उमेरले छेक्दैन विद्यालय जान
बाल्यकालमा शिक्षाबाट वञ्चित महिलाहरू जीवनको उत्तरार्धमा औपचारिक अध्ययनलाई निरन्तरता दिइरहेका छन्।
आमनेपालीलाई औपचारिक अध्ययनका लागि विद्यालय र विश्वविद्यालयको ढोका खुलेको ७० वर्षअघि मात्र हो। त्यति वेला पनि महिलालाई पढ्न प्रेरित गरिंदैनथ्यो।
२०२८ सालको शिक्षा योजनाले साक्षरता र किशोरी भर्नादर बढाउने रणनीति अपनाएपछि भने त्यसपछिका दशकमा विद्यालयमा शिक्षिकाहरूलाई पनि सामेल गराइयो। किशोरीका लागि छात्रवृत्ति र आधारभूत शिक्षा निःशुल्क पारियो साथै संविधानमै महिला अधिकार समावेश गरियो।
परिणामतः अहिले नेपालमा प्राथमिक तहमा बालक र बालिका दुवैको भर्नादर करीब बराबर छ। तथापि माध्यमिक र उच्च माध्यमिक तहमा भने विद्यालय छाड्ने किशोरीको संख्या अधिक छ।
अहिले नेपालमा पुरुष साक्षरता दर ८३.६ प्रतिशत छ, महिला साक्षरता दर ६९.४ प्रतिशत। सामाजिक-सांस्कृतिक मान्यता, गरीबी, बालविवाह र विद्यालयमा सरसफाइको सुविधाको अभाव हुनु जस्ता कारणले महिला-पुरुष साक्षरता दर बराबर हुन सकिरहेको छैन।
तर ढिलै भए पनि, जीवनको पूर्वार्द्धमा शिक्षाबाट वञ्चित गराइएका महिलाहरू अहिले औपचारिक शिक्षा लिइरहेका छन्। “महिला र पुरुष एकै रथका दुई पांग्रा हुन् भनेर हामीले पढ्दै आएका छौं। तर एउटा पांग्रामा मात्र तेल लगाउने र अर्कोमा नलगाउने गरियो भने त्यो रथ कसरी अघि बढ्छ?” स्वयम्भूस्थित श्री श्रद्धा महिला वैकल्पिक माध्यमिक विद्यालयकी प्रधानाध्यापक अञ्जना महर्जन प्रश्न गर्छिन्। यो विद्यालयमा १२ वर्षभन्दा माथिका महिलालाई कक्षा एकदेखि १० सम्म पढाइन्छ।
“पुरुष शिक्षित हुँदा घर समृद्ध हुन्छ तर महिला शिक्षित हुँदा परिवारको सशक्तीकरण हुन्छ। जब परिवार सक्षम हुन्छ तब समग्र गाउँ नै सक्षम हुन्छ। जब गाउँ सक्षम हुन्छ तब देश विकास हुन्छ,” उनी थप्छिन्।
तर कक्षाकोठातर्फको यात्रा सधैं सहज हुँदैन। घरायसी कामको बोझका कारण महिलाहरू पढाइका लागि पर्याप्त समय नै छुट्याउन पाउँदैनन्। जीवनको उत्तरार्द्धमा विद्यालय जाँदा सुन्नुपर्ने भनाइहरूले पनि कतिपय महिलालाई छेक्छन्। धेरैजसो महिला परिवारबाट साथ नपाउँदा झूट बोलेर पनि विद्यालय जान्छन्।
“यहाँ कतिपय यस्ता विद्यार्थी छन् जो घरमा काममा जान लागेको भनेर ढाँटेर आउँछन्,” प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसे भन्छिन्। कतिपय महिला भने विद्यालय समयपछि पनि कक्षाकोठामै हुन्छन्। आफ्नो गृहकार्य सकाउँछन् र घरमा कसैले थाहा नपाऊन् भनेर किताबकापी त्यहीं छोडेर जान्छन्।
