करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको माग गरी राजमार्ग अवरुद्ध
करेन्ट लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
दाङको राप्ती गाउँपालिका-३, मसुरियामा शनिबार ११ केभीको हाइटेन्सन लाइनको तार चुडिएर आगनमा झर्दा करेन्ट लागेको थियो। करेन्ट लागेर ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा केसी र नाति तीन वर्षीय कृष्ण केसीको ज्यान गएको थियो।
विद्युत् प्राधिकरणको लापरवाहीका कारण तीन जनाले अकालमा ज्यान गुमाएको भन्दै स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गरेका हुन्। उनीहरूले राजमार्गमा ढुंगामुढा तेर्स्याएर टायर बालेका छन्।
राजमार्ग खुलाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय, भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले बताए। पीडित परिवारलाई जनही पाँच लाख उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ।