विषादीको अनियन्त्रित प्रयोग किसानकै लागि बनिरहेछ संकट
तरकारी खेतीमा रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण सर्लाही हरिवनका किसान छाला र श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्मले पीडित छन्।
गत कात्तिकमा हामी सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौली पुग्दा खेतबारी तरकारी बालीले हराभरा थिए। धेरैजसो खेतमा लटरम्म भान्टा थिए। काउली, परबल, गोलभेंडा, बोडी, साग पनि फलेका देखिए।
किसानहरू कोही खेत गोडमेल गर्दै थिए, कोही बजारमा लैजान तरकारी टिप्दै थिए। कोही तरकारीमा विषादी छर्दै थिए त कोही विषादी किन्न एग्रोभेट जाँदै गरेका भेटिए। कसरी धेरै र राम्रो तरकारी फलाउने, टिपेर कहिले बेच्न लैजाने भन्ने ध्याउन्न र धपेडी देखिन्थ्यो सबैमा।
केही किसानलाई भेट्न जाँदा भने तीता कथा भेटिए। धेरैले क्यान्सरका कारण परिवारका सदस्य गुमाएका रहेछन्। क्यान्सरसँग संघर्ष गरिरहेकाहरू पनि भेटिए। बाँकी मानिसमा आफू पनि क्यान्सरको चपेटामा परिने हो कि भन्ने डर देखिन्थ्यो।
क्यान्सरपीडितहरूले खेतीकिसानीमा सक्रिय हुँदाका दिन सम्झँदै रोगले दिएको पीडा सुनाए।
२०७६ भदौमा घुर्कौलीका जंगीलाल साह खेतमा काम गर्दागर्दै बेहोश भए। उपचार गराउन जाँदा टाउकोको क्यान्सर भएको थाहा भयो। निरन्तर उपचार गराएपछि उनको स्वास्थ्यमा केही सुधार आएको छ, हिंडडुल गर्न सक्ने भएका छन्। तर हातखुट्टाका जोर्नी दुख्ने र पोल्ने भइरहन्छ।
साहले एक बिघा जमीनमा गोलभेंडा र परबलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्दै आएका थिए। पछि रोग-कीरा लागेर उत्पादन घट्न थालेपछि उनले खेतीमा जीवनाशक विषादी हाल्न थालेका थिए। उनी दादा गार्ड, कोब्रा जस्ता नाम गरेका विषादी प्रयोग गर्थे।
साहका छिमेकी पाल्देन लामा पनि पहिले चार-पाँच बिघा जमीनमा व्यावसायिक तरकारीखेती गर्थे। राम्रो उब्जनी नभएपछि बालीनालीमा कडा खालका विषादी अत्यधिक हाल्न थाले।
लामो समयसम्म विषादीको सम्पर्कमा रहेपछि उनलाई घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने समस्या आयो। तीन वर्ष जति औषधि खाएपछि ठीक भएको थियो। दुई वर्षअघि उनको आन्द्रामा क्यान्सर भएको पत्तो लाग्यो। भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका उनको स्वास्थ्यमा सुधार देखिएको छैन। अहिले ओछ्यान परेका छन्।
विषादीकै कारण आफूलाई क्यान्सर भएको उनको आशंका छ। तर अहिले पनि उनको खेतबारीमा विषादीको प्रयोग रोकिएको छैन। घर अगाडिको बारीमा फलेको भान्टा देखाउँदै उनले भने, “अचेल परिवारका अरू मान्छेले विषादी छर्छन् तर उनीहरूलाई धेरै नहाल्नू है भन्छु।”
साह र लामाकै छिमेकी रक्षा माझी अरूको खेतमा काम गर्थिन्। चार-पाँच वर्षदेखि हातखुट्टा झमझमाउने, दुख्ने, पोल्ने समस्या भोगेकी उनलाई स्तन क्यान्सर लागेको छ।
