म्याच फिक्सिङमा आदिल अन्सारी सहित पाँचै जनाले पाए सफाइ
नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोप लागेका क्रिकेटर आदिल अन्सारी सहित पाँच जनाले सफाइ पाएका छन्।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अन्सारी सहित पाँच जनालाई सफाइ दिएको हो। सफाइ पाउनेमा अन्सारीसँगै नितेश गुप्ता भनिने नि:शेष साह, नवीन कँडेल, रवि माझी र महबुब आलम छन्।
मोहमद आदिल आलम नाम भए पनि उनी आदिल अन्सारीका नामले परिचित छन्। महबुब आलम पूर्व क्रिकेटर हुन्। उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका छन्।
गत वर्ष भएको नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाटै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
२०७९ फागुन ५ मा जिल्ला सरकारी वकीलको कार्यालय मार्फत जिल्ला अदालतमा १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। उनीहरूमध्ये पाँच जना पक्राउ परेका थिए भने सात जनालाई फरार प्रतिवादीमा राखिएको थियो।
पक्राउ परेका पाँचै जना पुर्पक्षका लागि धरौटीमा छुटेका थिए। अहिले पाँचै जनाले सफाइ पाएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)को रणनीतिक एवं व्यापारिक साझेदार बनेर आयोजकका रूपमा नेपाल भित्रिएको भारतीय निजी कम्पनी सेभेन थ्री स्पोर्टस्को योजनामा फिक्सिङ भएको खुलेको थियो। कम्पनीका सञ्चालक भने लिग पूरा नहुँदै भारत फर्किएका थिए।