सातदोबाटोमा अवस्थित यस विद्यालयले १४ वर्षभन्दा माथिका महिलालाई पढाउँदै आएको छ। “समाज र परिवारले महिलालाई प्रोत्साहन गर्नुपर्छ। उनीहरूलाई शिक्षा प्राप्त गर्न प्रेरित गर्नुपर्छ र पूर्वाग्रह राख्नु हुँदैन,” चालिसे भन्छिन्।
प्रस्तुत छ विद्यालय जाने सपना पूरा गरिरहेका केही महिलाका कथा :
इन्द्रकुमारी आले, ७१
नीलो र बैजनी रङको झोला बोकेर इन्द्रकुमारी आले हरेक दिन आधी घन्टा हिंडेर कुसुन्तीबाट सातदोबाटोमा रहेको प्रेरणा महिला माध्यमिक विद्यालय पुग्छिन्। खैरो रङको ढोकाबाट छिरेर दोस्रो तलामा रहेको कक्षाकोठामा पुग्छिन्।
स्याङ्जामा हुर्किएकी इन्द्रकुमारीले सामान्य लेखपढ गर्न सानैमा सिकेकी थिइन् तर परिवारले थप शिक्षादीक्षा दिन आवश्यक ठानेन। १८ वर्षको उमेरमा उनको विवाह भयो। श्रीमान् भारतीय सेनामा कार्यरत थिए, बिदा पाउँदा मात्र घर आउँथे। त्यसैले विवाहपछिको २५ वर्ष उनले श्रीमान्को परिवारको रेखदेखमै बिताइन्।
आफूले विद्यालयीय शिक्षा पूरा गर्न नपाए पनि आफ्ना सन्तानलाई भने उनले यो अवसरबाट वञ्चित गराइनन्। उच्च माध्यमिक तह सकेपछि मात्र दुई छोरीको विवाह गरिदिइन्। कान्छी छोरीले चिकित्साशास्त्र अध्ययन सकेकी छिन्।
परिवारको हेरचाहमै जीवन बिताएकी इन्द्रकुमारीको विद्यालय जाने सपना सन् २०१५ मा मात्र पूरा भयो जब कान्छी छोरीले उनलाई ढाडस दिइन्।
इन्द्रकुमारी कक्षा १ मा भर्ना भइन्। पढाइमा अब्बल निस्किइन्। कक्षामै सबैभन्दा बढी अंक ल्याएकाले कक्षा फड्को मार्दै गइन्। “सात-आठ कक्षासम्म पनि सजिलै थियो तर उमेरका कारण र आँखा र कानले बिस्तारै काम गर्न छोडेकाले अहिले गाह्रो हुँदै गएको छ,” उनी भन्छिन्।
गत वर्ष उनले एसईई पनि दिइन्। आफ्ना नातिनातिनाको उमेरका विद्यार्थीहरूमाझ बसेर परीक्षा दिंदा उनलाई निकै रमाइलो लाग्यो। “यो उमेरमा पनि परीक्षा दिइरहेकाले त्यहाँ भएका विद्यार्थी र शिक्षकहरूले मलाई माया र सम्मान व्यक्त गर्नुभयो। मलाई त एसईई उत्तीर्ण हुन्छु जस्तै लागेको थिएन तर भएँ,” उनी फुरुङ्ङ हुँदै सुनाउँछिन्।
यतिन्जेल उनको परिवार बाहेक अरूलाई उनी विद्यालय गइरहेकी थिइन् भन्ने थाहै थिएन। जब परीक्षाफल प्रकाशित भयो तब मात्र टोलवासीलाई थाहा भयो। यसपछि इन्द्रकुमारीलाई टोलवासीले सम्मान पनि गरे।
इन्द्रकुमारी अहिले कक्षा ११ मा अध्ययनरत छिन् र विद्यालय जाने आफ्नो निर्णयप्रति गर्व गर्छिन्। “विगतमा जब मेरा छिमेकीले झोला बोकेर कता गएको भनेर सोध्थे त्यति वेला म यसो डुल्न निस्किएको भन्थें,” उनी भन्छिन्, “आजभोलि टोलका सबैलाई थाहा छ- म विद्यालय जान्छु भनेर। मैले पढाइलाई निरन्तरता दिएकामा उनीहरू मलाई माया र सम्मान गर्छन्।”
