ढोलाहिटी घटना : मदिरा र आवेग हत्याको मूल कारण
अधिक मदिरा सेवन गरेका युवाहरू खाजा खान रेस्टुराँमा भेट भएका वेला सामान्य विवादकै कारण दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ।
फागुन ११ गते राति १० बजेतिर ललितपुरको ढोलाहिटीमा रहेको डी पोपिना रेस्टुराँमा खाजा खाइरहेका समूहबीच भएको विवाद हात हालाहाल र चक्कु प्रहारमा पुग्दा पूजन राई र रेवस राईको ज्यान गएको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ भने एक जना फरार छन्। पक्राउ पर्नेमा रेस्टुराँ सञ्चालकद्वय विजय राई र सुलभ राई सहित विशालहाङ मुकारुङ र छेङ्वीहाङ राई छन्।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार हालसम्मको अनुसन्धानबाट घटना योजनाबद्ध नरहेको देखिन्छ। “सामान्य विषयमा भएको विवाद र आवेगमै दुई जनाले ज्यान गुमाएको देखिन्छ,” उनले हिमालखबरसँग भने, “रेस्टुराँमा उनीहरूको आकस्मिक तवरमा भेट भएछ। कुरैकुरामा विवाद भएपछि आवेगमा आएर घटना भएको हो।”
उनीहरूले अत्यधिक मदिरा पिएको भनिए पनि मेडिकल रिपोर्ट आउन भने बाँकी रहेको एसपी सुवेदीले बताए। समूहमा रहेका दुई जनाबीच गत तिहारमा सामान्य विवाद भएको बाहेक ठूलो दुश्मनी समेत नदेखिएको प्रहरीले जनाएको छ। गएको तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङलाई खसालेर बोलेको भन्दै सामान्य विवाद भएको प्रहरीको भनाइ छ। “तर त्यही कारण योजना बनाएर झगडा भएको देखिंदैन,” उनले भने, “आवेश र मदिरा नै मूल कारण देखिन्छ। चक्कु समेत सोही रेस्टुराँको किचनमा भएको प्रयोग भएको थियो।”
घाइते दुई जनाको सुमेरु र पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरीले शुरूमा १८ जनालाई नियन्त्रणमा लिए पनि पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।