दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
शरणार्थी बनेर नेपाल आएपछिको ३० वर्षमा पदमलाल दम्पती जोखिम मोलेरै दुई पटक ग्वाँग खोला पुगे। उति वेला दुःखजिलो गरेर बसाएको खेतबारी अब जंगल भइसकेछ।
भूटानको सर्वाङ जिल्ला, ललाई ब्लक। ग्वाँग खोलाको आडैमा जन्मे-हुर्किए पदमलाल तिमिल्सिना। तीन दशकयता पूर्वी नेपालको दमक, बेलडाँगीस्थित शरणार्थी शिविरमा बसिरहेका ८८ वर्षीय पदमलाल आफ्नो सास बिसाउनै भए पनि ललाई फर्कन चाहन्छन्। जहान ८२ वर्षीया धनमायाको चाहना पनि उही छ- आफ्नो अन्तिम संस्कार ग्वाँग खोलाकै आडमा होस्।
उवेला कतिले कुरो बुझेर त कतिले नबुझीकनै होहोरीका भरमा गाउँ छाड्न थालेपछि पदमलाल पनि बाटो लागेका थिए। सन् १९९२ को शुरूआतमा तीन ससाना छोरा, बूढी भएकी आमा सहित भूटानको ऐन, अंशबन्डा अधिनियम, रसदपानी-बिल, खरखजाना रसिदले भरिएको ट्याङ्का बोकेर नेपाल पसेका थिए। एक्लो परिवार बसून् पनि कसरी? घरआँगनबाटै दिनमा ४० वटासम्म गाडीले गाउँले ओसारिरहेका थिए। गाउँतिर कुकुर भुक्न र धिप्री बल्न समेत छाडेको थियो। घर छाड्दा पदमलालको गोठमा खचाखच बस्तु थिए। ती त्यहींका डुक्पालाई कागज गरेर सुम्पिदिए।
“रातैराता, लामा सिङ गरेका मिथुन गाई नै १९ वटा थिए, अरुणाचलतिरबाट ल्याएका। अझै पनि कहिलेकाहीं खबर आउँछ- म त बाहुनको गोठालो मात्रै हुँ भन्छ रे डुक्पा,” पदमलाल भन्छन्।
बेलडाँगीका शरणार्थी शिविरमा बस्ने हरेकसँग आआफ्नै कथा छन्। कथाभित्र व्यथा पनि उत्तिकै छन्। एउटा युग बराबरकै जोवन बाँचिरहेका पदमलाल-धनमायासँग कथाहरू खातका खात छन्। यो जोडीका चार भाइ छोरा थिए। जेठो पशुपति पुनर्वास योजनामा अमेरिका पुगेको पाँच वर्ष भइसक्यो। माइला सानै छँदा भूटानमै बितेका रहेछन्।
शिविरमै बस्दै आएका साइँला शिवराम आफन्त भेट्ने लहडमा २० वर्षअघि गेलेफु पसेका रहेछन्। तर उनी अझै फिरेका छैनन्। कुनै पत्तोपत्तो छैन। छोरा र पत्नी भने अमेरिका पुगिसके।
पदमलाल दम्पतीसँग अहिले कान्छा छोरा होमप्रसाद छन्। शिविर बाहिरकी रुकुमेली केटी बिहा गरेका उनी कागजी प्रक्रियाले जेलिएर यहीं रोकिएका रहेछन्।
महीनादिनअघि पदमलाल श्रीलंकाबाट शिविर भ्रमणमा आएका साउथएशियन फर ह्युमन राइट्सका पदाधिकारीलाई भेट्न हतारिंदै थिए। “मेरो बेपत्ता छोराबारे कसैले थिम्पुतिर कुरा पुर्याइदिन्छ कि भनेर यहाँ मानव अधिकारका सदस्यलाई भेट्न आएको हुँ,” उनी भन्दै थिए, “चार चौरास खोजिसक्यौं, गेलेफुतिर पनि खबर गर्यौं। केही खुटपत्तो लागेन।”
त्यसपछि पदमलालले कोटको भित्री खल्तीबाट शिवरामको पासपोर्ट साइजको श्यामश्वेत तस्वीर निकालेर देखाए।
होहोरीले पलायन
भारत, आसामको सिरांग जिल्ला (पहिलेको कोक्राझार) हुँदै गेलेफु छिर्न सकिन्छ। सिरांगको सीमाबाट डेढ किलोमिटरमा तक्लाई र ग्वाँग खोला भेटिन्छ। त्यहीं थियो, पदमलालको गोठ र सानो मताने घर।
“हामी र हाम्रा सन्तान त्यही गोठमा हुर्कियौं। ३५ वटासम्म दुहुना गाईभैंसी हुन्थे। यता आउने वेलामा ८६ वटा गाईबस्तु थिए,” धनमायाले सुनाइन्, “हामी त जुलूसमा पनि थिएनौं। तैपनि अनाहकमा रातमास आर्मी आउँथ्यो, घर खानतलासी गर्थ्यो। आतंकवादी खोजेको भन्दै दलान-बुइँगल खोतल्थ्यो। त्यही हैरानीले पनि गाउँघर छाडेका हौं।”
