शत्रुप्रति बुद्धको करुणा दृष्टि
सामान्यजनका लागि देवदत्त बुद्धका शत्रु भए पनि उनीप्रति बुद्धले द्वेषभाव नराखेको, करुणाको दृष्टिले हेरेको र उचित शिक्षा दिएर उद्धार नै गर्ने सोच राखेको बुझिन्छ।
बुद्धत्व प्राप्त गरी बुद्ध बन्ने व्यक्ति सर्वज्ञ अर्थात् सबै कुराका ज्ञाता हुन्छन्। यस अर्थमा गौतम बुद्ध सर्वज्ञ हुन्। लुम्बिनी वनमा इपू ५६३ मा जन्मेर इपू ४८३ मा बुद्धत्व प्राप्त नगरुन्जेल उनी बुद्ध थिएनन्, बोधिसत्व मात्रै थिए। तसर्थ कतिपय कुरा उनलाई थाहा नहुन सक्ने भयो। तर बुद्धत्व प्राप्त गरिसकेपछि पनि कतिपय यस्ता कुरा र घटना हुन्छन्, जसले उनको सर्वज्ञताबारे शंका गर्ने ठाउँ दिन्छ।
भिक्षु-भिक्षुणी र उपासक-उपासिकाहरूसँग मात्रै होइन, अन्य मतावलम्बीहरूसँग पनि गौतम बुद्ध के कस्तो छ, के भयो भन्ने जस्ता व्यावहारिक प्रश्नहरू गर्थे। सर्वज्ञले त प्रश्न सोध्नै पर्दैन, सबैको कुरा थाहा भइहाल्छ भन्ने लाग्न सक्छ। अझ देवदत्तको प्रसंगमा त बुद्धको सर्वज्ञतामाथि संगीन प्रश्न उठाउन सकिन्छ। तर त्यसले अन्ततः बुद्धलाई सही रूपमा बुझ्न नै सघाउँछ।
देवदत्त खासका के हुन् र को हुन् त? गौतम बुद्धको जीवनी पढ्दा उनलाई बरोबर उल्लेख गरिएको पाइन्छ। उनी खलपात्रका रूपमा चित्रित छन्। उनी भिक्षु भए पनि अभिमानी चरित्रका कारण बौद्धहरू उनको नाममा भिक्षु जोड्न रुचाउँदैनन्। संस्कृत साहित्यमा विशेषतः ललितविस्तरसूत्रमा उनलाई खलपात्रकै रूपमा उल्लेख गरिएको छ। जीवनको अन्तिम अवस्थामा पनि खलपात्रकै रूपमा उनको चित्रण पाइन्छ।
बुद्धकै संघबाट भिक्षु बनेका हुन्, देवदत्त। भिक्षु बन्न उनी पनि अरू जस्तै बुद्धसँग प्रवज्या माग्न गए। सर्वज्ञ भएका कारण बुद्धले भविष्यमा देवदत्तले अनेक कुकर्म गर्छन्, संघभेद गर्छन्, ठूलै समस्या निम्त्याउँछन् भन्ने थाहा पाएको हुनुपर्ने हो। तर केही थाहा नपाए जस्तै गरी उनलाई संघमा प्रवेश दिए।
देवदत्तले बुद्धको उपदेश सुने। भिक्षु आचरणमा बसेर ध्यान साधना गरे। निश्चित तहसम्मको ध्यान साधना गरेर ऋद्धिबल पनि प्राप्त गरे। चानचुने प्राप्ति थिएन त्यो। तर त्यसमा उनको चित्त बुझेन। उनीभित्र महत्त्वाकांक्षा पलाउन थाल्यो। बुद्धपछिको बुद्ध आफैं हुने, आफैंले संघको नेतृत्व गर्ने मनसाय बनाए। मगध राज्यका राजकुमार अजातशत्रुलाई राजगद्दी दिलाउने र बुद्धको हत्या गरेर त्यो ठाउँ आफूले लिने सोचले पापकर्म पनि गर्न थाले। राजकुमार अजातशत्रुलाई प्रयोग गरेर उनले राजा बिम्बिसारको हत्या समेत गराए।