घुर्कौलीकै मुनिलाल साहको पनि हातखुट्टा चिलाइरहन्छ। लामो समयदेखि तरकारीखेती गर्दै आएका उनले उत्पादन बढाउन लार्गो, सुपर किलर, दादा गार्ड, टोचन जस्ता विषादी हाल्ने गरेका छन्। उनलाई जस्तै घुर्कौलीका धेरै किसानलाई हातखुट्टा चिलाउने समस्या छ।
साह, लामा र माझी जस्ता हरिवनका धेरै किसान अहिले क्यान्सरसँग जुधिरहेका छन्। यहाँका क्यान्सरका सबैजसो बिरामी व्यावसायिक किसान हुन् र हामीले भेटेका सबै किसानले लामो समयदेखि विषादी प्रयोग गर्दै आएका थिए। उनीहरू आफूलाई विषादीकै कारण क्यान्सर लागेको हुन सक्ने शंका गर्छन्।
हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीका अनुसार नगर क्षेत्रमा क्यान्सरका ३६ जना बिरामी छन्। यीमध्ये वडा नम्बर ५, घुर्कौलीका मात्रै सात जना छन्। बिरामीको यो संख्या घातक रोगको उपचारका लागि सहुलियत लिन आएकाहरूको मात्रै भएकाले क्यान्सर रोगी अरू पनि धेरै हुन सक्ने हरिवन नगरपालिका-५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहको अनुमान छ। क्यान्सरकै कारण वडामा तीन वर्षमा २६ जनाले ज्यान गुमाइसकेको उनी बताउँछन्।
राष्ट्रिय जनगणना, २०७८ अनुसार हरिवन नगरपालिकामा १० हजार ७४० घरपरिवार छन्। यीमध्ये ६ हजार ५५५ परिवारले खेती गरिरहेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रतिवेदनमा उल्लेख छ। खेतीमा संलग्न किसानको यो संख्याले बालीनालीमा विषादीप्रतिको निर्भरताका कारण स्वास्थ्य समस्या विकराल रहेको अनुमान गर्न सकिन्छ। यसलाई पुष्टि गर्न विषादी प्रयोग र यसले पारेको असरबारेको बृहत् अध्ययन भने छैन।
कृषि तथा पशुपन्छी विकास केन्द्र मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रकाशन गरेको पुस्तिका ‘विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन’ का अनुसार विषादीले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर गर्छ। रिंगटा लाग्नु, टाउको दुख्नु, मूर्छा पर्नु, थकान महसूस हुनु, होश हराउनु लगायत तत्काल देखिने समस्या हुन् भने क्यान्सर, ट्युमर, श्वासप्रश्वास सम्बन्धी समस्या दीर्घकालीन हुन्।
स्रोत: 'विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन' पुस्तिका।
घुर्कौलीमा क्यान्सर धेरैमा फैलिनुको कारण थाहा नभए पनि क्यान्सर किसानहरूमै बढी देखिएकाले विषादी पनि एउटा कारण हुन सक्ने हरिवन-५ का वडाध्यक्ष साहको अनुमान छ। “दुई-तीन घर छोडेर मानिसहरूलाई क्यान्सर लागेको छ, यो सामान्य अवस्था होइन,” उनी भन्छन्।