पदमलालका अनुसार खानतलासीमा आउने प्रहरी चिनजानकै थिए। ती भन्थे, “तिमरु हाम्रो कुरा सुन। नागरिक भनेको एक देशको मात्रै हुन्छ। तिमरु भूटानको नागरिक हो भने आर्को देश भारत र नेपालको कुरा नगर है। अरूले बिगार्छ है तिमेरलाई। नारा, जुलूसमा नजाओ। यताउता गरेको थाहा भयो भने छाड्दिनौं नि फेरि।”
यी दम्पती अझै उतैको सपना देखिरहन्छन्। “गोठ बसेको देख्छु। खेतबारी, नजीकको पँधेरो देख्छु। आँप बगान र खमारीका बिरुवा सपनामा आउँछन्,” पदमलाल भावुक हुँदै सुनाउँछन्।
गोठको तिर्सना मेट्न उनीहरूले अहिले पनि शिविर छेवैको छाप्रोमा एउटा दुहुनो गाई पालेका छन्। दिनको १०० रुपैयाँ तिरे एक भारी घाँस ल्याइदिने सहयोगी भेटिन्छन्, शिविरमा। आफ्नो माटोबाटोको तिर्सना कतिसम्म रहेछ भने पदमलाल र धनमाया शरणार्थी बनेर शिविर आएपछि पनि दुई पटक ग्वाँग खोला पुगेका रहेछन्, ‘किरासिन’ लिने सिरांगको त्यही पुरानो बाटो पहिल्याउँदै।
खमारीको बाटो, आँपघारी र मासिंदै गएका अलैंचीका बुटाबुटी हेरेर गह्रौं मन सम्हाल्दै उनीहरू फेरि शिविर फर्किए। “त्यो दुःख-इलमले बसालेको खेतबारी पछि जाँदा जंगलामुलुक झैं भएछ, साह्रै मन रोयो। अति माया लाग्छ त्यो माटोको,” पदमलाल विस्मात मान्छन्।
पदमलालका हजुरबा पाँचथर, पौवासारतापबाट कामको खोजीमा भारत हुँदै भूटान पुगेका रहेछन्। बाबुको जन्म, कर्म, मृत्यु गेलेफुमै भएको रहेछ। गाउँघरमा चल्तापूर्जा र हिसाबकिताब राख्न सिपालु भएकाले पदमलाललाई गेलेफुमा धेरैले ‘सानो कारबारी’ भन्ने रहेछन्। घरमै पसल थापेको, उधारो-ऐंचोपैंचो चल्ने हिसाबमा ‘कारबारी तिम्सिनो’ भनेर पनि चिनिँंदा रहेछन्। डुक्पाबाट अढाई लाख रुपैयाँ जतिको उधारो उठाउन बाँकी रहेछ अझै पनि ।
“पुरानो रसले होला, यता आईकन फेरि आसाम गएर आठ वर्ष गोठ पालें, यता आउने वेला पाँच हल गोरु र १०० जति गाई थिए, ती सबै जेथा त्यहीं भानिजलाई दिएँ,” पदमलाल सुनाउँछन्।
यता आउँदा अमेरिका जाने पालो आइसकेको थियो तर उनी जान चाहेनन्। भन्छन्, “भूटानतिर गएको साइँलो छोरो पनि नफिरेको धेरै भएको थियो, त्यसलाई पर्खेर बस्न पनि शिविर छाड्नै मिलेन।”
बूढी आमाले ९४ वर्षको उमेरमा केही वर्षअघि शिविरमै सास छाडिसकेकी छन्।
आफ्नै गाईगोठ, चियाबगान र खेतखलियानमा रमाइरहेका पदमलाललाई गेलेफु (भूटान) र कोक्राझार (भारत) बाहेकको देशदुनियाँ थाहा थिएन। एक पटक राजधानी थिम्पुसम्म पुगेका रहेछन्। त्यो पनि आफ्नै डुङ्खाक बस्तीको तामाङ आफन्ती जेल परेकाले उसलाई उकास्न ३५ सय रुपैयाँ बुझाउनुपर्ने भएर। डडीमाखा प्रहरी चौकी हुँदै हाइकोर्टमा हर्जाना बुझाई आफन्तलाई छुटाएर ल्याएका रहेछन् उति वेला।
“मैले २५ वर्षको उमेरमा बिहा गरेको थिएँ, त्यो पनि जारी तिरेर ल्याएको हुँ,” पत्नी धनमायातिर हेर्दै पदमलाल सुनाउँछन्, “मलाई चर्को रेट परेछ, अफिसरकी बूढीलाई जारी तिर्दा त्यही वेला ५०० रुपैयाँको थैली बुझाएको थिएँ।”