यसो हेर्दा बौद्ध समाजले देवदत्तबाट सिक्ने कुरा केही छैन र चर्चा गर्नुको उपादेयता पनि देखिंदैन। तर गहिरिएर हेरेमा बौद्ध साधनामा उनी जसरी भड्किन हुँदैन भनेर उनीबाट सिक्न सकिन्छ। साथै, देवदत्तको प्रसंगबाट बुद्धलाई अझ नजिकबाट चिन्न सहयोग पुग्छ।
गौतम बुद्धको बाल्यकालको चर्चा गर्दा प्रायः नछुटाइने एउटा प्रसंग छ। एउटा सारस उड्दै गर्दा वाण लागेर घाइते भई बुद्धको सामु खसेको र उनले औषधोपचार गरेर बचाएको वर्णन पाइन्छ। वर्णन अनुसार सारसलाई देवदत्तले वाण हानेर खसाल्छन्। चरा खसेपछि त्यसमा दाबी गर्दै दुई बालकबीच विवाद हुन्छ। अन्ततः सारस गौतमको हातमा पर्छ र उपचार गरेर नयाँ जीवन दिन्छन्। त्यही वेलाको इखका कारण देवदत्त जीवनभर गौतम बुद्धको अहितमा लागेको बुझाइ जनमानसमा स्थापित छ।
देवदत्त बुद्धका काकाका छोरा हुन् भनिन्छ। तर राजा शुद्धोधनका कुनै पनि भाइहरूका सन्तानमा देवदत्त नामका छोरा छैनन्।
सारससँग जोडिएको बुद्धको बाल्यकालीन किस्साको चर्चा गरिए पनि प्राचीन बौद्ध साहित्यमा उक्त घटना नै पाइँदैन। सारस सम्बन्धी प्रसंग सबैभन्दा पहिले अंग्रेजी कवि एडविन आर्नोल्डको लाइट अफ एशिया महाकाव्य (सन् १८७९)मा उल्लेख गरिएको थियो। गौतम बुद्धलाई सानैदेखि करुणावान् देखाउन महाकाव्यमा कविले उक्त घटनाको परिकल्पना गरेका थिए। यस्तै, देवदत्तलाई बाल्यकालदेखि नै नकारात्मक रूपमा प्रस्तुत गरियो। यही कुरा स्थापित हुन पुग्यो।
सारस सम्बन्धी घटना काल्पनिक भए पनि देवदत्त नामका पात्र वास्तविक हुन्। नाताले उनी गौतम बुद्धका भाइ नै हुन् तर मामाका छोरा हुन्। गौतम बुद्धका दुई मामा थिए, दण्डपाणि र सुप्पबुद्ध। देवदत्त सुप्पबुद्धका छोरा हुन्। सुप्पबुद्धकै छोरी थिइन्, यशोधरा। मामाचेली फुपूचेलीबीचको विवाह चल्ने परम्परा अनुसार गौतम बुद्धको विवाह यशोधरासँग भएको हो। यस अर्थमा नाताले देवदत्त शुरूमा बुद्धका भाइ र पछि सालो परे।
ललितविस्तरसूत्रमा भने देवदत्तलाई गौतम बुद्धको काकाको छोरा भनिएको छ। त्यस ग्रन्थ अनुसार महाभिनिष्क्रमण गरी बुद्ध साधनामा लागिरहँदा घरमा रहेकी यशोधरासँग देवदत्त आशक्त हुन पुगेका थिए। उनीसँग विवाह गर्न भरमग्दुर प्रयास पनि गरेका थिए। तर यशोधराले मानिनन्। देवदत्तले यशोधरालाई अनेक तरहले सताएका पनि थिए तर उनी विचलित भइनन्। ललितविस्तरमा उल्लेख भए पनि यो प्रसंग तथ्यसंगत छैन। प्रथमतः यशोधरा र देवदत्त भाउजू-देवर नभएर एकै आमाबाट जन्मिएका दिदी र भाइ हुन्। दोस्रो, कपिलवस्तुको घरमा यशोधरा एक्ली र अबला थिइनन्। शाक्य कुलमा दिदी-भाइ वा दाजु-बहिनीबीचको विवाहले सामाजिक मान्यता पाएको भए पनि विवाहित महिलामाथि जबर्जस्ती हक जमाउने गरेको भने पाइन्न।
