सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तारूढ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
टीकापुरमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले संघ र प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्। “केन्द्रीय समितिका बहुमत सदस्यले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन्,” अध्यक्ष श्रेष्ठले हिमालखबरलाई भनिन्।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा १२ जना केन्द्रीय सदस्य उपस्थित थिए। नाउपाको २१ सदस्यीय केन्द्रीय समिति छ।
अध्यक्ष श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन दिएपछि नाउपामा मतभेद देखिएको थियो। नाउपा संरक्षक रेशम चौधरी पक्षले विरोध जनाएको थियो। चौधरी पक्षले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकालाई समर्थन गरिरहेको छ।
आज बसेको केन्द्रीय समितिले भने सुदूरपश्चिममा पनि एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत लिन सकस हुने देखिन्छ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सात सांसद छन्। सुदूरपश्चिममा नाउपा निर्णायक रहेको छ।
सात सांसदमध्ये पाँच सांसद मन्त्री छन्। उनीहरू रेशम पक्षका हुन्। दुई सांसद अध्यक्ष श्रेष्ठको पक्षका भने सरकारमा जान नहुने अडानमा छन्।