नेपाली युवा डेनमार्कका उत्कृष्ट बेकर
इन्जिनीयरिङमा असफल भएपछि बेकरी रोजेका सञ्जीव गिरी अहिले डेनमार्ककै उत्कृष्टमध्ये पर्छन् भने अब काठमाडौंमा बेकिङ स्कूल खोल्ने योजनामा छन्।
नेपालका सञ्जीव गिरी सन् २०२२ मा जितेको डेनमार्कको उत्कृष्ट बेकरको उपाधि रक्षा गर्ने क्रममा गत साता दोस्रो भए। सञ्जीव स्कान्डिनेभियन देश (डेनमार्क, नर्वे र स्वीडेन)कै उत्कृष्ट केक र उत्कृष्ट बगेट (लामो, बाहिरी भाग झुरिएको र भित्री भाग कमलो भएको एक प्रकारको पाउरोटी)को पनि उपाधि विजेता हुन्।
डेनमार्क जस्तो बेकरीका लागि विश्वप्रसिद्ध देशमा यस्ता उपलब्धि हासिल गर्नु पक्कै सहज थिएन। तर सञ्जीवले यो सफलता कसरी हात पारे?
कोपनहेगनका उत्कृष्ट बेकरीहरूमा काम गर्दा होस् वा पेरिसमा बेकरी पढ्दा होस्, सञ्जीवले आफ्नो वयस्क उमेर यही क्षेत्रमै बिताएका छन्। गत महीना मात्रै उनले बृहत् कोपनहेगन क्षेत्रको सार्लटेनलन्डमा मेसन डि’ब्रोड (पाउरोटीको घर) नामको आफ्नै बेकरी सञ्चालनमा ल्याए। “मैले जीवनभर आफ्नै बेकरी सञ्चालन गर्ने सपना देखेको छु,” ३९ वर्षीय सञ्जीव फोनमा भन्छन्।
उनी दैनिक १८ घन्टा काम गर्छन्। राति २ बजेदेखि नै पाउरोटी, क्र्वासँ, बगेट र पेस्ट्रीहरूका लागि पीठो तयार पार्छन्। ‘वर्ड अफ माउथ’ कै भरमा उनले अधिक ग्राहक पनि कमाइरहेका छन्। “बेकरी अहिले आवास क्षेत्रमा छ र हाम्रा अधिकांश ग्राहक वृद्ध उमेर समूहका छन्। त्यसैले मैले सामान्य उत्पादन नै राखेको छु,” बिदाको दिन पारेर कुराकानी गर्दै उनी सुनाउँछन्। तथापि उनी बिदाको दिन पनि पसलका नयाँ मशिनहरू जाँच्ने तयारीमा थिए।
मेसन डी’ब्रोड स्थापना गर्नुअघि सञ्जीव एन्डरसन बेकरी कोपनहेगनमा मुख्य बेकर थिए। त्यति वेलै उनले पर्याप्त अनुभव र पुरस्कार बटुलिसकेका थिए। तैपनि उनी नयाँ चुनौती खोजिरहेका थिए।
सञ्जीवको यस यात्राको शुरूआत भने दुई दशकअघि काठमाडौंबाट भएको थियो जब उनी सेफ एशोसिएशन अफ नेपालले प्रदान गरेको तालीममा सहभागी भएका थिए। प्रारम्भमा उनले भारतीय-चिनियाँ खानामा हात हाले र क्याटरिङमा पनि काम गरे। तर उनलाई दुवै मन परेन। कामकै सिलसिलामा उनले बेकिङबारे थाहा पाए जुन अन्ततः उनको करिअरकै प्रस्थानबिन्दु बन्यो र जीवन फेरियो।
सञ्जीव त्यति वेला इन्जिनीयरिङ अध्ययनरत थिए। तर मन इन्जिनीयरिङमा थिएन। “मैले परीक्षामा राम्रो अंक ल्याउन सकिरहेको थिइनँ, त्यसैले निर्णय गरें- मलाई जीवनका हरेक पाटोमा असफल हुने छूट छैन,” सञ्जीव पुराना दिन सम्झँदै भन्छन्। सहयोगी परिवार र आफ्नै काका सेफ भएकाले उनको निर्णयमा बल पुग्यो।
यसपछि उनी सोल्टी क्राउन प्लाजाको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सामेल भए। त्यहाँ उनले स्काई सेफ्स बेकरी विभागमा पनि काम गरे। अत्याधुनिक बेकिङ उपकरण सहितको भान्सामै प्रवेश पाएका सञ्जीव हवाई यात्रुका लागि खाना तयार पार्थे।
सोल्टीबाट सञ्जीवको यात्रा कतारको दोहातर्फ मोडियो। सन् २००६ मा उनी सहित १२ जनाको समूह बेकरीकै काममा दोहा उड्यो। तर सञ्जीव दोहामा पनि त्यति सन्तुष्ट भएनन्।