देवदत्तको अर्थपूर्ण चित्रण गौतम बुद्धले बुद्धत्व प्राप्त गरी धर्मोपदेश दिन थालेपछि मात्रै हुन थाल्छ। देवदत्तले बुद्धप्रति पूर्वजन्महरूमा पनि द्वेषभाव राखेको पाइन्छ। यो कुरा बुद्धले नै सुनाएका जातक कथाहरूमा उल्लेख पाइन्छन्। जातक कथाको प्रसंग थाती राखेर ऐतिहासिक कालमा बुद्धप्रतिको द्वेषभावबारे चर्चा गर्दा यसको कारण पर्गेल्न सकिन्छ।
ध्यान साधना गर्दा एउटा तहमा पुगेपछि साधकलाई ऋद्धिबल स्वतः प्राप्त हुन्छ। यो विशेष प्रकारको क्षमता हो। ऋद्धि बलको प्रयोग गरेर साधकले आकाशमा उड्ने, एक ठाउँमा बिलाएर अर्को ठाउँमा प्रकट हुने जस्ता अलौकिक काम गर्न सक्छन्। बुद्धले पनि साधनाका क्रममा ऋद्धिबल पाएका थिए। उनले त दिव्यचक्षु समेत प्राप्त गरेका थिए। उनी आफ्नो मात्रै नभई अरूको पनि पूर्वजन्म र भविष्यको जन्मबारे थाहा पाउँथे। आवश्यकता अनुसार वेलावेला उनी ऋद्धिबलको प्रदर्शन पनि गर्थे।
त्यस वेला ऋद्धिबलप्राप्त अन्य साधकहरू यसको प्रदर्शन गरी सर्वसाधारणलाई आकर्षित गर्थे। बौद्ध भिक्षु-भिक्षुणीहरूले सार्वजनिक रूपमा ऋद्धि प्रदर्शन नगर्ने भएकाले तत्कालीन समाजमा गैरबौद्धहरूले बौद्ध भिक्षुहरूको क्षमतामा प्रश्न उठाउने भएकाले वेलामौकामा सर्वसाधारणमाझ यसको प्रदर्शन गरिन्थ्यो।
बुद्धले आफ्ना क्षमतावान् भिक्षु-भिक्षुणीहरूलाई आवश्यकता अनुसार ऋद्धि प्रदर्शन गर्न लगाउने गरेको थेरगाथा र थेरीगाथा ग्रन्थबाट थाहा हुन्छ। तर पछि उनले आफ्ना संघ सदस्यहरूमा ऋद्धिबलको प्रदर्शन गर्न रोक लगाए। ऋद्धिको प्रदर्शन गरेर लोकप्रिय भइने र साधक त्यसैमा भुल्न सक्ने, थप साधनामा नलाग्ने जोखिम देखेर उनले रोक लगाएका थिए। साधक र समाजलाई यसले केही फाइदा नगर्ने भएकाले पनि यसमा बन्देज लगाइएको थियो।
भिक्षु भएपछि देवदत्तले पनि ध्यान साधना गरी ऋद्धिबल पाएको उल्लेख छ। ऋद्धि प्राप्त भिक्षु हुनुुको अर्थ हो, उनले ध्यान साधना राम्रैसँग गरेर त्यो उपलब्धि हासिल गरे। शुरूदेखि नै खराब मानसिकता बोकेको वा बुद्धप्रति द्वेष राखेर हिंडेको भए उनले न ध्यान साधना गर्न सक्थे न त ऋद्धिबल नै पाउँथे। तर ऋद्धिबल पाएपछि त्यसमै उनी भुल्न पुगे र साधना त्यहीं अड्किन पुग्यो। यही बिन्दुबाट उनको अवनति हुन थाल्यो।
संघमा केन्द्रीय व्यक्ति गौतम बुद्ध त थिए नै, साथमा अन्य भिक्षुहरू पनि आकर्षणका पात्र थिए। मानिसहरू ती भिक्षुलाई खोज्दै आउँथे। देवदत्त भने लोकप्रिय थिएनन्। त्यो परिस्थितिमा उनी समाजमा आफ्नो हैसियत स्थापना गर्न सघाउने एक खास पात्रको खोजीमा लागे।