घुर्कौलीमा क्यान्सर रोगी बढेपछि वडाध्यक्ष साहको पहलमा २०७७ असोजमा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नेतृत्वको टोलीले त्यहाँ पुगेर अनुगमन गरेको थियो। त्यहाँका मानिसहरूले बताएका आधारमा स्थानीय चिनीमिलबाट निस्किने प्रदूषित पानी र तरकारीखेतीमा हालिने रासायनिक विषादी क्यान्सर गराउन कारक रहेको शंका गर्न सकिने डा. आचार्य बताउँछन्। उनका अनुसार आवश्यक मात्राभन्दा बढी र कडा खालका विषादीको प्रयोगले पनि क्यान्सर गराउने जोखिम हुन्छ। “ठ्याक्कै यही कारणले क्यान्सर हुन्छ भन्न सकिंदैन, धूवाँधूलो, खाद्य पदार्थमा हुने रसायन, प्रदूषित पानी आदि यसका कारक हुन्,” उनी भन्छन्, “खास कारण पत्ता लगाउन त प्राविधिक जाँच नै गर्नुपर्छ।”
डा. आचार्यका अनुसार उति वेला घुर्कौलीमा मानिसहरू भेला गरेर छलफल गर्दा त्यहाँ धेरैमा क्यान्सर देखिएकाले उनीहरू निकै आत्तिएका थिए। चिकित्सक टोलीले कस्तो अवस्थामा क्यान्सर देखिन्छ, समयमै क्यान्सरको निदान कसरी गर्ने, उपचार कसरी गराउने, यो रोगको जोखिम कसरी कम गर्न सकिन्छ भनेर छलफल गरेको थियो।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीका अनुसार विषादीको प्रयोग बढेपछि नगरक्षेत्रमा क्यान्सर, श्वासप्रश्वास सम्बन्धी समस्या पनि बढेको छ। उनी भन्छन्, “यस्ता गम्भीर रोगको समस्या देशैभरि बढेको भए पनि विषादी प्रयोग भएका ठाउँमा क्यान्सरको अत्यधिक समस्या देखिएकाले त्यसकै अधिक प्रयोगको असर हो कि भन्ने लाग्छ।”
तरकारी बालीमा विषादीको प्रयोगले स्वास्थ्यमा ठूलो समस्या ल्याएकाले विषादी परीक्षण गर्ने प्रविधि ल्याउन र अर्गानिक खेतीलाई प्रोत्साहन दिन पहल गरिरहेको उनी बताउँछन्।
प्रतिबन्धित विषादीको प्रयोग
विषादीले मानव स्वास्थ्य, वातावरण, जैविक विविधता, माटो आदिलाई पार्ने असरबारे ध्यान दिंदै सरकारले विभिन्न किसिमका विषादीलाई विभिन्न समयमा प्रतिबन्ध लगाएको छ। अहिलेसम्म २४ प्रकारका विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। तर यी विषादीको लुकिछिपी प्रयोग भइरहेको छ।
सरकारले प्रतिबन्ध लगाएका विषादी :
सर्लाही सहित मधेश प्रदेशका विभिन्न ठाउँमा अनुगमन गर्दा किसानले प्रतिबन्धित कतिपय विषादीहरू प्रयोग गरेको पाइएको उष्णप्रदेशीय बागवानी केन्द्र, सर्लाहीका बाली संरक्षण अधिकृत तथा विषादी निरीक्षक सुनीलकुमार चौधरी बताउँछन्। “कार्बोफ्युरान नेपालमा प्रतिबन्धित छ तर किसानले यसको प्रयोग गरेको देख्यौं,” उनी भन्छन्।
चौधरीका अनुसार भारतसँग खुला सीमा भएकाले तराईका जिल्लाहरूमा एग्रोभेटले मात्र नभई किसान आफैंले पनि त्यस्ता विषादी ल्याउने गरेका छन्।
हरिवनका एक एग्रोभेट सञ्चालक कतिपय एग्रोभेटमा प्रतिबन्धित विषादी लुकाइछिपाइ बिक्री हुने गरेको बताउँछन्।
