इलाममा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रास्वपाको विधान बमोजिम बिहीबार लिम्बूलाई उम्मेदवार चयन गरिएको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जनाएका छन्। लिम्बूलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिएको जनाइएको छ।
इलाम-२ मा उम्मेदवारका लागि रास्वपाबाट ६ जनाले दाबी गरेका थिए। त्यसमा बिहीबार प्रारम्भिक निर्वाचनको तयारी गरिएको थियो।
प्रारम्भिक निर्वाचनअघि भएको छलफलमा अन्य पाँच जनाले उम्मेदवारी फिर्ता लिएको बरालले जानकारी दिए। गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र शेषरमण न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि लिम्बू चयन भएका हुन्।
आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। त्यस्तै, डकेन्द्र लिम्बू र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)बाट पनि प्रदेश समितिले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन्। उनीहरू टुंगो लाग्न भने बाँकी छ।