त्यसै क्रममा ऋद्धिबलको दुरुपयोग गरी मगध राज्यका राजा बिम्बिसारका उत्तराधिकारी अजातशत्रुलाई आकर्षित गरे। उनलाई अनुयायी बनाएसँगै देवदत्तको हैसियत फेरियो। उनलाई भेट्न स्वयं राजकुमार आउने हुँदा उनको प्रतिष्ठा चुलिन थाल्यो। उनका लागि पनि अनेक भोजन आउन थाले।
देवदत्तका लागि राजकुमार अजातशत्रुले गयाशीर्ष पर्वतमा एउटा विहार नै निर्माण गरिदिए। राजकुमारलाई खुशी पार्न चाहनेहरू पनि उक्त विहारमा आउन थाले। सर्वसाधारण पनि आकर्षित भई अनुुयायीको एउटा जमात तयार भएपछि देवदत्तमा अहंकार जाग्यो। आफूलाई विशेष मान्न थाले।
अजातशत्रुको सहयोगमा बुद्धको हत्या गरी आफूले बुद्धको स्थान लिने महत्त्वाकांक्षा पनि उनमा जाग्न थाल्यो। यसका लागि राजकुमारलाई पूरै वशीभूत पार्न जरुरी थियो। देवदत्तले अजातशत्रुलाई उक्साएर राजा बिम्बिसारलाई राजगद्दी छाड्न बाध्य पारे। यतिले चित्त नबुझेर उनकै सल्लाह अनुसार बिम्बिसारलाई कैद गरी अनेक यातना दिएर हत्या गरियो।
यसपछि गौतम बुद्धको हत्या गर्ने योजना मुताबिक बुद्ध विरुद्ध अनेक घटना हुन थाले। तर यो कुराको भन्डाफोर हुन पुग्यो। साथै, यी घटनामा अजातशत्रुको सहयोग भएको र बिम्बिसारको हत्या पनि देवदत्तकै सल्लाहमा भएको नगरभरि फैलियो। यसपछि अजातशत्रुले देवदत्तसँगको संगत छोडे।
पछि देवदत्त स्वयंले बुद्धलाई चुुनौती दिने थाले। भिक्षुुहरूलाई यस्ता यस्ता कडा नियम लागू गर्नुपर्छ भनेर जानाजान अव्यावहारिक प्रस्ताव राख्न थाले, जुन बुद्धबाट कहिल्यै स्वीकृत भएन। त्यसपछि बुद्धको अपव्याख्या गर्दै संघबाट आफू अलग भएको घोषणा गरे र आफू पक्षीय केही भिक्षुलाई लिएर निस्किए।
बौद्ध संघलाई नै फुटाएर निस्किँदा बुद्धको मुखबाट निस्केको शब्द हो, ‘नर्कमा जाने तिमी।’ यो वाक्य झट्ट सुन्दा आक्रोशयुक्त लाग्छ। सामान्यजनले श्राप दिए जस्तो पनि देखिन्छ। तर अनेक कुकर्म गर्ने र संघभेद गर्ने त नर्कमै जाने हो।
चोइटिएर गएका भिक्षुहरू खराब मार्गमा लाग्न सक्ने भएकाले केही समयपछि बुद्धको आज्ञा अनुसार भिक्षु सारिपुत्र देवदत्तको संघमा गई भिक्षुहरूलाई सम्झाइबुझाई फर्काउन सफल भए। देवदत्तको संघमा सारिपुत्र पुग्दा उनी बुद्ध जस्तै बनेर बुद्धकै हाउभाउमा उपदेश दिइरहेका थिए। गौतम बुद्ध उपदेश दिने क्रममा आराम गर्नुपरे बीचमा रोकिन्थे र त्यसलाई निरन्तरता दिन अन्य सक्षम भिक्षुलाई अह्राएर भित्र पस्थे।
