एसईई परीक्षामा चिट चोराएको आरोपमा पहिलो दिनमै सर्लाहीका १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट शुरू भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ।
परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको सर्लाहीका शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले बताए। उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको हो।
सर्लाहीको गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमूना माध्यमिक विद्यालय, जनता मावि, रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए।
सर्लाहीमा सामुदायिक विद्यालयबाट नौ हजार ५६२ र संस्थागत तर्फबाट एक हजार ३३४ विद्यार्थी एसइईमा सहभागी भएका छन्।
यस वर्षको एसईईमा देशभरका १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना गरी पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।