माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ भने यस वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ।
यस वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। यसको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन्। बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।
यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। जसमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन्।
परीक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक-एक, पर्सा र सप्तरीबाट दुई-दुई तथा रुपन्देहीबाट चार जना सहभागी छन्।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
त्यस्तै, यस वर्ष जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। जापानमा रहेको एभरेस्ट स्कूलको एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र सहभागी हुनेछ।
जापानको परीक्षा केन्द्रको अनुगमन जापानस्थित नेपाली दूतावासले गर्ने भएको छ। जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। हुलाक मार्फत उत्तरपुस्तिका पठाइएको जापानमा परीक्षा शुरू हुनुअघि इमेल मार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।
बोर्डका अनुसार एसईईका लागि प्रत्यक्ष रूपमा ७७ हजार ४८५ जना परिचालन हुने भएका छन्। प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्।
त्यस्तै, १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ निरीक्षक खटाइएको बोर्डले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन। यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई परीक्षाको नतीजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ।
परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।