जान्नेबुझ्नेले नै लगाउँछन् वनमा डढेलो
वसन्त यामको शुरूआतमै सल्किएको डढेलो प्रिमनसुनको पानीले निभ्दा राहत मिले पनि जानीबुझी आगो लगाउनेलाई कारबाही र सतर्कता नअपनाउने हो भने ग्रीष्म याम झन् जोखिमपूर्ण हुने निश्चित छ।
वसन्त यामको शुरूआतसँगै गण्डकी प्रदेशका वनजंगलमा डढेलो सल्किन पनि शुरू भएको छ। चैत १ मै लमजुङको बेंसीशहर-६ स्थित जंगलमा ङढेलो लाग्यो। त्यसको भोलि पल्ट पर्वत अनि गोर्खा र तनहुँका वनमा पनि डढेलो सल्कियो।
म्याग्दी, नवलपुर, कास्की हुँदै बाग्लुङका जंगलमा पनि डढेलो फैलियो। हेर्दाहेर्दै चैत पहिलो सातामै मनाङ र मुस्ताङ बाहेक गण्डकीका सबै जिल्लालाई डढेलोको लप्काले छोप्यो। एक सातामै २० वटा वनमा डढेलो लाग्यो।
धन्न, प्रिमनसुन सक्रिय हुँदा देशका विभिन्न स्थानसँगै गण्डकीमा पनि वर्षा भयो र डढेलोबाट राहत मिलेको छ। तर अझै डढेलो रोकिएको छैन। कतै पानी परिरहेको छ भने कतै डढेलो सल्किरहेकै छ। जस्तो- पोखरामा चैत ९ मा सिमसिम पानी परिरहँदा छेउकै लेखनाथ नगरपालिका-१३ को वनमा भने डढेलो लागिरहेको थियो।
चैत १२ मै पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहँदा पश्चिम तराईको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले विनाश गरिरहेको थियो। निकुञ्जको टोली र सुरक्षाकर्मीले मुश्किलले डढेलो नियन्त्रणमा लिए। त्यस्तै, चैत १३ मा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा डेढेलो लाग्यो।
यो हिउँदमा पानी परेन। जसले गर्दा वनजंगल सुक्खा बनेका छन्। लामो समयसम्म खडेरी हुँदा वनजंगलमा आगलागीको जोखिम हुन्छ नै। तर नेपालमा मानवीय कारणले वनजंगलमा डढेलो सल्किने गरेको छ। डढेलो लागेको ठाउँमा घाँस राम्रो पलाउँछ भनेर विशेषतः कृषक, गोठालाले खेतबारीमा आगो लगाउने गरेका छन्। त्यही आगो अनियन्त्रित हुँदै वनमा पुग्ने गरेको छ।
जस्तो- बस्तीसँगै जोडिएको पोखरा-११, काँहुडाँडाको वनमा चैत ५ मा डढेलो लाग्यो। पर्यटकीय गन्तव्यका रूपमा परिचित काँहुडाँडमा लागेको डढेलो बस्तीतिर आउन नदिन स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी खटिए। भोलि पल्ट दिउँसोसम्म नियन्त्रणमा आउँदासम्म १५० रोपनी वन क्षेत्रमा क्षति पुगिसकेको थियो।
काहुँडाँडा, आर्वा लगायत कास्कीका २३ स्थानका वनजंगलमा यस वर्षको हिउँदमा डढेलो लाग्यो। गण्डकी प्रदेशका १४७ स्थानमा यस वर्ष लागेको डढेलाले एक हजार २१७.५ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ बाहेक १० जिल्लाका वनजंगलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ।
वन निर्देशनालयका अनुसार डढेलोले सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा ३८२ हेक्टर वन विनास गरेको छ। त्यस्तै, कास्कीका २३ स्थानमा ३५९ हेक्टर, स्याङ्जाका ३२ स्थानमा २८८ हेक्टर, पर्वतका तीन स्थानमा ५० हेक्टर, बाग्लुङका आठ स्थानमा ४२.५ हेक्टर र गोरखाको ११ स्थानमा ३४.८ हेक्टर वनजंगलमा क्षति पुगेको छ। यसैगरी, लमजुङका १६ स्थानमा २१.५ हेक्टर, नवलपुरका पाँच स्थानमा ३०.२५ हेक्टर, तनहुँका दुई स्थानमा सात हेक्टरमा र मनाङको एक स्थानमा दुई हेक्टर वनजंगल डढेलोको चपेटामा परेका छन्। म्याग्दीमा त डढेलोका कारण एक जना घाइते पनि भएका छन्।
पछिल्लो एक महीनामा मात्रै गण्डकी प्रदेशका ३० स्थानमा डढेलोले क्षति पुगेको छ भने देशभर ४५२ स्थानमा। जसमध्ये चैतमा मात्रै ३३६ स्थानमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। चैतको दुई सातामा मात्रै कोशीका १४३, मधेशका ६४, बागमतीका ७४, गण्डकीका २२, लुम्बिनीका पाँच, कर्णालीका सात र सुदूरपश्चिमका २१ स्थानमा डढेलो लागेको छ।
किन लाग्छ यति धेरै डढेलो?