झन्डै नौ दशकको भोगाइमा पदमलालसँग यस्ता किस्सा कति छन् कति! शिविरमा अहिले पनि ललाई ब्लकका उवेलाका ‘मण्डल कारबारी’ सन्तवीर घलेकै छिमेकमा छन् उनी। दुवैलाई अमेरिका बस्ने छोराले उतै बोलाएर हैरान पारेका छन्। “खोइ, यी मण्डल त जान्छन् कि जस्तो छ अमेरिका। म भने बाहिर कतै नजानलाई यता बसेको हुँ। अन्तिम सास रहिन्जेल साइँलो छोराको बाटो पर्खिन्छु, बरु सास बिसाउन गेलेफु नै फर्कौंंला भन्ने छ,” पदमलालले निचोड सुनाए।
मण्डल सन्तवीर घले
डुंखाक बस्तीमा ७०० भन्दा बढी घर थिए। त्यो बस्तीका घरपरिवारका कागजी, तिरो वा अरू प्रशासनिक कामका निम्ति सरकारले तोकेका ‘मण्डल’ थिए- सन्तवीर घले।
“दिनहुँ गाउँघर रित्तिंदै गयो, आर्मी-पुलिसले पनि नचाहिंदो कुरामा हैरानी बढायो,” ७६ वर्षीय घले सुनाउँछन्, “त्यही भएर म पनि एक रात गाउँ छाडेर निस्किएँ। अब आएर मलाई मण्डल भनेर बोलाउँदा पनि लाज हुन्छ।”
सन्तवीरका पनि तीन छोरी र एक छोरा अमेरिका पुगिसकेका छन्। उनी चाहिँ केही वर्षअघिसम्म आफ्नै माटोमा फर्कने अडानमा थिए। तर बुढ्यौलीले शारीरिक अवस्था खस्कँदै गएपछि अहिले छोराछोरीसँगै जाने तयारीमा रहेछन्।
सन्तवीरका अनुसार भूटानको नियममा कुनै घरको सदस्य १० वर्ष देश बाहिर गयो र सम्पर्कमा आएन भने त्यसलाई सम्पत्ति/अंश समेत दिइन्न। “हामी पनि त्यस्तै हो अब, अधिकारले पनि केही नपाइने ठाउँमा छौं। उताको जमीन र जायजेथाको कर नतिरेको ३४ वर्ष भइसक्यो,” उनी भन्छन्, “अब भूटानै पुगेर मर्छु भन्नु मनको लड्डु घ्यूसँग खाने जस्तो मात्रै हो।”
बेपत्ता लोकनाथ!
पुनर्वासका निम्ति सपरिवार अमेरिका जाने तयारीमा रहेका ५१ वर्षीय लोकनाथ आचार्य बेलाडाँगीको शिविरबाट बेपत्ता भएको १० वर्ष पुग्नै लागेको छ। भारतको सिलिगुडीमा मानव अधिकार सम्बन्धी एक कार्यक्रममा सहभागी हुन गएका वेला २०७१ असोज ३० मा मालबजारबाट सादा पोशाकका प्रहरीले पक्राउ गरेका उनलाई भूटानको साम्ची सैन्य क्याम्प लगिएको थियो।
त्यसपछि भूटानमै सैन्य कारागार रबुनामा थुनामा राखिएको भनिए पनि परिवारले स्पष्ट प्रमाण पाएको छैन। अहिले परिवार नै क्यानडा गइसकेको छ।
“हामीले पनि सुनेको मात्र हो, शिविरमा दर्तावाल शरणार्थी रहेका लोकनाथको खोजीनिती गर्न विभिन्न संस्था लागिपरेको थाहा पाएका थियौं,” बेलडाँगी शिविरका सचिव सन्चहाङ सुब्बा भन्छन्, “तर लोकनाथजीको खुटखबर थाहा नपाईकनै परिवार पुनर्वासमा तेस्रो मुलुक गइसकेको छ। शिविरमा खोजी हिंड्ने हो भने यस्ता बेपत्ता नागरिकको संख्या निकै हुन सक्छ।”
भूटानी शरणार्थी शिविरको दर्ता र जनगणना दुवै अभिलेखमा रहेका लोकनाथ अधिकारवादी संस्था ह्युमन राइट्स अर्गनाइजेशन अफ भूटान (हुरोब) सम्बद्ध थिए। उनलाई बेपत्ता पारिएको बारेको उजुरी सिलिगुडीकै प्रधाननगरस्थित प्रहरी कार्यालयमा दर्ता गरिए पनि कुनै तहबाट खोजी भएन।
खोजबिन नभएकै कारणले लोकनाथको स्थिति थाहा हुन नसकेको पदमलाललाई लाग्छ। शिवरामको हकमा यस्तो कमी नहोस् भनेरै उनी मौका पर्नासाथ छोरा बेपत्ता रहेको सूचना दिन खटिइहाल्छन्। “थिम्पुसम्मै जानकारी दिन सके केही खुटपत्तो पाइन्थ्यो कि?” पदमलालले आशामुखी बनेर सुनाए।