प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहज रूपमा सञ्चालन गर्ने लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर कांग्रेसले संसद्मा विरोध गर्दै आएको छ। गृहमन्त्री लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना गरेको आरोप लागेको छ। लामिछानेको नियुक्तिले सहकारीको हिनामिना छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ।
त्यस्तै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लामो समयदेखि संसद्मा अड्किएको छ। त्यसलाई टुंगोमा पुर्याउने विषयमा पनि छलफल भएको जनाइएको छ।