सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीले पाए जिम्मेवारी
सुदूरपश्चिम सरकारमा विना विभागीयको भूमिकामा रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारूलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्। यसअघि दुवै जना विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए।
पदभार ग्रहण गर्दै मन्त्री चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै नाउपा सरकारमा सहभागी भएको बताए। एक वर्ष पहिलेदेखि नै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको र अब पनि समर्थन जारी रहने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिंदा नाउपाका मन्त्रीलाई जिम्मेवारी तोकिएको हो। नाउपाले संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो भने सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ। नाउपा संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको सरकारलाई नै समर्थन गरिने बताए।
विश्वासको मतका लागि स्वतन्त्र सांसद तारा जोशी र राप्रपा सांसद खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने मुख्यमन्त्री शाहको भनाइ छ। प्रदेश सरकार गठनमा निर्णायक मानिएको नाउपा प्रदेश सभाका सात सदस्यमध्ये पाँच जना मन्त्री भइसकेका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक स्थान रिक्त छ। रिक्त रहेको बझाङ १ ‘क’ मा आगामी वैशाख १५ मा निर्वाचन हुँदै छ।
अहिले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित ११, नेकपा (एमाले)का १०, नाउपा सात, नेकपा (एकीकृत समाजवादी)का चार तथा राप्रपा र स्वतन्त्रका एक-एक सांसद छन्।