शिक्षाले इन्द्रकुमारीलाई परिवार र समाजमा पहिचान मात्र दिएको छैन, आत्मनिर्भर बन्न पनि सघाएको छ। “साइनबोर्ड पढ्नदेखि बस रोक्नसम्म म आफैं गर्न सक्छु,” उनी भन्छिन्, “अब त म राम्ररी बोल्न नजाने पनि अंग्रेजी बुझ्ने भएकी छु। यो उमेरमा यति धेरै काम गरुँली भन्ने सोचेकै थिइनँ।”
प्रेमकुमारी राजकोटी मगर, ५५
पाल्पाकी प्रेमकुमारी राजकोटी मगर सुमधुर स्वर र गायनप्रतिको आसक्तिका लागि गाउँमा परिचित थिइन्। गाउँलेहरू रोदी, दोहोरी र अन्य कार्यक्रममा उनलाई गीत गाउन बोलाउँथे, उनी खुशीसाथ पुग्थिन्।
प्रेमकुमारीले दुई वटा एल्बम पनि सार्वजनिक गरेकी छन्। नेपाली टेलिसिरियलहरूमा पनि छोटो भूमिका निभाएकी छिन्। तर पढ्न र लेख्न जान्दिनँ भन्ने कुराले उनलाई सधैं सताउँथ्यो।
श्रीमान्को जागीरका कारण २५ वर्षअघि उनी पाल्पाबाट काठमाडौं आएकी थिइन्। खर्च जुटाउन उनले पनि विभिन्न कार्यालय धाएर जागीर खोजेकी थिइन्। तर जता पनि सरसफाइ बाहेक अरू कामको लायक नभएको जवाफ पाउँथिन्।
“पढ्नलेख्न नजानेकै कारण मैले अवहेलना भोग्नुपर्यो,” प्रेमकुमारी विगत सम्झन्छिन्।
एक पटक चलचित्रका लागि अडिशन दिने क्रममा पनि यस्तै भयो। उनी आफ्ना पंक्ति पढ्न सक्दिनथिन्। त्यसैले पंक्ति कण्ठ पार्न अर्की युवतीले ठूलो ठूलो स्वरमा पढेर उनलाई सुनाइरहेकी थिइन्। तर ती युवतीले पनि शुरूमा अवहेलनापूर्वक भनेकी थिइन्, “आफ्नो पंक्ति पढ्न पनि नसक्नेले आवेदन नै किन दिनु?”
प्रेमकुमारीलाई यो वाक्यले निकै हीनताबोध भएको थियो। यसैले उनको आत्मविश्वास पनि डगमगायो। अडिशन पनि राम्रो भएन, उनी त्यो भूमिकाका लागि छनोट पनि भइनन्।
“गीत गाउँदा पनि म सोच्थें- मलाई पढ्न आउँथ्यो भने मैले यति धेरै शब्द याद गरिरहनै पर्दैनथ्यो, म आफ्नै गीत पनि लेख्न सक्थें,” उनी भन्छिन्, “जीवनका यिनै भोगाइले मलाई शिक्षाको महत्त्व बतायो।”
प्रेमकुमारीको सधैं पढ्ने चाहना थियो तर अवसर नै पाइनन्। उनका अभिभावक र गाउँका लागि शिक्षा प्राथमिकतामै पर्दैनथ्यो। झन् विवाहपछि त उनी घरायसी कामकाजमै व्यस्त भइन्। पढ्न सिक्ने भन्ने कुरा उनको दिमागबाट हटिसकेको थियो।
तर एक दिन उनले स्वयम्भूमा रहेको श्रद्धा महिला वैकल्पिक माध्यमिक विद्यालयबारे थाहा पाइन्। यसपछि उनको पढ्ने सपना पुनः जुर्मुरायो। श्रीमान् र छोराहरूले यो निर्णयमा साथ दिए। उनी कक्षा १ मा भर्ना भइन्। “आफूभन्दा कान्छा विद्यार्थीहरूसँग पढ्न मलाई लाज लागेन, अरू तीन जनाको उमेर पनि मेरो जत्रै र मेरो भन्दा केही बढी थियो,” उनी भन्छिन्।
