आइतबारदेखि मौसम सुधार हुने पूर्वानुमान
केही दिनयता हल्का वर्षा सहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
न्यूनचापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यूनचापीय वायुको प्रभाव, बंगालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेषगरी देशको पूर्वी क्षेत्रमा प्रिमनसुन सक्रिय भएको बताए।
“हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ,” उनले भने, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ।”
महाशाखाका अनुसार आगामी २४ घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।