सुनकोशीमा बगेका दुई बालबालिका मृत भेटिए
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका त्रियुगा नगरपालिका-१४, साउनेका तीन बालबालिकामध्ये दुई जना मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुंगामा बुधबार बिहान १२ वर्षीया रेखा मगरको शव फेला परेको हो। बिहान माछा मार्न गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
रेखाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए। मंगलबार मात्रै आठ वर्षीय रिदम मगरको शव घटनास्थलदेखि एक हजार ४०० मिटर तल घिर्लिङमा फेला परेको थियो।
तीन दिनअघि त्रिनपा-१४, साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र आठ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा बगेका थिए। स्थानीय बासिन्दासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजबिनमा जुटेको छ।
अर्का, बालक लोकबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ।