दूरदराज चहार्ने दिव्या
साहसिक पर्यटनमा स्नातकोत्तर दिव्या ढकालले योजनाबद्ध रूपमा दूरदराजका गाउँ चहार्दै समुदायका कथा, संस्कृति र जीवनशैली उजागर गर्दै आएकी छन्।
कतिपय कन्टेन्ट क्रिएटर यूट्यूबमा लामा भ्लगहरू हाल्न रुचाउँछन् भने कतिपय इन्स्टाग्राम र टिकटकमा छोटा सामग्री हाल्ने गर्छन्।
हिमालबाट उदाउँदै गरेको सूर्यसँगै पोखराकी दिव्या ढकालको दिन शुरू हुन्छ। साहसिक पर्यटनमा स्नातकोत्तर २७ वर्षीया ढकाल हस्पिटालिटी क्षेत्रमा काम गर्छिन्। फुर्सद हुनासाथ यात्रामा निस्किन्छिन् अनि कन्टेन्ट बनाउँछिन्।
“डाँडाकाँडाको बीचमा हुर्किएकी हुँदा यात्रा र खोजमा निस्कनु स्वाभाविकै हो,” दिव्या भन्छिन्। सन् २०१५ मा पुनहिलमा पहिलो पटक पदयात्रामा निस्किएकी उनी सन् २०१९ मा रारा ताल पुगेकी थिइन्।
स्वच्छन्दचारी कन्टेन्ट क्रिएटरभन्दा दिव्या भिन्नै छिन्। उनी सावधानीपूर्वक आफ्नो यात्रा योजना बनाउँछिन्, ठाउँ र समुदायबारे पहिल्यै अनुसन्धान गर्छिन्।
इन्स्टाग्राममा छोटा क्लिप राखेर अक्षर सहितका भिडिओ मार्फत वर्णनात्मक यात्रावृत्तान्त सुनाउँछिन्।
“मेरा लागि इन्स्टाग्राम अलि सहज हुन्छ किनकि यसमा त्यति समय खर्चिनु पर्दैन। जबकि यूट्यूबमा धेरै मेहनत र लगन चाहिन्छ,” इन्स्टाग्राममा ३२ हजार फलोअर्स भएकी दिव्या बताउँछिन्।
दिव्यालाई लाग्छ, पूर्णकालीन ट्राभल भ्लगर बन्नुअघि अर्थोपार्जनको स्रोत सुनिश्चित हुन आवश्यक छ। किनकि कन्टेन्टबाट उति धेरै कमाइ हुँदैन।
यात्रा गर्ने र भ्लग बनाउने अधिकांश महिलाका अभिभावक उनीहरूको सुरक्षालाई लिएर चिन्तित हुन्छन्। तर आफू यस क्षेत्रमा स्थापित भइसकेकाले चिन्ता कम भइसकेको दिव्या बताउँछिन्।
सन् २०२२ मा दिव्या जंगली फूलले ढकमक्क ढोरपाटन पुगेकी थिइन्। त्यहाँ फिरन्ते गोठालासँग गोठमा वास बसेको उनी सम्झिन्छिन्। यो उनको अर्थपूर्ण यात्रा थियो।
“विशेषगरी पश्चिम नेपालका दूरदराजका समुदायको कथा, संस्कृति र जीवनशैली देशका अन्य भागको भन्दा बिल्कुलै फरक छ,” उनी थप्छिन्।
(नेपाली टाइम्सबाट गरिएको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
यो पनि पढ्नुहोस् :