सारिपुत्रलाई देखेपछि देवदत्तलाई पनि बुद्धको सिको गर्न मन लाग्यो र उनलाई उपदेश दिन लगाएर आफू आराम गर्न भित्र गए। सारिपुत्रले यसरी उपदेश दिए, भिक्षुहरूलाई धर्मबोध भयो र देवदत्तको असली रूप खुल्यो। उनीहरू सारिपुत्रको पछि लागेर बुद्धकहाँ फर्किए।
संघ फुटाएको, आफू विरुद्ध नै षड्यन्त्र गरेको आदि घटनाक्रमका कारण खासमा बुद्धका शत्रु हुन् देवदत्त। तर बुद्धको दृष्टिमा त उनका शत्रु कोही छैनन्। करुणाको दृष्टिले हेरिनुपर्ने प्राणी हुन् सबै।
जीवनको अन्तिम समयमा देवदत्तलाई पछुतो भयो र बुद्धसँग माफी माग्न गए। तर बुद्ध भएको ठाउँमा पुग्नुअगावै उनी निकै अशक्त हुन पुगे। त्यही वेला जमीन भासिन थाल्यो। त्यो अन्तिम घडीमा उनले बुद्धको नाममा गरेको वन्दना अत्यन्तै मार्मिक छ।
उक्त वन्दनाको भाव छः ‘देव ब्रह्माहरूका पनि देव हुनुभएका योग्य मनुष्य देवताहरूलाई सत्य मार्ग देखाउने सारथि समान, तीनै लोक लगायत समस्त धर्मलाई सम्यक्सम्बुद्ध ज्ञानले जान्ने सयौं कुशल कार्यको प्रभावले पुण्यवान्को पूर्ण लक्षण प्राप्त तीनै लोकमा सर्वश्रेष्ठ अग्र पुद्गल हुनुभएको, चार आर्य सत्य राम्रो जान्ने हजुर गौतम बुद्धलाई म (देवदत्त नाम कहलिएको) अन्तिम रहेका यी अस्थिपञ्जर शरीरले प्रणाम गर्दै छु, मलाई शरण दिनुहोस् (‘इमेही अत्थिही तमग्ग पुग्गलं, देवादिदेवं नर दम्म सारथिं, समन्तचक्षुं सत पुण्य लक्षणं, पाणेही बुद्धं शरणं उपेमि’)।’
देवदत्तको प्रसंगमा स्वयं गौतम बुद्धको सर्वज्ञतामाथि उठ्न सक्ने प्रश्न हो, बुद्धले उनलाई समयमै चिन्न किन सकेनन्, किन भिक्षु बनाए? तर वास्तविकता के हो भने, यी सबैको जानकारी बुद्धलाई पहिल्यै थियो। बुद्धले विभिन्न प्रसंगमा सुनाएका जातक कथाहरूमा देवदत्तले बारम्बार घात गर्ने गरेको पाइन्छ। देवदत्त र उनको चरित्रबारे थाहा पाएर पनि बुद्ध के हेरेर बसे भन्ने प्रश्न फेरि उठ्छ। देवदत्तले नर्कमा जाने कर्म गर्दै गर्दा उनलाई त्यस्तो कर्मबाट विमुख गर्ने काम बुद्धबाट किन भएन भन्ने अहम् प्रश्न हो।
अरूको सन्दर्भमा पाप गर्न लागेको मान्छेलाई बुद्धले केही उपाय गरेर पाप गर्नबाट विमुख पारेका प्रसंगहरू धेरै पाइन्छन्। मान्छेहरूको हत्या गरेर बूढीऔंला संकलन गरी माला उन्ने आकांक्षा राख्ने अंगुलीमाललाई भेट्न उनकी आमा गइरहेको थाहा पाएर बुद्ध पहिल्यै अंगुलीमालकहाँ पुगेका थिए। अंगुलीमालले केही गरी आमाको हत्या गरेको भए ठूलै कर्मको फल भोग्नुपर्थ्यो। तर बुद्धले उनलाई भिक्षु बनाएर धर्मको कुरा सिकाई अर्हत्व लाभ गराए। धेरै मानिसको हत्या गरेका कारण उनी मुक्त भइसकेर पनि गाउँलेहरूको कुटाइ खाएर मर्नुपर्यो। कर्मको फल त भोगे तर अर्हत भइसकेका कारण पापको दलदलमा फस्नु परेन।
