बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु
दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
करेन्ट लागेर राप्ती गाउँपालिका-३ की ५५ वर्षीया दिलसरा केसी र उनका नाति चार वर्षीय कृष केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय, भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले बताए। शनिबार दिउँसो विद्युतको तार चुडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सिंहले बताए।
करेन्ट लागेर ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
हाइटेन्सन लाइनको तार एकाएक चुँडिएर आँगनमा खसेको थियो। त्यही तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ।