शर्मिला वाइबालाई ३५ हजार धरौटीमा छोड्न आदेश
जिल्ला अदालत, काठमाडौंले शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले वाइबालाई धरौटीमा छोड्न आदेश दिएको स्रेस्तेदार रामु शर्माले हिमालखबरलाई बताए। स्रेस्तेदार शर्माका अनुसार विद्युतीय कारोबार सम्बन्धी कसूरमा २५ हजार रुपैयाँ र कुटपिट सम्बन्धी कसूरमा १० हजार रुपैयाँ धरौटी राख्न आदेश भएको छ।
कुटपिटको उजुरी परेपछि गत फागुन १६ गते वाइबालाई पक्राउ गरिएको थियो। उनी विरुद्ध कुटपिटसँगै विद्युतीय कारोबार सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो।
वाइबा विरुद्ध कलाकार पवन खतिवडाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए। खतिवडा र उनकी पत्नी सुम्निमा खालिङबीचको विवादमा वाइबाले खतिवडालाई कुटपिट गरेको आरोप लागेको थियो।