राजवको ‘क्रूर पृष्ठमा जो थिए’ प्रकाशित
साहित्यकार राजवको नयाँ उपन्यास क्रूर पृष्ठमा जो थिए प्रकाशित भएको छ।
उपन्यास २०२८ सालमा बारा, पर्सा र रौतहटमा भएको क्रूर उन्मादी धार्मिक उपद्रवमा आधारित छ। उक्त घटनामा थुप्रैको ज्यान गएको थियो भने आर्थिक क्षति पनि उल्लेख्य भएको थियो।
भैंसी किन्न तराई झरेको काठमाडौंको काँठ क्षेत्रको एक ब्राह्मणको स्मरण मार्फत उपन्यासमा उक्त घटनाको प्रस्तुतीकरण गरिएको छ। उपन्यासमा ती ब्राह्मण र एक अनाथ मुसलमान युवक मुख्य पात्रका रूपमा छन्।
यी दुई अग्र पात्र सहित अन्य केही आदर्शवान् पात्र मार्फत उपन्यासले पञ्चायती व्यवस्थाकालीन सामाजिक परिस्थितिलाई उजागर गरेको छ। साथमा काठमाडौंको काँठ क्षेत्रको परिवेशलाई पनि कथानकमा बुनिएको छ।
‘एक झूटो, मिथ्या हल्ला चलाएर घटाइएको त्यस क्रूरतम साम्प्रदायिक दंगाको शुरूआत रौतहटको एक गाउँबाट भएको थियो,’ उपन्यासबारे राजवको टिप्पणी छ, ‘यो उपन्यास लेख्नुको मेरो बीज स्रोत तिनै घटना, उपद्रव र दंगा हुन्।’
उपन्यासमा आफूले कलाको परिधिभित्र रहेर तत्कालीन भूगोल, समाज, राजनीति, भाषा, तिनको व्यवहार, कार्यव्यापार र परिवेशको सक्दो र जानेसम्मको कथ्यसम्मत तथा समयसम्मत चित्रण गर्ने कोशिश गरेको राजवको भनाइ छ।
विसं २०११ मा मरुटोलमा जन्मिएका राजव विशेषतः कथाकारका रूपमा परिचित छन्। उनको पहिलो उपन्यास एटलान्टिक स्ट्रीट २०६३ सालमा प्रकाशित भएको थियो। त्यसपछि भूमिगत लीला : दुई हजार बत्तीस, बेगारीमा उपन्यास, मोटेल अमेरिका, सोटिट, काफ्काको काम सकियो लगायत उपन्यास प्रकाशित छन्।
१८४ पृष्ठको क्रूर पृष्ठमा जो थिएको प्रकाशन फिनिक्स बूक्सले गरेको हो।