रङ खेलेर धूमधामसँग मनाइँदै होली
देशको पहाडी भेगमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ।
फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइनेछ। रङ खेलेर खुशी साट्ने होली पर्वको विशेषता हो।
काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेलिंदै छ। नेपाली र विदेशी समेत वसन्तपुरको होलीमा सहभागी भइरहेका छन्।
फागु पूर्णिमामा आपसमा रङ, अबीर दलेर रमाइलो मात्र गरिंदैन, नाचगान पनि गरिन्छ। वृद्धवृद्धा, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।
हिन्दू धार्मिक कथन अनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलेका थिए। रङ लगाउँदा भागदौड भएको थियो। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ।
अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको मानिन्छ।