राम्रो घाँस पलाउने आशमा कतिले जानाजान नै त कतिले अन्जानवश वनमा आगो लगाउने गरेका छन्। वनमा आगो लगाउनु हुन्न भन्ने थाहा भएकै व्यक्तिहरूले नै डढेलो लगाउने गरेको गण्डकीका प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ बताउँछन्। “खरबारीमा चितुवा आउँछ भनेर पनि डढेलो लगाउने गरेको भेटिन्छ, अहिले त चितुवा आयो भनेर आगो लगाएका छन्,” श्रेष्ठ भन्छन्, “जानाजान नै आगो लगाउँछन्।”
हावाहुरीको समयमा सानो आगोको झिल्काले वनमा डढेलो सल्कन सक्छ। फागुन र चैतमा हावाहुरी चल्दा, हिउँदे वर्षा ढिला हुँदा, भिरालो भूबनोटका कारण वनमा लागेको आगो नियन्त्रण गर्न सजिलो नहुने श्रेष्ठ बताउँछन्।
यसरी जानाजान वनजंगल विनाश हुने गरी आगो लगाउँदा पनि कसैलाई कारबाही भने हुँदैन। जसले गर्दा वनजंगलमा आगो लगाउने क्रम घट्न नसकेको वनकर्मी बताउँछन्। आगो लगाउँदा केही हुँदैन भन्ने मनोविज्ञानले हेलचेक्र्याइँ गरेर कतिपयले वनमा डढेलो सल्काउने गरेको वन निर्देशक श्रेष्ठको भनाइ छ।
वनजंगलमा डढेलोका घटना नियन्त्रण गर्न वडा कार्यालय, डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतलाई सतर्कता अपनाउन सचेत गराइएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउँछन्। यससँगै डढेलोका घटनाबारे अनुसन्धान गर्न र घटना निम्त्याउनेलाई कारबाही गर्न पनि प्रहरी र वन कार्यालयलाई निर्देशन दिइएको घिमिरे बताउँछन्।
वनमा आगलागी हुने कार्य गरेमा वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) मा सजायको व्यवस्था गरिएको छ। जसमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। तर वन डढेलोका घटनामा कारबाही हुने गरेको छैन।
किन कारबाही हुँदैन?
अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरू कसले आगो लगाएको भन्ने नखुल्ने गरेकाले समस्या हुने गरेको बताउँछन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धर भन्छन्, “कास्कीका वनमा भएका आगलागीबारे अनुसन्धान त भएका छन् तर कसले आगो लगाएको पत्ता लागेको छैन।”
प्रदेश वन निर्देशक श्रेष्ठको पनि यस्तै अनुभव छ। कसले आगो लगाएको हो भन्ने थाहा नै नहुने, थाहा भए पनि सामुदायिक वनका पदाधिकारी तथा गाउँलेले नाम नखुलाउने गरेका कारण कारबाहीको दायरामा ल्याउन नसकिने गरेको श्रेष्ठ बताउँछन्। “वनमा आगलागी हुन नदिन व्यक्ति र समुदायकोे महत्त्वपूर्ण जिम्मेवारी हुन्छ,” श्रेष्ठ भन्छन्, “आगो लगाउने व्यक्तिका विषयमा पनि कसैले बताउँदैन।”
वन्यजन्तुसँगै जनजीवनमा असर
डढेलोले वनजंगल मात्रै नष्ट गर्दैन, वन्यजन्तु पनि नासिन्छन्। एकातिर चराचुरुंगीको वासस्थान खरानी हुन्छ भने अर्कातिर डढेलोमा परेर वन्यजन्तु मर्ने पनि गरेका छन्।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे वनमा लागेको डढेलोका कारण वन्यजन्तु तथा पन्छीको जीवनचक्रमै असर पर्ने गरेको बताउँछन्। “यो चराहरूको बच्चा कोरल्ने समय हो,” घिमिरे भन्छन्, “वन डढेलोले पन्छीको वासस्थान नै नष्ट हुने अवस्था आउँछ।”
डढेलोले पर्यावरणमा पनि प्रत्यक्ष असर पर्छ। अझ कास्की र आसपासका क्षेत्रमा डढेलो लाग्दा त पर्यटन क्षेत्र नै प्रभावित हुन्छ। जस्तो- यस पटक कास्कीसँगै आसपासका जिल्लामा लागेको डढेलोले पोखरामा एक सातादेखि बाक्लो तुवाँलो लागेको छ। तुवाँलो कारण हवाई सेवा प्रभावित बनेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान तथा अवतरणमा समस्या भएको छ।
त्यस्तै, तुवाँलोले हिमशृंखला पनि छेकिएका छन्। पोखरा आउने आगन्तुकलाई माछापुच्छ्रे लगायत हिमशृंखलाको दृश्यावलोकन गराउन नसकिने भएको छ। अर्कातिर, तुवाँलोले स्वास्थ्यमा पनि असर पर्छ।
चैत पहिलो साता सल्केको डढेलो त केही दिनयता परेको पानीले निभाउन सहयोग गरेको छ। हावाहुरी चल्ने याम भर्खरै शुरू भएको छ। ग्रीष्म याममा झन् आगोको सानो झिल्काले पनि पूरै वन सखाप पार्दै आएको छ। यस वर्ष त हिउँद सुक्खाग्रस्त बनेको छ भने वनजंगलमा पातपतिंगर पनि धेरै भएकाले डढेलोको जोखिम रहेको वनकर्मी बताउँछन्।