आयरल्यान्ड वुल्भ्सलाई नेपालको १९९ रनको लक्ष्य
आयरल्यान्ड वुल्भ्ससामु नेपालले १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ‘ए’ टोली विरुद्धको दोस्रो टी-२० मा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रन बनाएको हो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको पारी खेले। यस्तै, कुशल मल्लले १३ बलमा ३४ रनको विस्फोटक पारी खेले। कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आशिफ शेखले ११ र विशाल यादवले सात रनको योगदान दिए।
आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले तीन विकेट लिए। यस्तै, बेन ह्वाइटले दुई, गेभिन होएले एक तथा फिओन ह्यान्डले एक विकेट लिए।
नेपालले टी-२० विश्वकपको तयारीका रूपमा आयरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।