मुगुमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०२-००१ ज ००५९ नम्बरको बोलेरो सोरु-६, कक्छेगाउँ नजिक रहेको चारमोड भन्ने ठाउँमा दुर्घटना भएको हो। सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। थापाका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला छन्।
घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली छन्। घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको थापाले बताए। घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याउन लागिएको उनले बताए।