त्यसयता दुई वर्ष भयो, उनी घरको कामकाज पनि सम्हालिरहेकी छन् अनि हरेक दिन बिहानै विद्यालय पनि गइरहेकी छन्। यही वर्ष उनले विद्यालयबाट दुई महीना बिदा पनि लिइन्, बुहारी सुत्केरी भएकीले। बिदा सकेर अहिले उनी कक्षामा फर्किसकेकी छन्।
प्रेमकुमारी अहिले कक्षा २ मा पढ्छिन्। उनलाई अंग्रेजी र नेपाली दुवैमा आफ्नो नाम लेख्न आउँछ। उनी मोबाइल पनि चलाउन जान्दछिन्। स्वास्थ्यले साथ दिएसम्म र हिंडडुल गर्न सकेसम्म पढाइलाई निरन्तरता दिने उनको योजना छ।
“यो उमेरमा पढ्न पाएकामा म खुशी छु,” उनी भन्छिन्, “आर्थिक र सामाजिक रूपमा सबल हुन पनि महिलाहरूले पढ्नैपर्छ। शिक्षित भएपछि मात्रै संसारबारे जानिन्छ, धोका खाइँदैन, आफ्नो गोपनीयता कायम राख्न सकिन्छ र सबैभन्दा महत्त्वपूर्ण आफ्नो विचार व्यक्त गर्न सकिन्छ।”
शोभा थापा, ६०
दाजुभाइले पढेको हेर्दै र सुन्दै अलि अलि नेपाली अक्षर चिनेकी शोभा थापाले कहिल्यै विद्यालय टेक्न पाइनन्। विवाहपछि त झन् बालबच्चा स्याहार्दै उनको दिन बित्थ्यो। त्यसैले आफ्नो जस्तै हविगत सन्तानको नहोस् भनेर उनले अंग्रेजी माध्यमको विद्यालयमा सन्तानलाई भर्ना गरिन्। तर यहाँ पनि उनलाई सकसै भयो।
“शिक्षकहरू मसँग अंग्रेजीमा बोल्थे,” शोभा सम्झन्छिन्, “म त केही बुझ्दिनथें तर पनि लाजले गर्दा न उनीहरूलाई के भनेको भनेर सोध्न सक्थें न अंग्रेजी बुझ्दिनँ भनेर स्विकार्न सक्थें।”
शोभालाई घरमै पनि बाहिरिया जस्तो व्यवहार गरिन्थ्यो, अशिक्षित भएकैले कुरा बुझ्दिनन् भनेर। “अहिले सम्झने हो भने मैले कति कति अवहेलना सहें। तर यी सबैले मलाई शिक्षा कति महत्त्वपूर्ण छ भनेर सिकाए,” शोभा सुनाउँछिन्।
उनले श्रीमान्लाई विद्यालय जाने आफ्नो चाहना बताउन साहस जुटाउनै सकिरहेकी थिइनन्। तर संयोगवश एक दिन श्रीमान्ले नै घरमा ल्याएको अखबारमा प्रेरणा महिला माध्यमिक विद्यालयबारे समाचार छापिएको थियो। शोभाले श्रीमान्लाई आफ्नो इच्छा बताइन्, श्रीमान् राजी भए।
इन्जिनीयरिङ अध्ययन सकेर कान्छा छोरा भर्खरै घर फर्किएका थिए, उनैले आमालाई भर्ना गर्न लगे। अन्ततः शोभाले ५० वर्षको उमेरमा पढ्न थालिन्।
“पहिलो दिनको उत्साह म बताउनै सक्दिनँ,” अहिले कक्षा ११ मा पढिरहेकी शोभा भन्छिन्, “त्यति वेला मैले ठूलो उपलब्धि हासिल गरेको महसूस भएको थियो।”
शोभामा पढ्ने चाहना यति तीव्र थियो कि चाहे खाना बनाउँदा होस् वा लुगा धुँदा उनको किताब खुला नै रहन्थ्यो।
