उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ ‘क’ मा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए। सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको माओवादीले दुवै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरे पनि टिकटको टुंगो भने लगाउन बाँकी नै छ।
२०७९ सालमा इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ-१ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको थियो। रिक्त रहेको पदका लागि आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।
माओवादी कोशी प्रदेश कमिटीले उम्मेदवारका लागि चार जनाको नाम सिफारिश गरिसकेको छ। चैत १३ गते बसेको प्रदेश कमिटी बैठकले धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिश गरेको छ।
त्यस्तै, इलाममा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सत्तारूढ गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कोशी प्रदेशको पुनः नामकरणको माग गरी आन्दोलनरत पक्षले डकेन्द्र थेगिम लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसको प्रदेश कार्यसमितिले सात जनाको नाम सिफारिश गरेको छ। नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उम्मेदवार उठाउने गृहकार्यमा छन्।