बालीनालीमा विषादीको अनियन्त्रित प्रयोग गर्दा र प्रतिबन्धित विषादी हाल्दा मानव स्वास्थ्यसँगै पर्यावरणमा पनि गम्भीर असर पर्ने विज्ञहरू बताउँछन्। वातावरणविद् तीर्थबहादुर श्रेष्ठ खेतबारीमा शत्रुजीव मार्न प्रयोग गरिने विषादीले बालीमा लाग्ने हानिकारक कीरा खाइदिने तथा खेती फस्टाउन सघाउने मित्रजीवलाई नष्ट पार्ने बताउँछन्। “विषादी प्रयोग गर्दा वातावरणका लागि उपयोगी, माटो मलिलो पार्ने र बालीनालीमा सहयोग पुर्याउने फट्यांग्रा, पुतली, माहुरी लगायत धेरै मित्रजीव पनि मर्छन्,” उनी भन्छन्, “विषादीले माटो, पानी र समग्र वातावरणमा असर पार्छ।”
विषादी प्रयोगमा हेलचेक्र्याइँ
‘विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन’ पुस्तिकाले शत्रुजीव विरुद्ध विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, विषादीको छनोट, प्रयोग गर्ने तरीका, प्रयोग गर्ने पटक, प्रयोग गर्ने बाली, प्रयोगपछि पर्खनुपर्ने अवधि लगायत महत्त्वपूर्ण जानकारी विना यसको प्रयोग गरिंदा भयावह दुर्घटना र असर निम्तिन सक्ने उल्लेख गरेको छ।
किसानले विषादीको सम्पर्कमा रहँदा तथा विषादी प्रयोग गर्ने क्रममा सुरक्षित पहिरन लगाउनुपर्छ। अर्थात्, पूरै शरीर छोप्ने कपडा, मास्क, पन्जा र चश्मा आवश्यक हुन्छ। तर उनीहरू आफ्नो स्वास्थ्यमा ध्यान नदिई सुरक्षाको उपाय विना नै विषादीको सम्पर्कमा पुग्छन्। कतिपयले मुख छोपे पनि पन्जा र शरीर ढाक्ने कपडा लगाउँदैनन्। जीउ ढाक्ने कपडा लगाउँदा काम गर्न अप्ठ्यारो हुने किसानहरू बताउँछन्।
”धोती र गन्जी लगाउँदा नै काम गर्न सजिलो हुन्छ,” घुर्कौलीका जंगीलाल साह भन्छन्।
पाल्देन लामाले पनि आफूले विगतमा तरकारी खेतीमा विषादी छर्कंदा मास्क र पन्जा लगाउने नगरेको सुनाए।
विषादीको सुरक्षित प्रयोगमा ध्यान नदिंदा त्यसले मानव स्वास्थ्य, जैविक विविधता र वातावरणमा गम्भीर असर पार्छ। विषादी निरीक्षक चौधरी विषादी भनेको विष भन्ने हेक्का नराखी किसानले खेलाँची गरेर प्रयोग गरिरहेको बताउँछन्। कुनै पनि तरकारी बालीमा विषादी प्रयोग गर्दा निश्चित नियम अपनाउनुपर्छ। जस्तै, विषादीको प्रयोगपछि निश्चित समयसम्म उत्पादन टिप्नु हुँदैन। तर बेच्न लैजाने हतारले त्यो समयसम्म नपर्खी किसानले टिपिहाल्छन्।
घुर्कौलीमा भान्टाखेतीमा धेरै किसानले कीटनाशक विषादी दादा गार्ड प्लस, कोब्रा प्रयोग गरेको पाइयो। यो विषादी प्रयोगपछि सातदेखि १४ दिनसम्म टिप्नु हुँदैन। तर किसानले विषादी छरेको चार-पाँच दिनमै भान्टा टिपेर बेच्न लैजाने गरेको पाइयो।
“तरकारीमा आज विषादी छरेर भोलिपल्टै टिपेर बजार पुर्याउँछन्। यसले त उत्पादक किसानसँगै उपभोक्ताको स्वास्थ्यमा असर पारिरहेछ,” चौधरी भन्छन्। यसो नगर्न आग्रह गर्दा किसानले नमान्ने गरेको उनको भनाइ छ।
