इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने एमालेको निर्णय
नेकपा (एमाले)ले उपनिर्वाचनका लागि दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो। प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
जिल्ला कमिटी इलामले बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र सुहाङ नेम्वाङको नाम सिफारिश गरेको थियो।
२०७९ सालको निर्वाचनमा इलामबाट एमाले नेता सुवास नेम्वाङ निर्वाचित भएका थिए। हृदयाघातबाट नेम्वाङको निधन भएको थियो।
रिक्त स्थानमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। त्यसमा उम्मेदवार तय भएका सुहाङ सुवास नेम्वाङका छोरा हुन्।
त्यस्तै, प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बझाङ १ ‘क’ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए।
२०७९ सालको निर्वाचनमा बझाङ १ ‘क’ बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। गत असार ५ मा गाडी दुर्घटनामा परी सिंहको निधन भएको थियो।
रिक्त प्रदेश सभा सदस्य पदका लागि आउँदो वैशाख १५ मै उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।