आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ७१ रनले विजयी
आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० मा नेपालले ७१ रनको जित हासिल गरेको छ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ‘ए’ टोली विरुद्धको शुरूमा टस जितेर नेपालले ब्याटिङ रोजेको थियो। यस क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
१९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड १८ ओभर तीन बलमा १२७ रनमै समेटियो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको पारी खेले। यस्तै, कुशल मल्लले १३ बलमा ३४ रनको विस्फोटक पारी खेले। कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आशिफ शेखले ११ र विशाल यादवले सात रनको योगदान दिए।
आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले तीन विकेट लिए। यस्तै, बेन ह्वाइटले दुई, गेभिन होएले एक तथा फिओन ह्यान्डले एक विकेट लिए।
यस्तै, ब्याटिङतर्फ आयरल्यान्डका लागि स्टिफन डोहेनीले २६ रन, मोर्गन टोप्पिङले २१ रन, केड कार्माइकलले १८ रन, कप्तान निल रक र रस आदिरले समान १७ रन र ग्यारेथ डेलानीले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ सोमपाल कामी र कुशल मल्लले समान तीन विकेट लिए। यस्तै, विवेक यादव, कुशल भुर्तेल र करण केसीले समान एक विकेट लिए।