एक पटक चौधरी निरीक्षण गर्न जाँदा एक किसान बोडीमा विषादी छर्किंदै थिए। उनकी श्रीमती विषादी बोकेर पछि पछि हिंडिरहेकी थिइन्। “हामीले हेर्दाहेर्दै श्रीमती बेहोश भइन्। अस्पताल लैजाँदा केही समयपछि उनको होश आयो। डाक्टरले विषादीले गर्दा यसो भएको बताए,” उनी भन्छन्।
तरकारी बालीमा रोग लागेको हो कि कीरा लागेको हो भन्ने पनि थाहा नभई किसानले सोझै विषादी हाल्ने गरेको चौधरी बताउँछन्। “तरकारीमा पोषक तत्त्वको कमीले समस्या आयो, जिंकको कमीले पात पहेंलो देखियो भने पनि रोग-कीरा लाग्यो भनेर विषादी हालिहाल्छन्,” उनी भन्छन्।
अधिकांश किसान कृषि प्राविधिकको सल्लाह विना नै विषादी प्रयोग गर्ने गरेको स्विकार्छन्। धेरै किसानलाई त कृषि प्राविधिक हुन्छन् भन्ने समेत थाहा नहुँदा सीधै एग्रोभेट गएर विषादी किन्ने गरेको हरिवन नगरपालिकाकी कृषि जेटिए नवीना दाहाल बताउँछिन्। “यति धेरै विषादी प्रयोग गर्न हुँदैन, हामीकहाँ सल्लाह लिन आउनुस् भन्छौं तर उनीहरू हामीले पहिलेदेखि नै यसरी गर्दै आएका छौं भनेर मान्दैनन्,” उनी भन्छिन्।
अर्कातिर, किसानहरूले कडा विषादी खोजीखोजी हाल्ने गरेका छन्। हरिवनका एक एग्रोभेट सञ्चालक विषादी किन्न आउने किसानहरूलाई साधारण विषादी लैजानुस् भन्दा नमान्ने गरेको बताउँछन्। “आफैं फलानो विषादी दिनुस् भनेर माग्छन्, हामीले भनेको सुन्दैनन्।”
सुरक्षित र प्रभावकारी जैविक विषादीलाई किसानले नपत्याउने हुनाले त्यो खासै बिक्री नहुने उनको अनुभव छ।
विषादीको अत्यधिक प्रयोग
हरिवन नगरपालिका-११ की राम्रीमाया थिङले तरकारी फलाउन विषादी हाल्न थालेको धेरै वर्ष भयो। छिटो फल्ने र हेर्दा राम्रो पनि देखिने भएकाले आजभोलि झनै धेरै विषादी हाल्न थालेको उनले सुनाइन्। लहलह फलेका भान्टा देखाउँदै उनले भनिन्, “हामी त चार-चार दिनमै टिपेर बेच्छौं। औषधि हालेपछि चार दिनमै टिप्ने वेला हुन्छ।”
हरिवनका अरू किसानले पनि यसै गरेर भान्टा फलाएर बेच्ने गरेका छन्। घुर्कौलीका एक किसानले भने, “भान्टामा सात-सात दिनमा विषादी हाल्नुपर्छ, नभए त कीराले केही बाँकी राख्दैन।” घुर्कौलीका चन्द्रकिशोर साह त सातामै दुई पटक विषादी हाल्छन् र चार-पाँच दिनको अन्तरालमा भान्टा टिपेर बेच्छन्।
कीरा मर्ने र धेरै फल्ने भ्रमका कारण किसानले अत्यधिक विषादीको प्रयोग गर्ने गरे पनि यसले मानव र माटोमा दोहोरो असर पार्ने विषादी निरीक्षक चौधरी बताउँछन्। “तरकारी बालीमा चाहिनेभन्दा बढी विषादी हाल्दा तत्कालका लागि उब्जनी बढेको देखिए पनि माटोको उर्वराशक्ति ह्रास हुन्छ,” उनी भन्छन्।