चार वर्षपछि उनी डेनमार्क गए, जहाँ उनकी श्रीमती अध्ययन गरिरहेकी थिइन्। डेनमार्कमा औपचारिक तालीम नलिएका बेकरहरूले जागीर पाउन मुश्किल थियो। त्यसैले सञ्जीवले शुरूआतमा ‘पार्ट टाइम’ काम थाले।
अन्ततः उनी डेनमार्कको जील्यान्ड बिजनेश कलेजमा ‘बेकिङ एन्ड फूड प्रेपरेशन’ कोर्समा भर्ना भए। साढे चार वर्षको यो कोर्स पहिल्यै उल्लेख्य अनुभव बटुलेका कारण सञ्जीवले १८ महीनामै पढिभ्याए। उनले सबै विषयमा सबैभन्दा उच्च १२ अंक ल्याए। डेनिस रानीबाट रजत पदक पनि थापे।
कोपनहेगनका बेकरहरूको संगठन र कलेजको सिफारिशका आधारमा उनले एपी मोलर फाउन्डेशनले युवा शिल्पकारलाई प्रदान गर्ने एक लाख डेनिस क्रोनर अनुदान पाए। जुन नेपाली १९ लाख रुपैयाँ जति हुन आउँछ। “त्यति वेला म अमेरिका जाने सोचिरहेको थिएँ तर सँगसँगै बेकिङलाई अझ परिष्कृत गर्न मन थियो,” उनी सम्झन्छन्।
यही कारण उनले संसारकै उत्कृष्ट पाक शिक्षालयमध्ये एक फ्रान्सको पेरिसस्थित ले कोर्डन ब्लेउ कलेजमा एड्भान्स्ड बोल्यान्गर कोर्स पढे।
त्यति वेला संसार कोभिड-१९ महामारीले आक्रान्त थियो। संसारलाई आजित बनाएको कोरोनाभाइरसको महामारी उनका लागि भने फलदायी सावित भयो। जसले गर्दा उनले एकाग्रह भएर पढाइमा ध्यान दिन पाए। बगेट र क्र्वासँ बनाउन उनी पहिल्यै पारंगत थिए।
फ्रान्स बसाइका क्रममा उनले बेकिङमा समय र तापक्रमको जटिलताबारे सिके। अहिले यति अनुभव बटुलिसकेका छन् कि उनी के नमिलेर पकवान बिग्रियो भन्ने हेरेरै भन्न सक्छन्।
सञ्जीव अनुशासन, जिज्ञासा र लगावका कारण आफू यो विधामा पारंगत भएको ठान्छन्। निरन्तर उत्कृष्ट नतीजा प्राप्त गर्न स्थापित मान्यता पछ्याउनुपर्ने विश्वास गर्छन्। उनी किताब वा इन्टरनेटमा भेटिएका पाकपद्धतिको अथक रूपमा परीक्षण गर्छन्।
“आफूले सिकेको सीप कार्यान्वयन गर्न सक्नुपर्छ,” सञ्जीव भन्छन्, “बेकिङका लागि लगाव हुन अति आवश्यक छ किनकि यो पेशामा सफल हुनु भनेको जीउ थकित हुने गरी लामो अवधिसम्म काम गर्नु हो।”
यो कामले सम्बन्धहरूमा पनि असर पर्छ। “सन् २०१० देखि २०१७ का बीचमा मेरो सामाजिक जीवन नै थिएन र मैले मेरा बच्चाहरूसँग पर्याप्त समय बिताउनै पाइनँ,” सञ्जीव सुनाउँछन्।
उनी विभिन्न स्थानबाट र कहिलेकाहीं बिदा या मौसम अनुसारको पकवान बनाउनुपर्दा नयाँ पाकपद्धतिको ज्ञान पाउँछन्। सामान्यतः नयाँ पकवानका लागि थुप्रै परीक्षण गर्नुपर्छ र थुप्रै पटक असफल भइन्छ। यस्तै नयाँ पकवानमध्ये एक थियो- फर्सी केक मिसाइएको क्र्वासँ जुन उनका ग्राहकमाझ निकै चर्चित भएको थियो।
सञ्जीवको अर्को सिर्जना स्याउ, ताजा क्रिम र जापानी सिट्रस फलफूल युजु मिसिएको मूस केक हो। यसैले सञ्जीवलाई सन् २०२२ मा डेनमार्कको उत्कृष्ट केकको प्रतियोगितामा विजयी बनाएको थियो। सन् २०२१ मा उनले डेनमार्कको उत्कृष्ट बगेट प्रतियोगिता पनि जितेका थिए।
वर्षौंयता डेनमार्कमा नाम कमाइरहेका सञ्जीव अब नेपालमै बेकिङ स्कूल खोली आफ्नो सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन्। अब काठमाडौंमै मेसन डी’ब्रोड खुल्न धेरै समय लाग्दैन।
(नेपाली टाइम्सबाट असीम तिमल्सिनाले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)