बागमतीमा शैलेन्द्रमान बज्राचार्यले लिए मन्त्रीको शपथ
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका छन्।
सत्तारूढ गठबन्धनले हाम्रो नेपाली पार्टीसँग पाँचबुँदे सहमति गरे लगत्तै बज्राचार्य मन्त्री बनेका हुन्। उनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्री बज्राचार्यले बिहीबार साँझ शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका थिए। गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का गरी ५५ सांसद छन्। बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै ५७ सांसद पुगेका छन्। विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन्।