कोरोना महामारीअघिसम्म शोभा कक्षाकी अब्बल विद्यार्थी थिइन्। “मलाई ल्यापटप चलाउन पनि आउँदैनथ्यो तर जसोतसो अनलाइन क्लास लिएँ,” उनी भन्छिन्। भौतिक रूपमै कक्षा शुरू भएपछि उनी निकै खुशी भएकी थिइन्। अहिले शोभालाई लाग्छ- उनले अंग्रेजीमा भने थप मेहनत गर्न आवश्यक छ।
गत वर्ष एसईई उत्तीर्ण गरेपछि उनले आफूप्रति मानिसहरूको धारणा बदलिएको पाइन्। “मर्ने वेला हरियो काँक्रो भन्ने मानिसहरू नै अहिले मसँग सहयोग माग्न आउँछन् र मलाई सम्मान गर्छन्,” उनी भन्छिन्।
शोभा यही पथलाई निरन्तरता दिन चाहन्छिन् र आफ्ना उपलब्धिप्रति गर्व गर्छिन्। उनी आफू पढिरहेको कुरा बताउन अब हिचकिचाउँदिनन् बरु अरू महिलाहरूलाई पनि पढ्न प्रेरित गर्छिन्।
उनी भन्छिन्, “शिक्षाले संसारको ढोका खोल्छ। यसैले हामीलाई मानिस बनाउँछ र यो महिलाका लागि त झनै महत्त्वपूर्ण छ किनकि संसारको सामना गर्न महिलाहरू बलियो हुनपर्छ।”
सूर्यकुमारी श्रेष्ठ, ६७
सूर्यकुमारी श्रेष्ठले गाउँमै शिशु कक्षा पढिन्, कालोपाटीमा चकले अक्षर लेख्न सिकिन्। तर त्यसपछिका कक्षा पढिनन्। पछि उनका दौंतरीहरू जागीरे जीवनमा प्रवेश गरे, कोही अध्यापनमा लागे, उनलाई भने नपढेकोमा पछुतो भइरह्यो। यसबीच उनले धेरै पटक सोचिन्- ‘पढेको भए’।
२० वर्षअघि उनी काठमाडौं आइन्। नयाँ घरमा टेलिफोन थियो, परिवारका अन्य सदस्यले प्रयोग गरिराख्थे। “सबै जना फरक फरक मान्छेसँग कुरा गर्न फरक फरक नम्बर डायल गर्थे, म भने उनीहरूले कसरी यस्तो गर्न जाने होलान् भनेर सोच्थें,” सूर्यकुमारी सम्झिन्छिन्, “मलाई थाहा थिएन, टेलिफोनले कसरी काम गर्छ भनेर।”
आज उनी सहजै मोबाइल चलाउँछिन्। छोरीहरूसँग कुरा गर्छिन्, जापानमा भएको छोरालाई भिडिओ कल गर्छिन्। “म आफैं नम्बर डायल गर्छु र मन लागेको मानिससँग कुरा गर्छु,” उनी भन्छिन्, “म सबैथोक त गर्न सक्दिनँ तर विद्यालय जानुअघिभन्दा अहिले धेरै काम गर्न सक्छु।”
श्रद्धा माविमै कक्षा ८ मा अध्ययनरत सूर्यकुमारी पढ्ने उद्देश्यले मात्र विद्यालय गएकी थिइनन्, मित्रताका लागि पनि गएकी थिइन्। छोरा विदेश र छोरीहरूको विवाह भइसकेकाले घरमा उनको साथी कुकुर पिंकी मात्र हो। “यदि म विद्यालय आइनँ भने बोल्ने मान्छे नै पाउँदिनँ। यहाँ मेरा साथीहरू छन् र नयाँ कुरा सिक्न पनि पाउँछु,” उनी भन्छिन्।
सूर्यकुमारीका आफन्त र छरछिमेक सबैलाई थाहा छ- उनी विद्यालय गइरहेकी छिन् भनेर र उनको निर्णयलाई समर्थन पनि गर्छन्। कुनै दिन सूर्यकुमारी घरमै बसिन् भने छिमेकीले कक्षा किन छुटाएको भनेर सोध्ने पनि गरेका छन्।
