४४ वर्षपछि भेटियो दुर्लभ बगाले बगेडी चरा
संसारकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटिएको छ।
निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखिएको हो। शुक्लाफाँटा नगरपालिका-२, ढकनियाँस्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रंगीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको चौधरीले जानकारी दिए।
विश्वमै दुर्लभ मानिएको चरा धेरै वर्षको अन्तरालमा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीको भनाइ छ। “फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पन्छी संरक्षण संघमा पठाएँ,” उनले भने, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।”
नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलो पटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्यांक राखिएको नपाइएको डगौराले बताए। अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनको भनाइ छ।
चराविज्ञ डगौराका अनुसार बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन्। तीमध्ये तीन प्रजाति रैथाने हुन्। बाँकी १२ आकर्षक साना प्रजातिका चरा रूस, मंगोलिया, चीन लगायत क्षेत्रबाट बसाइँ सरेर आउने गर्छन्। बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्छ।
उत्तरी ध्रुवमा अत्यधिक रूपमा बढेको चिसो छल्न प्रत्येक वर्ष यहाँ पुग्ने गर्छन्। मासुका लागि अत्यधिक शिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ। “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको संख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ,” चराविज्ञ डगौराले भने, “घट्नुको मुख्य कारणका रूपमा चोरी शिकारी नै हो।”
चीनमा सबैभन्दा बढी यस चराको शिकार हुने गरेको उनले बताए। नेपालकै मधेश प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको शिकार हुने गरेको पाइएको चौधरीले बताए। “उखुबारीमा भएका वेला यस चराको शिकार भएको पाएका छौं,” उनले भने, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ।”
छातीमा पहेंलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौंका संख्यामा देखिने गरेका थिए। अहिले २० देखि ३० को संख्यामा मात्रै देखिने गरेका छन्। पछिल्ला वर्षमा यस चरालाई देख्न पनि दुर्लभ भएको छ। सन् १९८० पछि पहिलो पटक देखिएको उनले बताए। यो चरा अतिसंकटापन्न अवस्थामा रहेको उनले बताए।
चोरी शिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा संकटमा परेका छन्। बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कैयौं फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्छन् भने शिकारी चराको शिकार पनि हुने गर्छन्।
सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अनियन्त्रित तरीकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन्। -रासस