एनभीए भलिबल च्याम्पियनशिपमा पुलिस क्लब तेस्रो
गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनशिपमा तेस्रो भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा पुलिसले गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। तेस्रो भएसँगै पुलिस क्लबले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
सेमिफाइनलमा पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २-३ को रोमाञ्चक सेटमा पराजित भएको थियो। गण्डकीलाई सेमिफाइनलमा साविक विजेता टिपटप हेल्प नेपालले हराएको थियो।
आर्मी र हेल्प नेपालबीच आजै उपाधिका प्रतिस्पर्धा हुँदै छ। यस्तै, आरबीबी एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फको फाइनल खेल पनि आजै नेपाल पुलिस क्लब र एभरेस्ट क्लबबीच हुँदै छ।