तराई-मधेशमा आज मनाइँदै होली
तराई-मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ।
पहाडी क्षेत्रमा आइतबार होली मनाइएको थियो। तराई-मधेशमा होलीका लागि आज सार्वजनिक बिदा दिइएको छ।
आज जनकपुर बाहेक मधेशका सबै स्थानमा होली मनाउन लागिएको सप्तरीका शंकर झाले बताए। जनकपुरमा भने मंगलबार होली मनाइने झाले बताए।
होली मनाउने अघिल्लो दिन होलिका दोहन गरिन्छ। आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफूल बनाएर कुलपूजा गर्ने चलन छ।
त्यस्तै, ठूलाबडाको हातबाट अबीर लगाएर होली पर्व मनाउने मधेशको परम्परा छ। झाका अनुसार पहाडमा भन्दा मधेशमा होली केही भिन्न छ। गाउँमा समूह बनाएर होली गीत गाएर नाचगान गर्ने चलन छ।
संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले मधेशको होलीमा भाइचारा र आत्मीयता अधिक हुने गरेको बताए। “ठूला साना सबैको सम्मानपूर्वक व्यवहार सहित होली खेलिन्छ,” प्रेमर्षिले भने, “नयाँ पुस्ताले त्यही संस्कार सिको गर्दै आएको छ।”
राधाकृष्ण र शिवपार्वतीको प्रेम प्रसंगमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको छ। जोगिरा सररर... बोलको गीत मधेशमा चर्चित छ।