बहराइनसँग लगातार दोस्रो हार
फिफा विश्वकप तथा एएफसी एशियन कप छनोटको दोस्रो चरण अन्तर्गत गएराति सम्पन्न बहराइन विरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
बहराइनको रिफ्फास्थित न्याशनल स्टेडियममा भएको खेलमा नेपाली टोली ३-० गोलअन्तरले पराजित भएको हो। बहराइनले तीन वटै गोल पहिलो हाफअघि नै गरेको थियो।
सयद बाकेरले खेलको सातौं मिनेटमा गोल गर्दै बहराइनलाई शुरूआती अग्रता दिलाएका थिए। यस्तै, खेलको १८औं मिनेटमा अब्दुल्लाह युसुफ हेलालले पेनाल्टी मार्फत स्कोर २-० बनाएका थिए। खेलको ३६औं मिनेटमा कमिल अल अस्वादले तेस्रो गोल थपेका थिए।
यो हारसँगै चार टोली सम्मिलित समूह ‘एच’ को अंकतालिकामा चार वटा खेल हारेर अंकविहीन हुँदै नेपाल पुछारमा छ। बहराइन भने चारमध्ये तीन खेल जित्दै समूहको दोस्रो स्थानमा छ। यो समूहमा चार वटा खेल जितेको यूएई पहिलो र एउटा खेल जितेको यमन तेस्रो स्थानमा छन्।
यसअघि बिहीबार राति भएको खेलमा नेपालले बहराइन विरुद्धै ५-० गोलअन्तरको हार बेहोरेको थियो। दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि नेपालले होम र अवेका दुवै खेल बहराइनमै खेलेको हो।
अब नेपालले विश्वकप छनोटका आगामी दुई खेल यूएई र यमन विरुद्ध आगामी जून ६ र ११ तारीखमा खेल्नेछ।