यूएईमा नेपाली युवा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासबाट पत्राचार
यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीमा पठाई युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिश गरेको छ।
यूएई पठाएर १९ युवालाई अलपत्र पार्ने मेची इन्टरन्याशनल ओभरसीज प्रालि, काठमाडौंलाई कारबाहीका लागि दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको हो। ‘नेपाली श्रमिकहरू समस्यामा परेको थाहा भएपछि समस्या सामाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए,’ श्रम सहचारी आविद अंसारीले लेखेको पत्रमा भनिएको छ, ‘तर अहिले पनि समस्या जस्ताको तस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ।’
मेची इन्टरन्याशनल ओभरसीजका एजेन्टले नेपाली युवालाई क्लीनरको कामका लागि यूएईको नूर अल अफ्सा क्लीनिङ सर्भिसेज इस्ट र युनिक स्टार जेनरल सेक्युरिटी गार्ड सर्भिसेजमा पठाएको तर कामदार करारनामा अनुसारको काम, तलब र सेवासुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेका थिए।
खोटाङ जन्तेढुंगा गाउँपालिका-५, चिसापानीका पर्शुराम राई र राजकुमार राई, सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनील श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारू, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ अलपत्र परेका थिए।
खानेबस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलब पाउने गरी यूएई लगिए पनि खाना सहित मासिक ९०० र खानाको बन्दोबस्त आफैं गर्नेलाई मासिक ११०० दिने व्यवस्था थियो। उनीहरू एजेन्टलाई जनही एक लाख ९० हजार रुपैयाँदेखि दुई लाख २० हजार रुपैयाँसम्म बुझाएर यूएई पुगेका थिए।
यसअघि मेची इन्टरन्याशनलका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवासुविधा उपलब्ध गराउन फागुन ७ गते नूर अल अफ्सा क्लीनिङ सर्भिसेज इस्ट र युनिक स्टार जेनरल सेक्युरिटी गार्ड सर्भिसेजलाई पत्र पठाएका थिए। तर पनि पीडितहरूको समस्या हल भएन। गत चैत ६ गते भने वैदेशिक रोजगार विभागले उक्त मेनपावरलाई लिखित जवाफ सहित उपस्थित हुन निर्देशन दिएको थियो।