सूर्यकुमारीलाई शिक्षाले एकल महिलाका रूपमा संसारको सामना गर्ने आत्मविश्वास दिएको छ। हालै मात्र एउटा कागजातमा औंठाछाप लगाउन भनिएको वेला उनले आफूले हस्ताक्षर गर्न सक्ने जवाफ फर्काएकी थिइन्। “मलाई एसईई दिएर कलेज जान मन छ। शिक्षाले मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ।”
निर्मला छेत्री, ५६
निर्मला छेत्री सामाजिक अभियन्ता तथा उद्यमी हुन्। उनले विभिन्न होटेलमा काम गर्नुका साथै महिला सहकारी स्थापना गरी सञ्चालन गरेकी थिइन्। आफ्नै सिलाइकटाइको उद्यम समेत गरेकी निर्मला अहिले गोदावरी उद्योग वाणिज्य संघमा पनि आबद्ध छिन्।
बाहिरबाट हेर्दा उनको जीवन राम्रै देखिए पनि भित्रभित्रै उनले शिक्षालाई निरन्तरता दिन चाहिरहेकी थिइन्।शुद्ध र छिटो छिटो टाइपिङ गर्ने निर्मलालाई कुनै समय यही सीपका कारण सरकारी जागीरको प्रस्ताव पनि आएको थियो। तर परिवारको असहमतिका कारण उनले प्रस्ताव स्विकार्न सकिनन्।
सन् १९८५ मा एलएलसी उत्तीर्ण गरेकी निर्मला नमूना मच्छिन्द्र कलेजमा आईए पढ्न भर्ना समेत भएकी थिइन्। तर पढाइलाई थाती राखेर उनले विवाह गर्नुपर्यो। त्यसपछि बालबच्चा हुर्काउनु नै प्राथमिकतामा रह्यो।
मनले चाहे अनुसार पढ्न नपाएकैले उनले आफ्ना तीनै सन्तान विशेषगरी छोरीलाई पढाइमा जोडबल गरिन्। उनका दुई सन्तान अहिले अस्ट्रेलियामा छन्, एक छोरा नेपाल एअरलाइन्समा कार्यरत छन्। “मैले सधैं पढाइलाई निरन्तरता दिन चाहें,” निर्मला भन्छिन्, “तर जब म उद्योग वाणिज्य संघमा आबद्ध भएँ त्यहाँ पुरुषहरू मभन्दा धेरै शिक्षित थिए। यसले मलाई निरीह महसूस गरायो साथै थप लगनशील पनि बनायो।”
निर्मला अहिले प्रेरणा महिला माविमा कक्षा ११ मा भर्ना भएकी छिन्। उनी कानूनमा स्नातक गर्न चाहन्छिन्। “मलाई खुशी लाग्छ। म आफूप्रति गर्व महसूस गर्छु र मैले पुनः आत्मविश्वास आर्जन गरेकी छु,” उनी भन्छिन्, “मलाई लाग्छ-अहिले म जीवनमा धेरै काम गर्न सक्छु।”
निर्मलाका परिवारजन निकै सहयोगी छन्। र आफ्ना बालबच्चा सबै हुर्किसकेकाले उनलाई लाग्छ- आफ्नो व्यक्तिगत वृत्तिविकासका लागि लगानी गर्ने यो नै उचित समय हो।
“आफ्ना परिवार र सन्तानले अवसर पाऊन् भनेर हामी महिलाले धेरै त्याग गरेर यो ठाउँमा आइपुगेका हौं,” उनी भन्छिन्, “यो बिन्दुमा पनि हामीले अवसरलाई खेर जान किन दिनु? महिलाहरू स्वतन्त्र भइसकेका छन् र यसको भरपूर उपयोग गर्नुपर्छ।”
(नेपाली टाइम्सबाट असीम तिमल्सिनाले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)