मौसमी फ्लूको संक्रमण, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकको सुझाव
मौसमी फ्लूसँगै कोभिड पनि देखिन थालेकाले दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
सामान्यतया मौसम परिवर्तन हुने याममा रुघाखोकीले सताउने गर्छ। चिकित्सकहरूले यसलाई मौसमी रुघाखोकी अर्थात् मौसमी फ्लूको नाम दिएका छन्। मौसम परिवर्तन हुने हरेक याममा मौसमी फ्लूका बिरामी बढ्ने गर्छन् तर यसले महामारीको रूप लिएको छैन।
चिकित्सकहरूका अनुसार मौसमी फ्लूको मारमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बालबालिका पर्ने गरेका छन्। फ्लूका कारण केही बिरामीलाई निमोनियाले सताउने भएकाले ‘इन्टेन्सिभ केयर युनिट (आईसीयू)’ मा भर्ना गर्नुपर्छ। तर सबैलाई अस्पताल भर्ना गर्न आवश्यक नहुने चिकित्सक बनाउँछन्। उनीहरूलाई साधारण रोकथाम र उपचारले निको हुने छातीरोग विशेषज्ञ डा. रवि महत बताउँछन्।
अहिले मौसम परिवर्तन हुने याम भएकाले अस्पतालमा तुलनात्मक रूपमा मौसमी फ्लूका बिरामी बढेका छन्। अस्पताल भर्ना हुने गरी डरलाग्दो अवस्था नरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला बताउँछन्। टेकु अस्पतालमा मौसमी फ्लूका बिरामी बढे पनि भर्ना हुनुपर्ने अवस्थाका बिरामी नरहेको डा. बसौलाको भनाइ छ।
उनका अनुसार एक साताअघि चार जना दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई मौसमी फ्लू भएर आईसीयूमा भर्ना गरिएको थियो। उनीहरूको अवस्था चिन्ताजनक थिएन। हाल उनीहरू डिस्चार्ज भइसकेका छन्। “अहिले टेकु अस्पतालको आईसीयूमा मौसमी फ्लू तथा कोभिडका बिरामी भर्ना छैनन्, मौसम परिवर्तनको याममा रुघाखोकीका बिरामी बढ्नु स्वाभाविक हो, डरलाग्दो किसिमले बिरामी आएका छैनन्,” निर्देशक बसौला भन्छन्, “सरुवा रोगको अस्पतालमा तीन-चार जना बिरामी आउनुलाई स्वाभाविक नै मान्नुपर्छ।”
गत पुसमा छिमेकी देश भारतको केरलमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेला परेको थियो। त्यसयता नेपालमा पनि कोरोनाका फाट्टफुट्ट संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमित २४ जना छन्। जसमध्ये काठमाडौं उपत्यकामा १३ जना छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी मौसमी फ्लू तथा कोरोनाको संक्रमण डराउनुपर्ने गरी नबढेको बताउँछन्। सक्रिय संक्रमित पनि सबै गम्भीर किसिमका नभएको डा. बुढाथोकीको भनाइ छ। उनका अनुसार एक साताभित्र १० जनालाई निमोनिया भएर आईसीयूमा राखिएको छ। केही डिस्चार्ज भइसकेका छन्।
डिस्चार्ज भएका बिरामीको तथ्यांक भने मन्त्रालयमा आइनसकेको उनले बताए। मौसमी फ्लू र कोभिड-१९ का कारण पछिल्लो एक महीनामा कुनै पनि बिरामीको ज्यान गएको छैन।
छातीरोग विशेषज्ञ डा. महत मौसमी फ्लूसँग विशेषगरी ज्येष्ठ नागरिक र दीर्घरोगी जोगिनुपर्ने बताउँछन्। उनको भनाइमा मौसमी फ्लूले फोक्सोमा आक्रमण गर्ने र यस्ता समूहका मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मौसमी फ्लू तथा कोभिडले छिटै असर गर्छ। फोक्सोमा फ्लूले आक्रमण गरेपछि मुटुमा समस्या भएका व्यक्तिको स्वास्थ्यमा समस्या आउँछ। जसको कारण निमोनिया र मुटुमा समस्या देखिई अस्पताल भर्ना गराउनुपर्ने स्थिति आउने उनी बताउँछन्।
यस पटकको फ्लूका कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था भने नरहेको महतको भनाइ छ। “दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सामान्य चिसोले समेत सताउने भएकाले यस्तो फ्लू र संक्रमणबाट भने जोगिनुपर्छ,” उनी भन्छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी कोभिड अब रुघाखोकी जस्तै समुदायमा सदैव बस्ने भएकाले मास्क लाउने, भीडभाडमा नजाने र साबुनपानीले हातधुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताउँछन्। खोप लगाउन पनि उनले सुझाएका छन्। “यस्ता फ्लू सदैव समुदायमै हुन्छन्,” उनी भन्छन्, “विशेषगरी संवेदनशील समूहका मानिस सावधान रहनुपर्छ।”