बिन्दास वेदिका
सीएको जागीर छोडेर घुम्न निस्केकी वेदिका गजुरेल देश-विदेशको यात्रामा रमाइरहेकी त छन् नै, भ्लग बनाएर संसारसामु यात्रावृत्तान्त पस्किरहेकी पनि छन्।
गत कात्तिकमा अन्नपूर्ण क्षेत्रको घना जंगल र कमै हिंडिने पदमार्ग हुँदै वेदिका गजुरेल एक्लै खोप्राबाट टाढापानीसम्मको यात्रामा निस्किइन्। ओरालो बाटोमा झाडीबाट जंगली जनावर कराएको सहजै सुनिन्। यसपछि जनावरलाई तर्साउन वेदिकाले ठूलो आवाजमा मोबाइल बजाइन्।
यतिले पनि नभएर उनले सबैभन्दा नजिकको चिया पसलमा फोन गरेर घटना विवरण सुनाइन्। पसलका सञ्चालकले हलचल नगरी सुरक्षित बस्न भने, आफू लिन आउन लागेको बताए।
बर्दिया यात्राका क्रममा वेदिका गजुरेल।
तर त्यतिन्जेल जनावरको आवाज झन् झन् ठूलो हुँदै गयो, झन् झन् नजिकिंदै गयो। त्यहाँ एक जोडी हिमाली कालो भालु रहेछ। धन्न भालुसँग उनको जम्काभेट भएन। पसल सञ्चालक पनि समयमै आएर वेदिकालाई उद्धार गरे।
पेशाले चार्टर्ड अकाउन्टेन्ट ३० वर्षीया वेदिकाले देश-विदेश यात्राको भ्लग यूट्यूबमा राख्दै आएकी छन्। तर त्रासपूर्ण माहोल भएकाले भालुको भिडिओ खिच्न सकिनन्।
हेटौंडाबाट उच्च माध्यमिक शिक्षा पूरा गरेकी वेदिकाले भारतको नयाँ दिल्लीबाट सीए उत्तीर्ण गरिन्। तर इन्टर्नशिपकै वेला उनले आफू कार्यालयको साँघुरो घेराभित्र गुम्सिएको महसूस गर्न थालिन्। “मैले त्यति वेलै बुझिहालें- म कर्पोरेट जीवनशैलीका लागि बनेको होइन रहेछु,” वेदिका भन्छिन्।
२०७४ सालमा उनी नेपाल फर्किएर ब्यांकमा काम गर्न थालिन्। तर यो पनि उनका लागि अनुकूल भएन। वेदिका भन्छिन्, “जागीर छोडेपछि के गर्ने भनेर म अलमल्ल थिएँ, भित्रभित्रै चाहिं मलाई संसार हेर्नुपर्छ भन्ने लागिरहेको थियो।”
लाङटाङ यात्राका क्रममा वेदिका गजुरेल।
वेदिकाको पहिलो यात्रा बन्दीपुर रह्यो। त्यसपछि मार्दी पदयात्रा, जनकपुर, स्वर्गद्वारी हुँदै विदेशमा थाइल्यान्ड, कम्बोडिया र लाओससम्म पुगिन्। उनको यूट्यूबमा ११ हजारभन्दा बढी सब्स्क्राइबर छन्।
वेदिकाका लागि यात्रा गर्नु र ट्राभल भ्लग बनाउनु आयआर्जनभन्दा बढ्ता शोख हो। वेलाबखत स्वतन्त्र काम गरेर र शेयर बजारमा गरेको लगानीबाट आउने प्रतिफलबाट उनले यात्रा खर्च उठाउँदै आएकी छन्। “नेपालमा कन्टेन्ट बनाएर दीर्घकालीन आम्दानी भइहाल्ने वातावरण अझै छैन,” उनी भन्छिन्।
बन्दीपुर यात्राका क्रममा वेदिका गजुरेल।
वेदिका जस्ता ट्राभल भ्लगरहरू शंका र शोकले पछि हट्दैनन्। हिंड्दाहिंड्दै उनीहरूले आफैं सबथोक व्यवस्थापन गर्न सिकेका छन्- यात्रा योजना बनाउनेदेखि, भिडिओ खिच्ने, सम्पादन अनि अपलोड गर्ने।
वेदिकाको स्मृतिमा उनको पहिलो एकल यात्रा भने पूर्वी नेपालमा रहेको लेप्चा समुदायको एउटा गाउँको हो। शुरूमा उनी अत्तालिएकी भए पनि गाउँलेले उनकै लागि स्वागत कार्यक्रम आयोजना गरेपछि सहज महसूस गरेको सुनाउँछिन्।
(नेपाली टाइम्सबाट गरिएको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
यो पनि पढ्नुहोस् :