नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभलमा कुन-कुन चलचित्र पुरस्कृत भए?
१३औं संस्करणको नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभल समापन भएको छ।
यस पटक महोत्सवको लघु चलचित्र विधामा शान्ता नेपाली निर्देशित वृत्तचित्र डाय ड्रीम्स उत्कृष्ट चलचित्रका रूपमा पुरस्कृत भएको छ। त्यस्तै, स्वयोयन मास्के मानन्धर निर्देशित लघु चलचित्र द बुल, द काउ, द काल्फलाई स्पेशल मेन्शन गरिएको छ। विजेता चलचित्रकर्मीहरूलाई यसै वर्ष बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा समेत सहभागी गराइनेछ।
शनिबार साँझ सम्पन्न महोत्सवको समापन समारोहमा नेपालका लागि यूरोपियन युनियनकी उपप्रमुख जोएल इभोनेटले ती चलचत्रकर्मीलाई पुरस्कार प्रदान गरेकी थिइन्। महोत्सवमा आधिकारिक रूपमा छनोट गरिएका तथा प्रदर्शन गरिएका बाँकी नौ लघु नेपाली चलचित्रलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।
नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभलको १३औं संस्करण काठमाडौंमा यही चैत ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो। महोत्सव अन्तर्गतै आगामी चैत २८ र २९ गते सुदूरपश्चिम विश्वविद्यालयको हलमा समेत चलचित्रहरू देखाइनेछन्। यस्तै, लुम्बिनी प्रदेशको नेपालगन्जमा आगामी वैशाख ३ गते र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आगामी वैशाख ७ र ८ गते चलचित्र महोत्सव हुनेछ।