दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति दिइएकाे छैन : गृहसचिव
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति नभएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव अर्यालले प्रसाईंका सुरक्षा गार्डलाई घरको कम्पाउन्डभन्दा बाहिर हतियार बोक्ने अनुमति नभएको स्पष्ट पारेका हुन्। प्रसाईंका सुरक्षा गार्ड अर्धस्वचालित हतियार सहित चैत ५ गते सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।
बुधबार सुशासन समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै गृहसचिव अर्यालले त्यो घटनालाई गम्भीर रूपमा लिइएको बताए। “यो गम्भीर कुरा हो,” उनले भने “राजधानीमा त्यस्तो घटना हुनु राम्रो होइन।”
सर्वोच्च अदालत परिसरबाट उनीहरू पक्राउ परेपछि गृह मन्त्रालयले सोधखोज गरेको उनको भनाइ थियो। “झापा जिल्ला प्रशासन कार्यालयबाट नवीकरण भएको रहेछ,” गृहसचिव अर्यालले भने, “तर नवीकरण एउटा ढंगले भएको छ, इस्यू चाहिं अर्को ढंगले भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।”
अर्धस्वचालित तथा स्वचालित हतियार घर बाहिर बोक्न अनुमति नभएको उनले बताए। “त्यो हतियार आफ्नो घर कम्पाउन्ड बाहिर निकाल्न पाइँदैन। कुनै कानूनले अनुमति दिंदैन,” गृहसचिव अर्यालले भने, “व्यक्तिको सुरक्षाका लागि आधुनिक हतियार बोक्न पाइँदैन।”
यसमा गृह मन्त्रालयले अनुसन्धान टोली नै गठन गर्ने उनको भनाइ थियो। सर्वोच्च अदालतले पनि यस विषयमा बोलेकाले गम्भीर भएर अनुसन्धान गर्ने र हतियार राख्ने मापदण्डबारे छलफल गरिने उनले बताए।