आफ्नो नाम नखुलाउने शर्तमा हरिवनका एक एग्रोभेट सञ्चालकले किसानबीच धेरै उत्पादन गर्ने र राम्रो तरकारी फलाउने प्रतिस्पर्धा चल्दा पछिल्लो समय विषादीको व्यापार निकै बढेको अनुभव सुनाए। उनका अनुसार इमिडाक्लोप्रिड, क्लोरोपायरिफास, साइपरमेथ्रिन जस्ता विषादीहरू अत्यधिक बिक्री हुनेमा पर्छन्। विषालुपनको हिसाबले मध्यम वर्गमा पर्ने यी विषादीको प्रयोग किसानले आवश्यक मात्राभन्दा धेरै गर्ने गरेका छन्। “यति विषादीले पुग्छ भन्दा पनि उनीहरू कीरा मरेन, रोग लाग्यो भन्दै छिटोछिटो विषादी प्रयोग गर्छन्,” उनी भन्छन्, “बढी मागका कारण पछिल्लो समय किसानले भनेको वेला विषादी उपलब्ध गराउनै मुश्किल हुन्छ,” उनी भन्छन्।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको पुस्तिका ‘विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन’ का अनुसार देशभरिमा सबैभन्दा धेरै विषादी प्रयोग हुने ठाउँ तराई हो। यहाँ एक हेक्टर जमीनमा ९९५ ग्रामका दरले विषादी प्रयोग हुन्छ।
कृषिगणना, २०७८ को तथ्यांक अनुसार ३९ प्रतिशत किसानले कम हानिकारक, ४६.६० प्रतिशतले मध्यम हानिकारक, १२.८० प्रतिशतले अत्यधिक हानिकारक र १.३५ प्रतिशतले सबैभन्दा धेरै हानिकारक विषादी प्रयोग गर्छन्।
विषादीको प्रयोग बर्सेनि १० देखि २० प्रतिशतले बढिरहेको विषादी निरीक्षक चौधरी बताउँछन्। यसमध्ये ९० प्रतिशत विषादी तरकारीमा प्रयोग भइरहेको उनको भनाइ छ।
विषादीको प्रयोगले एकातिर किसानले नकारात्मक असर भोगिरहेका छन् भने अर्कातिर उनीहरूको उत्पादन लागत पनि बढेको छ। धेरैजसो किसानले भान्टामा निकै कडा खालको विषादी दादा गार्ड प्लस हाल्छन्। यसको २० मिलिलिटरको ४०० रुपैयाँ पर्छ। यतिले एक कट्ठा जमीनमा रोपिएको भान्टामा हाल्न पुग्छ। सातामा दुई पटक विषादी हाल्दा आम्दानीको ५० प्रतिशत रकम विषादीमै खर्च हुने किसानहरू बताउँछन्। “खेती गर्दा आम्दानीको आधा रकम त विषादीमै खर्च हुन्छ,” घुर्कौलीका चन्द्रकिशोर साह भन्छन्।
भान्टामा धेरै कीरा लाग्ने भएकाले यसको खेती गर्दा विषादीमा धेरै खर्च लाग्ने उनीहरूको भनाइ छ। अन्य तरकारीमा पनि आम्दानीको २५ प्रतिशत हाराहारी खर्च हुने किसान बताउँछन्।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६२ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३० हजार किलोभन्दा धेरै विषादी आयात भएको थियो। भन्सार छलेर ल्याइने र किसानहरू आफैंले ल्याउने विषादी यसमा समावेश छैन।
मधेश प्रदेशमा हुने विषादी आयात सम्बन्धी तथ्यांक कुनै निकायमा भेटिएन। प्रदेश र कृषि ज्ञान केन्द्रसँग समन्वयको कमी र जनशक्ति अभावका कारण तथ्यांक राख्न नसकिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल बताउँछन्।
विषादी प्रयोगको ‘बाध्यता’
तरकारीमा रोग-कीराको आक्रमण हुने र सोचे अनुसारको उब्जनी नहुने कारणले विषादी प्रयोग पछिल्लो समय बाध्यता जस्तै बनेको किसानहरू बताउँछन्। कीरा लागेर बिगारेको भान्टाको थुप्रो देखाउँदै घुर्कौलीका चन्द्रकिशोर साहले भने, “यसरी कीराले खाएर सखाप पार्छ, अनि विषादी नहालेर भयो त?”
