ग्लोबल आइएमई ब्यांक र आईएफसीबीच समझदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेड र विश्व ब्यांक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैंगिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी समझदारी भएको छ।
समझदारीपत्रमा ग्लोबल आइएमई ब्यांक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीका तर्फबाट दक्षिणएशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।
सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई ब्यांकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति र दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, ब्यांंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरूप परिमार्जन गर्ने लगायत विषयमा परामर्श प्रदान गर्नेछ।
यससँगै आईएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्ष्यित क्षमता निर्माणका लागि दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ। आईएफसीले ग्लोबल आइएमई ब्यांकलाई स्वच्छ यातायात, जलवायु-स्मार्ट कृषि र सौर्य परियोजना लगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिने सम्झौतामा उल्लेख छ।