कृषि वैज्ञानिक खादर वल्लिसँग कोदो संवाद हुँदै
कोदो बालीको महत्त्व स्थापित गराउन सफल विख्यात भारतीय कृषि वैज्ञानिक डा. खादर वल्लिले नेपाली कृषिविज्ञ तथा किसानहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
रैथाने कोदो बालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको राष्ट्रिय कृषक समूह महासंघ नेपालले डा. वल्लिसँग आगामी शुक्रबार संवाद कार्यक्रम गर्ने भएको हो।
कोदोजन्य बाली रक्तअल्पता लगायत कुपोषण घटाउन उपयोगी मानिन्छ। जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने कोदोलाई राष्ट्रिय महत्त्वको बालीका रूपमा स्थापित गराउन कोदो बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्ने क्रममा संवाद कार्यक्रम गर्न लागेको महासंघले जनाएको छ।
रैथाने एग्रिप्रोडक्ट्स नेपाल, नेपाल आयुर्वेद चिकित्सक संघको संयुक्त आयोजनामा हुने अन्तरक्रियामा कोदोको उत्पादन, खाद्य परिकार, पौष्टिकता तथा अतुलनीय औषधीय गुणको बारेमा छलफल हुनेछ। नेपालको तीनचौथाइभन्दा बढी भूभाग हिमाली र पहाडी क्षेत्र भएकाले कोदो लगायतको रैथाने बालीको खेती गर्न बढी उपयुक्त मानिन्छ।