भरतपुर भ्रमण गर्ने पर्यटकले बाघ हेर्न पाउने
भरतपुर भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकले अब सजिलै बाघ हेर्न पाउने भएका छन्।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२४ लाई ध्यानमा राखेर वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरेको छ। महानगरपालिका–६, देवनगरमा बुधबार उद्घाटन गरिएको केन्द्रमा एउटा बाघ पनि राखिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा रहेको बाघलाई केन्द्रमा राखिएको भरतपुरकी मेयर रेनु दाहालले बताइन्। स्थानीय बासिन्दालाई आक्रमण गर्ने दुई वटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिएको छ। दुवै बाघलाई वन्यजन्तु उद्धार केन्द्रमा राखेर सर्वसाधारणले अवलोकन गर्ने व्यवस्था गरिएको मेयर दाहालले बताइन्।
त्यस्तै, महानगरले अर्को गन्तव्यका रूपमा दियालो बंगलालाई प्रस्तुत गरेको छ। गत सातादेखि दियालो बंगला सञ्चालनको जिम्मेवारी महानगरले पाएको छ।
नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए। “बाघ हेर्न आउने पर्यटक बढ्नेछन्,” अधिकारीले भने।
निकुञ्जले बाँकेबाट २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र २०७७ असोज १२ गते भरतपुर–१३ को बेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ केन्द्रमा ल्याइएको छ। बाँकेबाट ल्याउँदा बाघ ६ वर्षको थियो भने बेलशहर ११ वर्षको थियो।
अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा छन्। नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज चितवन नै हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वयस्क बाघ छन्।
देशभर ३५८ बाघ रहेको तथ्यांक छ। चितवनपछि धेरै बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा छन्। बर्दियामा १२५ वयस्क बाघ देखिएका थिए।