घुर्कौलीका मुनिलाल साहले पनि पहिले जस्तो तरकारी नफल्ने र विषादी नहाले कीराले सक्ने भएकाले विषादी नहाली नहुने बताए।
उपभोक्ताले आकर्षक र सर्लक्क सप्रेको तरकारी खोज्ने भएकाले पनि विषादी हाल्नुपर्ने बाध्यता रहेको किसानहरूको भनाइ छ। विषादी नहाल्दा रोग-कीराले दाग लाग्ने, निकै सानो फल्ने भएकाले उपभोक्ताले नकिन्ने उनीहरू बताउँछन्। “मैले विषादी नहाली फलाएको भान्टामा कीरा लागेको र सानो छ भनेर बिक्री नभई फर्काउनुपर्यो। पछि विषादी हालेर ठूलो र राम्रो देखिने भान्टा लैजाँदा सबै बिक्री भयो,” साह भन्छन्।
रञ्जु गोले पनि धेरै फलाउन र तरकारी राम्रो देखाउन विषादी हाल्नुपरेको बताउँछिन्। “तरकारीको बोट नै कीराले काटिदिन्छ, त्यसैले रोप्ने बित्तिकै माटोमै विषादी छर्किनुपर्छ,” उनी भन्छिन्।
विषादी निरीक्षक चौधरी विभिन्न किसिमका कीरा र मुसाबाट बाली जोगाउन विषादीको प्रयोग जरूरी भएको स्विकार्दै बिस्तारै जैविक मलको प्रयोगलाई जोड दिएर विषादी कम गर्न सुझाव दिन्छन्।
कमजोर नियमन
प्रतिबन्धित विषादीको अवैध आयात र प्रयोग नियमन एवम् अनुगमन हुन नसक्दा तरकारी बालीको विषले किसानदेखि उपभोक्तासम्म पिल्सिँदै आएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल र तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरे पनि यस्तो मापदण्ड पालना भए/नभएको प्रभावकारी नियमन भइरहेको छैन। संघीय सरकारले सागपात, भान्टा, गोलभेंडा, खुर्सानी, काँक्रो, फर्सी, आलु, काउली, सुन्तला, स्याउ, चिया गरी ११ प्रकारका फलफूल, तरकारी र प्रशोधन गरिएको वनस्पतिजन्य उपजमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरी गत जेठ २५ गते राजपत्रमा प्रकाशन गरेको छ।
२०७४ सालमा तीन तहको निर्वाचन भएर संघीय राज्य प्रणाली कार्यान्वयनमा आएपछि विषादी नियमन संयन्त्र दरिलो हुनुको साटो झन् फितलो भयो। पहिले हरेक जिल्लामा एक जना विषादी निरीक्षक हुन्थे। विषादीको प्रयोग, व्यवस्थापन र अनुगमन लगायतको काम गर्दै आएका निरीक्षक अहिले मधेश प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना छन्। गण्डकी प्रदेशले भर्खरै मात्र तीन जना बाली संरक्षण अधिकृतलाई विषादी निरीक्षकको जिम्मेवारी पनि थपेको छ।
साविकको जिल्ला कृषि विकास कार्यालय परिणत गरेर बनाइएको कृषि ज्ञान केन्द्र ५२ जिल्लामा मात्र छन्। हरेक जिल्लामा कृषि ज्ञान केन्द्र र विषादी निरीक्षक नहुँदा विषादी नियमनमा समस्या भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी महेशचन्द्र आचार्य बताउँछन्। “विषादी नियमन कार्यको समन्वय हुन सकेको छैन,” उनी भन्छन्।
