकले ‘गाजामा नरसंहार रोक’, ‘प्यालेस्टाइनमा भोकमरी रोक’, ‘अस्पतालमा बमबारी नगर’, ‘एम्बुलेन्सलाई ढाल बनाउने होइन’ लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।
संस्थाका तर्फबाट अध्यक्ष प्रा.डा. गणेशबहादुर गुरुङ सहितको टोलीले काठमाडौंस्थित इजरायली दूतावास मार्फत इजरायल सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ। ज्ञापनपत्रमा गाजामा भइरहेको आक्रमण रोक्न माग गरिएको छ।
इजरायली दूतावासलाई बुझाएको ज्ञापनपत्रमा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको भर्त्सना गरिएको छ। गाजा र पश्चिमी ब्यांक क्षेत्रमा बिरामी र घाइतेको उपचारमा खटिएका प्यालेस्टाइनका स्वास्थ्यकर्मीको प्रशंसा गर्दै ऐक्यबद्धता जनाइएको छ।
नेपाली स्वास्थ्यकर्मीले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पनि माग गरेका छन्। ‘हामी हमासको चरमपन्थी कार्यलाई क्षमा दिन पनि अस्वीकार गर्छौं र नेपालका विपिन जोशी लगायत सबै बन्दीहरूको तत्काल र सुरक्षित रिहाइको माग गर्दर्छौं,’ उनीहरूले भनेका छन्, ‘इजरायलले प्यालेस्टिनी राजनीतिक बन्दीहरूलाई पनि रिहा गर्नुपर्छ।’
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युद्धविरामका लागि गरेको निर्णयको स्वागत गर्दै नेपाली चिकित्सकहरूले इजरायल सरकारलाई अविलम्ब पालना गर्न आग्रह गरेका छन्। युद्धविराम गर्न, नाकाबन्दी हटाउन र गाजाका सबै नागरिकलाई मानवीय सहायताको व्यवस्था गर्न पनि माग गरिएको छ।
इजरायलले प्यालेस्टाइनको गाजा र पश्चिमी ब्यांक क्षेत्रमा गरिरहेको आक्रमणबाट अहिलेसम्म ३१ हजार प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। जसमा अधिकांश बालबालिका, महिला र ज्येष्ठ नागरिक छन्।
प्रदर्शनमा उत्रिएका चिकित्सकले यो नरसंहार शुरू हुनुअघि पनि प्यालेस्टिनी नागरिकले आफ्नो हक अधिकार नपाएको स्मरण गरेका छन्। डा. उप्रेती भन्छन्, “७० वर्षदेखि स्वतन्त्रताका लागि लड्न बाध्य भएका र शरणार्थी भएर बस्नु परेका प्यालेस्टिनीले आफ्नो राज्य पाउनै पर्छ।”