बुद्धले देवदत्तलाई भिक्षु संघमा भित्र्याएर धर्मको अभ्यास नगराएको भए उनीबाट अझ नराम्रो काम हुन सक्थ्यो। त्यसो हुनबाट रोक्न बुद्धले उनलाई भिक्षु बनाई जीवनको बाटो मोडिदिएको भनेर बुझ्न सकिन्छ। बुद्धले देवदत्तलाई शुरूदेखि नै करुणा दृष्टिले हेरेका थिए र पाप कर्महरूबाट जोगाएर अगाडि बढाउन मद्दत गरेका थिए।
भिक्षु बनाई भिक्षु संघमा प्रवेश गराएर देवदत्तलाई बुद्धले धर्मचित्त जगाइदिएका हुन्। उनलाई केही गरी भिक्षु नबनाएको भए उनले धर्मको कुरा थाहै पाउँदैनथे, एकपछि अर्को पाप कर्म गर्दै अनन्तकालसम्म दुःखको दलदलमा फसिराख्नुपर्थ्यो। त्यसबाट पर राख्न देवदत्तप्रति करुणाभाव राख्दै बुद्धले उनलाई संघमा प्रवज्या दिएका हुन्।
पूर्वजन्ममा देवदत्तले केही राम्रा कर्महरू पनि गरेका रहेछन्, जसको बलबाट उनी ‘प्रत्येक बुद्ध’ (सम्यक् सम्बुद्ध गौतम बुद्धको तहभन्दा अलि कमसल खालको बुद्धपद) बन्ने पुण्य कमाएका थिए। तर नराम्रा कर्महरूका कारण उनी प्रत्येक बुद्ध हुने अवसरबाट बारम्बार चुकिरहेका थिए। धर्मको कुरा सुनाएर केही मात्रामा भए पनि धर्मचित्त जगाउन सके नर्कमा गएर त्यहाँ बस्नुपर्ने संस्कार सकिएपछि पुण्य संस्कारको बलमा सुदूर भविष्यको कुनै जन्ममा प्रत्येक बुद्ध बनिन्छ। गौतम बुद्धको यही दूरदृष्टि र करुणामय भावनाका कारण देवदत्तले भिक्षु बन्न पाए।
सामान्यजनका लागि देवदत्त बुद्धका शत्रु भए पनि उनीप्रति बुद्धले द्वेषभाव नराखेको, सधैं करुणाको दृष्टिले हेरेको र अन्ततः उचित शिक्षा दिएर उद्धार नै गर्ने मनसाय राखेको बुझिन्छ। बुद्धलाई करुणाको खानी नै भनिन्छ, यो कुरा देवदत्तको प्रसंगमा अझ बढी चरितार्थ हुन्छ।
आध्यात्मिक साधनाको जगत्मा हिजोआज वेलावेला अनेक साधकको चर्चा हुने गर्छ। तीमध्ये नक्कली साधकको कुरा यहा नगरौं। वास्तविक साधकहरूमा पनि थोरै उपलब्धिमै रमाएर, त्यसलाई नै सर्वस्व ठानेर अगाडिको साधना यात्रा स्थगित गर्नेहरू पनि हुन्छन्। सच्चा साधकहरू चाहिं साधनाका क्रममा प्राप्त ससाना उपलब्धिमा अड्किंदैनन्, त्यसलाई प्रदर्शन गर्दैनन्। बरु त्यसको बलमा थप साधनामा तल्लीन हुन्छन्।
बौद्ध समाजमा पनि कतिपय प्रचारप्रसारका भोका हुन्छन् भने कतिपय साधनामा लीन हुन्छन्। साधनाका क्रममा तिनलाई अनेक क्षमता प्राप्त भएको हुन्छ तर आत्मप्रचार र आकर्षणका लागि तिनलाई प्रयोग नगरी गुप्त नै राख्छन्। यसलाई बुद्धको निर्देशन अनुसारको साधना भन्न सकिन्छ। उनीहरूका लागि उक्त निर्देशन विपरीत जाँदाको परिणाम देवदत्त छन्।