विषादी निरीक्षकको नियुक्ति गर्ने अधिकार प्रदेश सरकारलाई भए पनि नियुक्ति गरेको छैन। प्रदेश जीवनाशक विषादी ऐन नबनेकाले विषादी निरीक्षक राख्न जरूरी नठानेको पाइन्छ।
किसानहरू कृषि ज्ञान केन्द्रबाट खेतीपातीमा सहयोग नपाएको गुनासो गर्छन्। हरिवन नगरपालिका-५ का गणेश लामा भन्छन्, “पहिले जिल्ला कृषि विकास कार्यालय हुँदा खेती गर्ने तरीका, कुन विषादी कति हाल्ने भनेर सिकाइन्थ्यो। अहिलेको कृषि ज्ञान केन्द्र किसानबाट टाढै छ।”
संघमा जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ छ। प्रदेशहरूले पनि जीवनाशक विषादी ऐन बनाउनुपर्ने हो। तर अहिलेसम्म बनेको छैन। ऐन नबन्दा विषादीको नियन्त्रण र व्यवस्थापन भएको छैन।
मधेश प्रदेशमा भने यस्तो ऐन बन्ने प्रक्रियामा रहेको प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे बताउँछन्। “विषादी व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको छ र प्रदेश सभामा लैजाने अन्तिम चरणमा छौं। विधेयक पारित भएर प्रमाणीकरण भएपछि ऐन लागू हुन्छ,” उनी भन्छन्।
प्रदेशको विषादी व्यवस्थापन ऐन बन्न ढिलाइ हुँदा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले संघ र प्रदेशको दोहोरो जिम्मेवारी सम्हाल्न कठिन भएको केन्द्रका सूचना अधिकारी आचार्य बताउँछन्। “विषादी निरीक्षकको नियुक्ति गर्ने, विषादी बेच्ने खुद्रा विक्रेतालाई तालीम दिने, एग्रोभेट खोल्न इजाजतपत्र दिनेदेखि नवीकरण गर्ने र खारेज गर्ने लगायतको काम प्रदेश मातहतको हो तर ऐन नबनेकाले अहिले यी काम संघले नै गर्नुपरेको छ,” उनी भन्छन्।
प्रदेशहरूमा विषादी सम्बन्धी लगत समेत राखिएको छैन। कति विषादी भित्रिन्छ वा कति विषादीको कारोबार हुन्छ भन्ने प्रदेशगत र जिल्लागत तथ्यांक भेटिंदैन।
पर्याप्त जनशक्ति नभएकाले विषादी नियमन र लगत राख्ने काम गर्न नसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, सर्लाहीका बाली संरक्षण अधिकृत सुरेशकुमार साह बताउँछन्। “हामीकहाँ सात जनाको दरबन्दी छ तर प्राविधिकतर्फ म एक्लै छु,” उनी भन्छन्, “खुला सीमाका कारण प्रतिबन्धित र अन्य विषादी भारतबाट सजिलै भित्रिन्छन्। त्यसको तथ्यांक हामीसँग हुँदैन।”
म्याद नाघेको विषादी अर्को समस्या हो। कानून अनुसार म्याद गुज्रेका विषादी राख्न हरेक प्रदेशमा सरकारले भण्डारगृह बनाउनुपर्छ। तर त्यस्तो भण्डारगृह कुनै पनि प्रदेशमा छैन।
विषादी व्यवसायी संघका महासचिव रामचन्द्र कार्कीका अनुसार भारतबाट ल्याएका म्याद नाघेका, चुहिएका र ल्याइसकेपछि प्रतिबन्ध लगाइएका विषादी फिर्ता लैजान कम्पनीहरू तयार रहे पनि आयात भइसकेको सामान फर्काउन नपाइने भन्सारको कानूनी व्यवस्थाले समस्या पारेको छ। “कानूनी जटिलताका कारण म्याद नाघेका र चुहिएका विषादी फिर्ता पठाउन सकिएको छैन,” उनी भन्छन्।